अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

गैर आवासीय नेपाली सङ्घ सचिवालयको सम्माननीय प्रधानमन्त्रीज्यूसंग भेटघाट सम्बन्धी प्रेस बिज्ञप्ती

बिआरटीनेपाल २०७४ फागुन १३ गते ९:४९ मा प्रकाशित

सन् २०१८, फेब्रुवरी २४ का दिन गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओली सँग भेट गर्‍यो । सङ्घका अध्यक्ष भट्टले प्रधानमन्त्रीको गरिमामय पद सम्हाल्नु भएकोमा समस्त गैर आवासीय नेपालीहरूको तर्फबाट उहाँलाई बधाई दिनु भयो । साथै अघिल्लो दिन मात्र प्रधानमन्त्रीज्यूको जन्मदिन परेकोमा एक दिन ढिलै भए पनि प्रधानमन्त्रीज्यूको दीर्घायु र कार्यकालको पूर्ण सफलताको कामना गर्नु भयो । उहाँले ठुलो बहुमतको सरकार बन्नुबाट राजनैतिक अस्थिरताको अन्त्य हुने र मुलुकमा आर्थिक विकासले गति लिने अपेक्षा सबै गैर आवासीय नेपालीहरूले राखेको बताउनु भयो ।  उहाँका अनुसार देश समुन्नत नभए सम्म व्यक्तिगत अर्थ रहँदैन भन्नु हुँदै मुलुकको समृद्धि गैर आवासीय नेपालीहरूको पनि स्वार्थ भएको धारणा राख्नु भयो । सङ्घको सन्जाल ७८ देशमा फैलिसकेको जानकारी समेत दिनु भयो ।

उहाँले संविधानले नेपालको नागरिकताको निरन्तरतालाई भावनात्मक रूपमा स्वीकार गरेको र एक पटकको नेपाली सधैँको नेपाली भन्ने हाम्रो भनाइलाई सबैले स्वीकार गर्नसके विदेशीएका नेपालीहरूलाई पनि पुस्तौं पुस्तौं सम्म जोडेर राख्न सकिन्छ भन्ने धारणा राख्नु भयो । गैर आवासीय नेपालीहरू बिस्तारै सक्षम र सक्रिय हुँदै छन् भन्ने धारणा राख्नु हुँदै गैर आवासीय नेपालीहरूको सङ्ख्या मात्र बढेको नभई गैर आवासीय नेपालीहरूको क्षमतामा पनि विस्तार भएको धारणा राख्नु भयो । पेसा, व्यवसाय, रोजगारी सबै क्षेत्रमा गैर आवासीय नेपालीहरू अघि बढिरहेको र मुलुकले पनि यसको फाइदा लिन सक्ने विचार राख्नु भयो ।

सङ्घका अध्यक्षले नेपालको विकास एक दुई जनाको प्रयासले सम्भव छैन भन्दै सबै हात एकै साथ भन्ने नाराका साथ सङ्घको वर्तमान नेतृत्व चयन भएको र त्यसै भावना अनुसार काम गरिरहेको बताउनु भयो । साथै उहाँले विगतमा सुरु गरेका परियोजना वा प्रयासलाई निरन्तरता दिएको र केही नयाँ काम पनि आरम्भ गरेको बताउनु भयो । साथै उहाँले छरिएर रहेको श्रोतलाई एकीकृत गरी एक लगानी योग्य स्तर (Size) मा पुर्‍याउने हेतुले लगानीका लागि विशेष संयन्त्र (Special Purpose Vehicle) स्थापनाका लागि प्रयासरत रहेका बताउँदै यसमा पूर्व अध्यक्षहरू लगायत केही साथीहरू लागिरहनु भएको जानकारी दिनु भयो र यस कार्यमा सरकार र प्रधानमन्त्रीज्यूबाट सहयोग मिल्ने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारी नेपालका लागि जीवन नली हो भन्नेमा दुइमत नरहेको बताउनु हुँदै सबभन्दा दु:खाम पर्नेमा पनि वैदेशिक रोजगारीमा गएका युवाहरू हुने गरेको धारणा राख्नु भयो । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन र वैदेशिक रोजगारमा गएकाहरुको भविष्य सुनिश्चित गर्न सङ्घले प्रयास गरेको र सङ्घका यस सम्बन्धी सुझावहरूमा प्रधानमन्त्रीज्यूको ध्यान जाने विश्वास प्रकट गर्नु भयो ।

यसका साथै उहाँले नेपालमा गएको महाभूकम्प पश्चात् अमेरिकामा रहेका तर प्रक्रिया पुर्‍याई त्यहाँ बस्ने अनुमति नभएकाहरुलाई लक्षित गरेर अमेरिकी सरकारले (Temporary Protection) दिएको र हाल त्यसको अवधि समाप्त हुँदैछ र त्यसलाई थप्ने तर्फ अमेरिकाका साथीहरू बाट प्रयास भइरहेको बताउँदै सरकारका तर्फबाट पनि केही पहलको अपेक्षा रहेको बताउनु भयो ।

सो समारोहमा गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले मुलुकको समृद्धिको लागि काम गर्न प्रधानमन्त्री र सरकारलाई शुभकामना दिनुका साथै मुलुकको समृद्धिमा गरिने काममा साथ दिन सघ सधैँ तयार रहेको बताउनु भयो । 

प्रत्युत्तरमा सम्माननी प्रधानमन्त्रीले आफ्नो एक मात्र उद्देश्य मुलुकको हितका लागि काम गर्ने र सरकारको उद्देश्य नै नेपालीको समृद्धि हो भन्ने धारणा राख्नु भयो । उहाँले गैर आवासीय नेपाली नागरिकताको विषय नेपालको संविधानले नै सम्बोधन गरिसकेकोले त्यसको कार्यान्वयन मात्र बाँकी रहेको धारणा राख्नु भयो । साथै उहाँले नेपाल र नेपालकमानिहित क्षमता (Potential) को उपयोग गरेर नै देश विकास सम्भव भएको र जहाँ बसे पनि नेपालीले नेपालको हितलाई ध्यानमा राख्नु पर्ने धारणा राख्नु भयो ।

सङ्घका महासचिव डा. बद्री के.सीद्वारा सञ्चालित कार्यक्रममा सङ्घका उपाध्यक्ष सपिला राजभण्डारी, पदाधिकारीहरू, सल्लाहकारहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र पूर्व पदाधिकारीहरू, सदस्यहरू लगायत ३० जना भन्दा बढी गैर आवासीय नेपालीहरूको संलग्नता थियो ।

प्रतिक्रिया