अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

फेसबुकका मालिक जुकरबर्ग संसद्को कठघरामा उभिने

बिआरटीनेपाल २०७४ चैत १४ गते १७:५० मा प्रकाशित

पटक पटक दबाब परेपछि मार्क जुकरबर्गले अमेरिकी संसद् कङ्ग्रेसमा उपस्थित भएर गवाही दिने निर्णय गरेका छन् । फेसबुक प्रयोगकर्ताको सूचना चुहाएको अभियोगमा उनी संसद्को कठघरामा उभिने भएका हुन् । उक्त अभियोगमाथि छलफल पश्चात् संसदीय सुनवाइ हुनेछ ।

फेसबुक स्रोतलाई उल्लेख गर्दै सञ्चार माध्यमहरूले जुकरबर्गको उक्त निर्णय सार्वजनिक गरेका छन् । फेसबुकका ३३ वर्षीय कार्यकारी निर्देशक उनी एक साताभित्रै गवाहीका लागि कङ्ग्रेसमा उपस्थित हुने जनाइएको छ । अहिले फेसबुकले उनले दिने बयानको रणनीति तयार गरिरहेको छ ।

उनलाई सभासद्, सञ्चार माध्यम र जनताबाट गवाहीका लागि दबाब परेको हो । उनले गवाही दिएसँगै गुगलका कार्यकारी निर्देशक सुन्दर पिचाइ र ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोर्सीमाथि पनि गवाहीका लागि दबाब पुग्ने विश्वास गरिएको छ । सिनेट जुडिसियरी चेयरम्यान चक ग्रास्लीले सूचनाको गोपनीयता सम्बन्धी संसदीय सुनवाइमा सहभागी हुन यी तिन जानै प्रमुख कार्यकारी निर्देशकलाई औपचारिक रूपमा निम्तो गरिसकेका छन् ।

संसदीय सुनवाइको अभ्याससँगै लन्डन नभएर वासिङ्टन ठुला प्रविधि कम्पनीको परीक्षणस्थल बन्ने छ । जुकरबर्गले सामाजिक सञ्जालमा सूचनाको गोपनीयतासम्बन्धी भइरहेको अभ्यासबारे बेलायती संसद्मा सभासदहरुको प्रश्नको जवाफ दिन गरिएको आग्रह मङ्गलवार अस्वीकार गरेका छन् । सट्टामा उनले आफ्ना दुई उप कार्यकारी निर्देशक बयानका लागि बेलायती संसद्मा सभासदहरुको प्रश्नको जवाफ दिन पठाउने निर्णय गरेका छन् ।

गवाहीका लागि फेसबुक कार्यकारी निर्देशकलाई संसद्मा बोलाउने क्यापिटोल हिलको निर्णय गत वर्ष भएको सूचना चुहावट हो । सुनुवाइले अमेरिकीले ठुला प्रविधि कम्पनीलाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा बदलिन सक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध भएको क्याम्ब्रिज एनलाइटिका नामक सूचनासम्बन्धी काम गर्ने संस्थाले सन् २०१६ को राष्ट्रपतिय चुनावी अभियानका क्रममा ५ करोड फेसबुक प्रयोगकर्ताको सूचना उनीहरूको जानकारी बेगर लिएको सार्वजनिक भएपछि फेसबुक विश्वासको सङ्कटमा परेको छ । फेसबुक स्रोतले अहिले फेसबुक जनविश्वास पुनःस्थापना गर्ने कठिन प्रयत्नमा छ ।

सूचना चुहावट काण्डले यो समस्या फेसबुकको ‘डिएनए’मै रहेको उजागर गरेको छ । यसले फेसबुकको व्यवसाय सूचना दुरुपयोग भएको देखाएको छ । थुप्रै कुराका अतिरिक्त फेसबुकले प्रयोगकर्ताको सूचना अ्याप डेभपर र विज्ञापनदातासँग शेयर गरेर पैसा कमाइरहेको यो काण्डले देखाएको छ । गलत नियत भएका विज्ञापनदाता लगायतका तेस्रो पक्ष पत्ता लगाएर प्रयोगकर्ताको सूचना सुरक्षित राख्न लगभग असम्भव देखिन्छ ।

प्रतिक्रिया