अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:२० मा प्रकाशित

रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गर्नुभएको छ । नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दुरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक रूपले अति विकट रहेको क्षेत्रमा सरकारले तोकेकै समयभित्रै सडक निर्माण सम्पन्न गर्ने नेपाली सेना र नेपाली सेनाका सबै दर्जाका जवान तथा अधिकृतलाई धन्यवाद दिनुभयो ।

गल्छीदेखि सदरमुकाम धुञ्चेदेखि रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग १०६ किमी रहेकामा नवनिर्मित सडकखण्ड खुलेपछि २५ किमी घटी ८१ किमीमा आउनेछ । गल्छीदेखि स्याफ्रुबेंसीसम्म भने साबिकमा ९० किमी भएकामा अब ६५किमी हुनेछ ।  २०७२ वैशाख १देखि सो सडकखण्ड निर्माण सुरु भई गत चैत ३० गते निर्माण सम्पन्न भएको थियो ।

नेपाली सेनाले मार्ग खोलिसकेको स्याफ्रु–मैलुङ सडकखण्डमा अब छिट्टै थप व्यवस्थापनका काम सरकारले अघि बढाई नेपाल–चीनको व्यापार अघि बढाउने छ । 

उद्घाटन कार्यक्रमलाई संम्बोधन गर्दै रसुवा जिल्लाबाट प्रतिनिधिसभा सांसद मोहन आचार्यले सो सडक निर्माण सँगै पासाङ लामू राजमार्गको समेत स्तरोन्नतीमा सरकारको घ्यानजान जरुरी रहेको बताउनु भयो। चीन सँगको एकमात्र अन्तर्राष्ट्रिय नाकाको स्तरोन्नतीमामा समेत लगानी गरी नाकालाई व्यवस्थित बनाउन जरुरी रहेको उहाँको भनाई थियो।

कार्यक्रममा नेपाली सेनाले निर्माण गरेको उक्त सडक आजै सडक विभागलाई हस्तान्तरण गरिएकोे छ । सडक निर्माणको लागत रु ७० करोड ६९ लाख ९० हजार रहेको नेपाली सेना सडक निर्माणका प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू