अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

पार्टी एकता सम्मानजनक र समानताका आधारमा हुन्छ– अध्यक्ष दाहाल

बिआरटीनेपाल २०७४ चैत १२ गते ८:२९ मा प्रकाशित

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबिच समानताका आधारमा सम्मानजनक एकता हुने बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबिचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाले छिट्टै निष्कर्ष पाउँछ ।” 

अध्यक्ष दाहालले पार्टी एकताको सन्दर्भमा विचार र राजनीतिको विषयमा सहमति भइसकेको तथा छिट्टै नै सङ्गठनका सन्दर्भमा पनि सहमति हुने बताउँदै पार्टी एकता संयोजन समितिले गठन गरेका दुई वटा कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ भन्नुभयो ।

केही दिनभित्रै सम्पूर्ण खाका तयार हुने उल्लेख गर्दै उहाँले नेपाली जनतालाई नयाँ विश्वास पैदा गर्न एकताको अभियान सुरु गरिएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रको फरकफरक र महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै फरकफरक राजनीतिक धार र चिन्तनबाट स्थापित दुई पार्टीबिचमा एकता हुन लागेको हुँदा दुवै पार्टीको चिन्तनलाई समानजनक स्थान दिनुइनुपर्ने बताउनुभयो ।

एकता प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउने भन्ने धारणा एमाले र माओवादी केन्द्रका नेताहरूबाट सार्वजनिक भइरहेको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, “एकता छिट्टै हुन्छ, त्यसमा कुनै दुविधा राख्नु पर्दैन तर सबै राजनीतिक सांगठिनक विषय त मिलाउनु आवश्यक छ र रहन्छ पनि ।”

अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा समेत दुई पार्टीबिचको एकता प्रक्रियाले सकारात्मक प्रभाव पार्ने बताउँदै नेपालको मौलिकता र विशिष्टताका आधारमा आर्थिक समृद्धिको अभियान अगाडि बढ्ने भएकाले सोहीअनुसारको योजना, कार्यक्रम, नीति ल्याइने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू