अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

विज्ञ भेलामा सहभागिताका लागि आग्रह

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १२:४८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ अमेरिकाज् क्षेत्र संयोजक गौरी जोशी, एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेल र अमेरिकामा हुन लागेको विज्ञभेलाका संयोजक डिल्ली भट्टराईले क्यालिफोर्नियामा जुन १६ र १७ मा हुन लागेको विज्ञ भेला र त्यस लगत्तै हुने एनआरएन अमेरिकाको साधारण सभामा सक्रिय सहभागिताका लागि एनआरएन अमेरिकाका पदाधिकारी, पूर्व पदाधिकारी, विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक समुदाय लगायत सबै नेपाली समुदाय सबैलाई आग्रह गरेका छन् ।

नेपालले अगाडी सारेको समृद्ध नेपाल, खुसी नेपाली अभियानलाई सहयोग पुग्ने गरी आयोजना गरिएको उक्त भेलामा विदेशमा कार्यरत वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा नेपालको विकासका चुनौती र यसलाई सम्बोधन गर्ने उपायका बारेमा छलफल हुदैंछ । भेलामा पूर्वाधार विस्तार, वातावरण, स्वास्थ्य सेवा, अर्थनीति लगायतका क्षेत्रमा विज्ञहरूले आफ्नो सुझावहरू राख्नेछन । नेपाल सरकार र राजनीतिक पार्टीका उच्च अधिकारीहरुपनि भेलामा सहभागिता हुने भएकाले विज्ञका सुझावलाई कार्यान्वयनमा कसरी लैजान सकिन्छ त्यसबारेमा पनि भेलाले मार्गनिर्देशन गर्न विश्वास गरिएको छ ।

भेलामा विभिन्न क्षेत्रका विज्ञले कार्यपत्र र आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम छ । यसको विस्तृत विवरण केही दिनमै सार्वजनिक गरिने छ । यो एनआरएनएको क्षेत्रीय विज्ञ भेला हो यस्तै बृहत् विश्वस्तरीय बौद्धिक भेला अक्टोबर २०१८ मा नेपालमा हुदैंछ ।

क्यालिफोर्नियामा विदेशमा रहेर दक्षता हासिल गर्नु भएका नेपालीहरूको सहभागितामा भेला हुन लागिरहेको छ, त्यसमा तपाइहरू सबैको सहयोग सहयोग जरुरी छ गौरी जोशीले भने, एनआरएन सबैको संस्था हो, सबैको साझा संस्था हो । यसमा बौद्धिक समुदायको पनि त्यत्तिकै भूमिका हुन्छ ।

एनआरएन धनीको संस्थामात्र हो भन्ने आरोप पनि छ । यो धनीहरूको मात्र होइन सबैको संस्था हो भन्ने सन्देश दिनका लागि पनि यो सम्मेलन आवश्यक थियो जोशी भन्छन्, विज्ञहरूको पनि नेपालको विकासका लागि त्यत्तिकै भूमिका रहन्छ । हामीले नेपालको समृद्धिमा विदेशमा वस्नुहुने बौद्धिक समुदायको सहभागिताका लागि पुलको रूपमा काम गर्न पहल गरेका हौ । त्यसैले विनम्रता पूर्वक म सबैलाई यो भेलामा सहभागी हुन आग्रह गर्छु । पहिलो दिन बौद्धिक भेला र दोस्रो दिन एनआरएन अमेरिकाको साधारण सभा हुदैंछ । त्यहाँ जाऊ एनआरएनलाई कसरी सबैको संस्था बनाउन सकिन्छ यसमा मन्थन गरौँ । मतभेदहरू हुन सक्छन् त्यसलाई छलफलबाटै हटाउन सकिन्छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले पनि यो भेला अमेरिकाका लागि अवसर भएको बताएका छन् । एनआरएनलाई समावेशी संस्था बनाउनु पर्छ । सबै तह र वर्गका विदेशमा बस्ने नेपालीलाई सहभागी गराउने उद्देश्य लिई आईसीसीको प्रस्ताव अनुसार विज्ञ सम्मेलन हुन लागेको हो । डा पौडेल थप्छन, विदेशमा आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नु भएका नेपाली समृद्ध नेपालको अभियानमा सहभागी हुन भेलाले मार्ग निर्देशन दिने विश्वास लिएको छु । त्यही वेला हाम्रो साधारण सभा पनि हुदैं छ । त्यसैले दुवै कार्यक्रमलाई फलदायी बनाउन विज्ञ भेला र साधारण सभा राखिएको हो । यहाँ आउन र यसलाई सफल बनाउन यहाँहरूको सहयोगको आशा छ ।

संयोजक डिल्ली भट्टराईले भने, केही क्षेत्रका विज्ञहरूको सहभागिता निश्चित भईसकेकाले कार्यक्रम सफल हुनेमा हामी उत्साहित भएका छौ । सकेसम्म धेरै भन्दा धेरै विज्ञहरूको सहभागिता होस भन्ने हामीले चाहेका छौँ । विज्ञभेला र एनआरएनको साधारण सभाको तयारी पनि पुरा भएको भट्टराईले जानकारी दिए ।

 

प्रतिक्रिया