अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

चलचित्र महोत्सवबारे अन्तरक्रिया बाल्टिमोरमा सम्पन्न

बिआरटीनेपाल २०७४ चैत २६ गते २१:०५ मा प्रकाशित

आगामी मे महिनाको १८,१९ र २० का दिन आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ लाई सफल बनाउनका लागि बाल्टिमोर क्षेत्र तथा वासिङ्टन मेट्रो क्षेत्रका सङ्घ संस्थाका नेतृत्व तथा सामुदायिक लिडरहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले बाल्टिमोरको चर्चित संस्था बानासँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाल्टिमोर क्षेत्रका सङ्घ संथाका नेतृत्व तथा सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई कसरी सफल बनाउने भन्ने विषयमा गम्भीर छलफल भएका थिए । कार्यक्रमको सुरुवातमा चलचित्र महोत्सवका निर्देशक तथा फ़ाउनडर पूर्णसिंह बराइलीले नेपाल अमेरिका चलचित्र महोत्सवको औचित्य र हालसम्मको प्रगतिकाबारे प्रकाश पारेका थिए । अमेरिकाको चर्चित थिएटर एएफआइमा मे १८ तरिका शुक्रवार रेड कार्पेट सहित चलचित्र महोत्सवको उद्घाटन हुने र रेगल सिनेमासँगको सहकार्यमा रेगल थिएटर ह्यात्स्विल, मेरिल्याण्डमा मे १९ र २० तरिका शनिवार र आइतबार दिउँसो १२ पछि देखि नेपाल लगायत विभिन्न देशका ३ वटा हलमा चलचित्र प्रदर्शन र छलफल हुनेछ । २० तरिका आइतबार साँझ महोत्सवको अवार्ड तथा समारोह रेड कार्पेट सहित हुनेछ ।

उपस्थित सबै व्यक्तित्वले नेपाल र नेपालीको पहिचानका साथै विविध कला संस्कृतिलाई जोड्न यसखालको चलचित्र महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाहा गर्ने कुरामा जोड दिएका थिए । गत सालको चलचित्र महोत्सवलाई त्यति सहयोग गर्न नपाएको र यसपालिबाट सफ्फल बनाउन सबै लाग्नु पर्ने कुरा उपस्थित वक्त्ताहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै कलाकार तथा नेपालकी चर्चित नायिका पूजा चन्द लामाले अमेरिकामा हाम्रो कला संस्कृति कोठामा मात्रै सीमित भएको र यसलाई अमेरिकन र अन्य समुदायसँग साक्षात्कार गराउने नेपाल अमेरिका चलचित्र महोत्सव एउटा ढोका भएको बताइन । अमेरिकामा हामी धेरै कलाकारहरू भए पनि विविध कारणहरूले आफ्ना कलाको माध्यमलाई निरन्तरता दिन सकिएको थिएन, तर अहिले चलचित्र महोत्सव सुरु भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण कलाकारहरूलाई उपस्थित गराउने प्रतिबद्धता पनि नायिका चन्दले व्यक्त गरिन ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्मा, मेरिल्याण्डका सांसदका उम्मेदवार एचबि ह्यारी भण्डारी, म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल, बनाएकी अध्यक्ष अनु बन्द, कास्की समाजका अध्यक्ष कुल प्रसाद गुरुङ, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कृष्ण बहादुर चुनारा, समाजसेवी रविलाल सुनार, बानाका वरिष्ठ उपाध्यक्ष सुबोध पन्थ, समाजसेवी देव शर्मा लगायतका व्यक्तित्वहरूको उपस्थितिरहेको थियो ।

अहिलेका मेरिल्याण्डका सांसदका उम्मेदवार एचबि ह्यारी भण्डारीले मेरिल्याण्ड राज्य र काउन्टी अन्तर्गतका अमेरिकन समुदायमा यो चलचित्र महोत्सवलाई पुर्‍याउने प्रतिबद्धता सहित महोत्सवलाई आर्थिक अभियानको पनि घोषाणा गरेका थिए । समाजसेवी रविलाल सुनारले चलचित्र महोत्सवलाई ५०० डलर आर्थिक सहयोग गर्ने र सम्पूर्ण साथी भाइ सहित महोत्सवमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका थिए । गैर आवासीय नेपाली सङ्घ मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले भर्जिनिया च्याप्टरसँग पनि सहकार्यका लागि संयोजन गर्ने र सबैलाई सहयोगका लागि अपिल गर्ने बताए । उपस्थित वक्ताहरूले महोत्सवलाई सफल बनाउन कुनै कसुर बाँकी नराख्ने कुरामा एकमत भएका थिए ।

यस छलफलबाट आयोजकहरू उत्साहित भएको बताए । कार्यक्रममा यो वर्षबाट नयाँ आयोजक टिममा मोडल रिमा के.सी. म्यानेजिङ्ग डाइरेक्टर, नेपाल र अमेरिकाका चर्चित फोटोग्राफर राजिव श्रेष्ठ क्रिएटिभ डाइरेक्टर र भर्जिनियामा डान्स कक्षा सञ्चालन गर्दै आएका नवीन के. सी. संकृतिक संयोजकको रूपमा काम गर्ने कुरा पनि परिचय गराइएको थियो । 

प्रतिक्रिया