अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

नेजाको साधारणसभा तथा छैटौँ अधिवेशन सियाटलमा जुलाई २१ र २२ मा

बिआरटीनेपाल २०७४ चैत २६ गते १२:२२ मा प्रकाशित

सदस्यता नवीकरण गर्ने म्याद मे ३१ सम्म

अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा) को १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशन जुलाई २१-२२, २०१८ मा अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ ।

नेजा कार्यसमितिको यस अघिको बैठकले वाशिंगटनको सियाटललाई साधारण सभा स्थलको रूपमा छनोट गरिसकेको थियो । तर अध्यक्ष भोला आचार्यले कार्यसमितिको निर्णय भन्दा फरक मतलाई सल्लाहाकारहरुको सहमति सहित भन्दै फरक स्थानलाई साधारण सभा तोकेको विज्ञप्ति जारी गरे पछि अन्योल समाप्त गर्न सल्लाहकार सहितको बैठक बसेको हो ।

सल्लाहाकार सहितको बैठकले यस अघिको बैठकको निर्णय विधि सम्वत नै देखिएकोले त्यसमा कसैको फरक मत हुदैमा संस्थालाई नै विवादमा पार्ने गरी अध्यक्षबाट भ्रमपूर्ण विज्ञप्ति जारी गर्नु दुखद भएको ठहर गरेको जनाइएको छ । 

सल्लाहाकारले बैठकमा कार्य समितिले संस्थालाई अमेरिकाको नयाँ ठाउँमा लैजाँदा उचाइ बढ्ने, साधारणसभा तोक्ने कार्य कार्यसमितिको भएको हुँदा उपयुक्त रूपमा आएको प्रस्तावलाई स्वीकार गर्नु पर्ने धारणा राखेका थिए । सचिवालय समितिले सल्लाहाकार सहितको बैठकबाट निर्णय गरेको भनी अध्यक्षद्वारा प्रेषित विज्ञप्तिको सम्बन्धमा सल्लाहाकारहरुले आफूद्वारा त्यस्तो निर्णय गर्न कुनै सुझाव नदिएको र कुनै बैठक नबसेको सम्बन्धमा राखेको जिज्ञासामा सचिवालयलाई आधिकारिक रूपमा नबोलाई गल्ती हुन गएको प्रति अध्यक्ष भोला आचार्य र उपाध्यक्ष गुणराज लुइटेलले आत्मालोचना गरेका थिए ।

नेजाको नयाँ कार्यसमिति छनौटका लागि विधानको धारा १२.१ बमोजिम सल्लाहाकार तारा बरालको संयोजकत्वमा गिरिश पोखरेल, योगेश उपाध्याय, आंग छिरिंग शेर्पा र एक सदस्य समितिले नै थप गर्ने गरी पाँच सदस्सिय निर्वाचन समिति बनाउने निर्णय पनि गरेको छ ।

साथै नेजा अधिवेशनको समयमा प्रदान गरिँदै आएको “नेजा सामुदायिक ग्रामीण पत्रकारिता पुरस्कार” छनौटको लागि नेजा पूर्व अध्यक्ष आंग छिरिंङ शेर्पाको संयोजकत्वमा पुरस्कार छनौट समिति बनाएको निर्णय गरिएको छ । सो समितिलाई संयोजकले थप सदस्य मनोनयन गरी पूर्णता दिई नेपाल पत्रकार महासंघसंग समन्वय गर्दै विजेताको नाम कार्यसमितिमा सिफारिस गर्नको लागि जिम्मेवारी दिने निर्णय गरिएको छ ।

नेजा अधिवेशन तथा साधारणसभाको समयमा प्रकाशन गरिँदै आएको “प्रयास” प्रकाशनको लागि सचिव अग्नि चौलागाईलाई जिम्मेवारी दिने निर्णय गरियो । प्रयास प्रकाशनको लागि सचिव अग्नि चौलागाइले आवश्यकता अनुसार सदस्य थप गरी कार्य गर्नेछन ।

साधारणसभा तथा अधिवेशन सम्पन्न गर्नको लागि पश्चिम क्षेत्रीय संयोजक ध्रुव कुँवरलाई संयोजकको जिम्मा दिइएको छ भने सह-संयोजकमा यम घिमिरे, सदस्यमा सन्दिप बाबु चौधरी र कोषाध्यक्ष शैलेश पोखरेल रहनेछन ।

१२ औ साधारणसभा तथा अधिवेशनमा सहभागी भई भाग लिनको लागि मे ३१, २०१८ सम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने तथा नयाँ सदस्यताको लागि निवेदन पेस गरिसक्नुपर्ने पनि निर्णय गरियो ।

प्रतिक्रिया