अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

देश र पार्टी हितविपरीत काम नगर्न एमाले सासंदलाई प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७५ वैशाख २३ गते ९:३९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरूलाई निर्देशन दिनुभएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिनुभएको हो । एमाले अध्यक्ष ओलीले भन्नुभयो, “जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ ।” उहाँले सम्पूर्ण सांसदहरूलाई एक ढिक्का भएर पार्टीको निर्देशनमा काम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट जनप्रतिनिधिलाई भएको भन्दै सबै खालको सुधारका, प्रजातन्त्र र प्रशासनिक सुधारका लागि सबै खालको ‘सिन्डिकेट’ अन्त्य हुने बताउनुभयो । उहाँले आजदेखि बजेट अधिवेशन सुरु भएको हुँदा देश र जनताको हितप्रति निष्ठाका साथ आफ्नो कर्तव्यबाट पछाडि नहटी काम गर्न निर्देशन दिँदै सबै सांसदलाई रचनात्मक, सकारात्मक र समुचित ढङ्गले संसद्मा प्रस्तुत भई भूमिका खेल्न निर्देशन दिनुभयो ।

बजेट निर्माण गर्दा सबै पक्षहरूसँग छलफल गर्न बजेट अधिवेशन तय गरेको र आफूले दिनुपर्ने सुझावहरू छोटो र लिखितरुपमा पेस गर्न उहाँले बैठकमा सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका चरणमा पर्याप्त मात्रामा कानुन निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गर्दै कानुनको अभावबाट संविधान, सरकार, विकास निर्माणका काम नरोकिकन काम गर्न कानुन निर्माण गर्ने काम भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकमा परिवर्तन ल्याउन आएको स्पष्ट पार्दै सो अभियानमा सबै एक ढिक्का भएर सामेल हुन निर्देशनसमेत दिनुभयो । एमाले संसदीय दलका नेता ओलीले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने र सबै राष्ट्रहरूसँग समुचित ढङ्गले सम्बन्ध अगाडि बढाइने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू