अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

सोमबार म्याद सकिए पनि अमेरिकी अदालतको आदेशका कारण डाका परमिट भने नवीकरण हुने

बिआरटिनेपाल संवाददाता २०७४ फागुन २१ गते २३:३१ मा प्रकाशित

सोमबार साँझसम्म कुनैपनि समाधान निकाल्न नसकेपछि डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) कार्यक्रमलाई निरन्तरता दिने प्रयास असफल बनेको छ । यो कार्यक्रमले कलिलो उमेरमै अमेरिका आएका करिब ७ लाख आप्रवासीलाई संरक्षण गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ महिना अघि यो कार्यक्रम खारेज गरेका थिए । त्यससँगै कागजात नभएका ती आप्रवासी अमेरिकामा अवैधानिक हुने र उनीहरुलाई फर्काइने सरकारी तयारी थियो । तर, डिमक्रट र रिपब्लिकनसँग डाकाका सम्बन्धमा समझदारी गर्न मार्च ५ सम्म समय तोकिएको थियो । समधान खोज्न निर्धारित उक्त समय सोमबारदेखि सकिएको छ ।

ट्रम्पले गत सेप्टम्बरमा ६ महिनाको म्याद दिएर डाका कार्यक्रम खारेज गरेका थिए । उक्त म्याद कंग्रेसलाई त्यस्तै कार्यक्रम तयार गर्न समय दिनका लागि दिइएको थियो । तर, कंग्रेसले त्यस्तो कुनै कार्यक्रम तयार गर्न सकेन ।

मार्च ५ अघि म्याद सकिने २ वर्षे डाका परमिटलाई त्यसअघि डिपार्टेमन्ट अफ होमल्याण्ड सेक्युरिटीले नवीकरण गरेको थियो । मार्च ५ पछि पनि म्याद सकिने डाका परमिट नवीकरण हुनेछन् । अदालतको आदेशका कारण त्यस्तो अबस्था बनेको हो ।

थुप्रै संघीय न्यायधीशहरुले डाका कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयमा प्रश्न उठाउँदै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई डाका परमिट नवीकरण गर्न आदेश दिएका छन् । सुप्रिम कोर्टले पनि ती आदेश खारेज गर्न अस्वीकार गरेको छ । डाका कार्यक्रमलाई निरन्तरता दिने कानूनी ब्यबस्था गर्न सिनेट असफल भएपनि अदालतको हस्तक्षेपले मार्च ५ को समयसीमा प्रभावकारी रुपमा अर्थहीन बनाइदिएको छ ।

सोमबार ह्वाइट हाउसले डाका कार्यक्रम कंग्रेसको अकर्मण्यताका कारण जोगाउन नसकिएको आरोप लगाएको छ । ‘कंग्रेस काम गर्न असफल भयो,’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्याण्डर्सले भनिन्, ‘एक ठाउँमा सँगै बसेर एउटा मुद्धामा काम गर्न नसक्नु लज्जाजनक छ । अहिले उनीहरु काम गर्न नसकेपछि अदालतको निर्णयको शरणमा पुगेका छन् ।’

ट्रम्प प्रशासनले आफ्नै प्रस्तावलाई प्राथमिकता दिँदा डाका जोगाउन सिनेटमा दुई दलबीच संयुक्त प्रस्ताव तयार हुन नसकेको तथ्य भने स्याण्डर्सले लुकाइन् । ती सबै प्रस्ताव पनि सिनेटमा बहुमतले अस्वीकार भएको थियो ।

सोमबार वाशिङ्टनमा प्रदर्शन गर्ने ८७ डाका समर्थकहरु गिरफ्तार गरिएका छन् । उनीहरुले क्यापिटोल हिल जाने सडक र बाटो अवरुद्ध गरेका थिए । डाका कार्यक्रमलाई निरन्तरता दिन दवावका लागि प्रदर्शनका गर्न अझ थुप्रै डाका समर्थक वाशिङ्टन पुग्ने अड्कल पनि काटिएको छ । तर, यस विषयमा कंग्रेसबाट तत्काल केही होला भन्ने संकेत मिल्दैन ।

मार्च २३ बजेट पारित गर्ने अन्तिम मिति हो । यो मितिमा रिपब्लिकन र डिमक्रटबीच बजेट पारित गराउन लेनदेन हुने धेरैको अड्कल छ । तर, डाका पक्षधर संसदहरुले समेत सरकारी खर्चसँग आप्रवासीको मुद्धा नजोड्ने भन्दै त्यस्तो अड्कलको खण्डन गरेका छन् ।

प्रतिक्रिया