अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

एटलान्टामा सूचना, सञ्चार एवं अधिकारकर्मीको सहभागितामा अन्तरसंवाद कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन ५ गते १७:०८ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको नाममा सञ्चालित अमेरिकाको एटलान्टा स्थित कार्टर सेन्टरको निमन्त्रणामा “कन्फेरेन्स अन वुमन ट्रान्सफर्म” नामक दुईदिने कार्यक्रममा सहभागिता जनाउन नेपालदेखि एटलान्टामा भाग लिन नेपालबाट चार सदस्यीय टोली आउनुभएको थियो | उक्त टोलीमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहाल, मानवअधिकारकर्मी एवं सञ्चारकर्मी बन्दना राणा र मानवअधिकारकर्मी सरु जोशी श्रेष्ठ सहभागी रहनु भएको थियो । कार्टर सेन्टरको दुई दिने सम्मेलन पछि वहाँहरूको सम्मानमा एटलान्टावासी नेपाली समुदायसँग एउटा सुमधुर भेटघाट सहित नेपालको समसामयिक स्थिति, अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो | 

कार्यक्रमको संयोजन पर्यटनदूत राजा घलेले गर्नुभएको थियो | कार्यक्रम एटलान्टाको नेपालीहरू द्वारा सञ्चालित हिमालयन स्पाईस रेष्टुरेन्टमा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले प्रवासमा रहेका सबै नेपालीहरूले राष्ट्र निमार्णमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउदै आएकोमा प्रशंसा गरे । नेपाल सरकारको विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका बाँस्कोटाले कार्यक्रममा आफूले नेतृत्व गर्दै आएको नागरिको सूचना पाउने हक र अधिकारको बारेमा प्रकाश पारे । 

अधिकार तथा सञ्चारकर्मी बन्दना राणाले अधिकार एवं सञ्चारकर्मको क्रममा भोग्नु परेको समस्या र अफ्ठ्याराहरुको बारेमा अनुभव सुनाइन । राणा विगत ३ दशक भन्दा बढी समयदेखि महिला अधिकार र लैंगिक समानताको लागि विभिन्न सङ्घसंस्थामा क्रियाशील रहँदै आएकीछन् । नेपाल पत्रकार महासङ्घका पुर्वसभापति तारानाथ दाहालले विदेशमा रहेका नेपालीहरूले कमाएको पैसा र सीपको सही सदुपयोग राज्यले गर्न नसकेको भन्दै कटाक्ष गरे । 

कार्यक्रममा अधिकारकर्मी सरु जोशी श्रेष्ठले देशबाट दिनहुँ बिदेशिदै गरेको दक्ष युवाशक्तिलाई स्वोदेशमै परिचालन गर्नु पर्ने जिकिर गरिन । नेपालका सहर र गाउँहरू “ट्रुथस र युथलेस” बन्दै गएको र आफूले त्यसैमा वकालत गर्दै आएको बताउँदै श्रेष्ठले एनआरएनले विभिन्न क्षेत्रमा गर्दै आएको व्यक्तिगत/संस्थागत लगानीको प्रशंसा गरिन । 

कार्यक्रममा पर्यटनदूत राजा घलेले सहभागीहरूलाई स्वागत एवं धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा एनआरएन अमेरिका, जर्जिया च्याप्टरका अध्यक्ष सूर्य लम्साल, विश्व हिन्दु महासङ्घ, अमेरिकाका अध्यक्ष किरण श्रेष्ठ लगायत जर्जियामा स्थापित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि एवं अन्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया