अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

‘सिजेएन’को ‘सहकारीमा सम्पत्ति सुद्धिकरण’ विषयक अन्तरक्रिया सम्पन्न

बिआरटीनेपाल २०७४ माघ २५ गते ७:०४ मा प्रकाशित

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आयोजनामा ‘सहकारीमा सम्पत्ति सुद्धिकरण’ विषयक अन्तरक्रिया बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कालो धनले कुनै पनि देश चल्न नसक्ने र सहकारीमा कालो धन नभएको दाबी गर्नुभयो । कालो धन खुट्टामा जन्जिर लगाएजस्तै भएको बताउनुहुँदै अध्यक्ष बडालले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद, हतियारधारीहरुको पैसा नभएको दाबी गर्नुभयो ।

सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण लागु हुनु स्वागतयोग्य रहेको उहाँले बताउनु भयो । ‘सहकारीमा सम्पत्ति सुद्धिकरण लागू हुनु आपत्तिजक विषय होइन’ उहाँले भन्नुभयो, ‘सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोबार हुने गरेको छ ।’ सम्पत्ति सुद्धिकरण सहकारीलाई दण्ड दिने भन्दा पनि स्वच्छ र व्यवस्थित बनाउनतर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।

राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी संशकित हुनुभन्दा पनि थप व्यवस्थित गर्न लाग्नुपर्ने बताउनुभयो । कार्यान्ववयन चुनौती भएपनि सरोकारवाला निकाय सबैको समन्वयमा सहजै कार्यान्वयन गर्न सकिने उहाँको भनाई थियो । निर्देशिकाले सहकारीलाई डकुमेन्टेसन गर्न वाध्य बनाएको र यसले सहकारी व्यवस्थित बन्न सघाउ पुग्ने बताउनुभयो । ‘दश वर्षसम्म सहकारी क्षेत्रमा सम्पत्ति सुद्धिकरण ऐन लागू नहुनु दुःखद् कुरा हो’ नेपालले भन्नुभयो, ‘सहकारीलाई सही बाटोमा हिँडाउन निर्देशिकाले अभिप्रेरित गर्नेछ ।’

राष्ट्र बैंकअन्र्तगत वित्तीय इकाई भएपनि मनी लाउन्डरिङको रिपोर्ट लिने माध्यम मात्र भएको र इकाईमा गभर्नरको समेत कुनै अधिकार र जिम्मेवारी नहुने उहाँले स्पष्ट पार्नुभयो ।सहकारीमा अनुगमन प्रभावकारी हुन नसकेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारी विभागका उप–रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीमा सम्पत्ति सुद्धिकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभुन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न आग्रह गर्नुभयो । ‘सहकारीमा स्वच्छ कारोबार भइरहेको छ भन्ने सन्देश दिनका लागि पनि निर्देशिका कार्यान्वयनमा जानुको विकल्प छैन’ उहाँले भन्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले काठमाडौंका सहकारीमा तुलनात्मकरुपमा बढी विकृती भएको बताउनुहुँदै निर्देशिका काठमाडौंका सहकारीमा पूर्ण रुपमा कार्यान्वयन गर्न सके देशभरी नै लागू हुन सहज हुने बताउनुभयो । सम्पत्ति सुद्धिकरण शिक्षा देशभरका सहकारीमा लागु गर्न आवश्यक रहेको उहाँको भनाई थियो । ‘कानुन, नीति, नियम स्वीकार नगर्ने सहकारीहरु सहकारी नै होइन’ उहाँले भन्नुभयो, ‘कतिपय सहकारी नीति, नियममा बस्नुपर्ने भएकाले नेफ्स्कुनको सदस्यसमेत बन्नेका छैनन् ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सम्पत्ति सुद्धिकरण निर्देशिका कमाई खाने भाडोँ बन्न नहुने बताउनुभयो । विभागद्वारा जारी भएका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको र निर्देशिका कार्यान्वयन गर्न विभाग र सहकारीकर्मीहरु एकजुट भएर लाग्नुपर्ने उहाँको धारणा थियो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले र धन्यवाद मन्तव्य उपाध्यक्ष काजी श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया