अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

गोपीकृष्ण मुभिजको रोजीको छायाङ्कन सुरु

मनिष कार्की २०७५ जेठ २ गते १०:५६ मा प्रकाशित

चलचित्र रोजी निर्माण सुरु भएको छ । गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्यालको प्रस्तुति रहने चलचित्रको बुधवार बालाजुस्थीत नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा शुभ मुर्हत सम्पन्न भएको छ । जहाँ चलचित्रका मुख्य पात्र प्रदीप खड्का लामो कपाल, दाह्री पाले र हातमा हद्कडी लगाएर अदालतको कठघरामा उपस्थित भए । जसलाई आफ्नै प्रेमिका रोजी राणाको हत्या गरेको आरोप लागेको छ । अदालतमा न्यायाधिसका रूपमा वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल थिए भने अभिनेत्रीद्धय पारमिता राज्यलक्ष्मी शाह र मिरुना मगर पनि ।

निरक पौडेलको निर्देशन रहने चलचित्रको कथा अनुप सापकोटाले लेखका हुन् भने पटकथा तथा सम्वाद केदार भुषालले तयार पारेका छन् । राजु विक्रम थापाको छायाङ्कन, अर्जुन पोखरेल र एलिस कार्कीको सङ्गीत रहने चलचित्रका लागि दयाराम पाण्डेले गीत लेखेका हुन् ।

गोपीकृष्ण मुभिजसंग आरोही इन्टरटेनमेन्ट एसोसिएट भएर रोजी निर्माण गर्दैछ । चलचित्रमा कर्मा, कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतका कलाकारहरूको पनि अभिनय रहने छ । आइतबार देखि छायाङ्कन सुरु हुने रोजी नेपालसँगै दुबई र फिलिपिन्समा खिचिने निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । आफ्ना अघिल्ला चलचित्रहरू भन्दा रोजी उत्कृष्ट बन्नेमा निर्देशक पौडेल आशावादी देखिएका छन् ।

प्रेम गीत, प्रेम गीत २ र लिलि बिली सफल भएपछि प्रदीपलाई लिएर ठुलो आस राखिएको छ । शुभमुर्हत कार्यक्रममा जसरी प्रदीप उपस्थित भए त्यसले रोजीमा प्रदीपको मेहनत देखिएको छ । नारी संवेदनाको कथा लिएर रोजी उत्कृुष्ट प्रेमकथात्मक साङ्गीतिक चलचित्र निर्माण हुनेमा प्रदीप विश्वस्त देखिएका छन् ।
फोटो ः कुशल घतानी ।