अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

‘भूकम्प पछिको साहित्यको धार’ विषयक अनुसन्धान कार्यशाला

बिआरटीनेपाल २०७४ माघ २१ गते ०:५१ मा प्रकाशित

किताब लेख्न कै लागि एउटा विश्व चर्चित र गम्भीर लेखक नेपालका जिल्ला जिल्ला गएर अनुसन्धान गर्छन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यस्तै एउटा रमाइलो कार्यक्रम हालै मन्थलीमा सम्पन्न भएको छ ।

न सभापति, न स्वागत् भाषण न अतिथि केही पनि औपचारिकता नदिइकनै एउटा प्रोडक्टिभ साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमले अनुसन्धान र अनुभूति बाँड्ने मौका सहभागी सबैलाई दिएको छ । समाचार हो –३ नं. प्रदेश, रामेछाप जिल्ला स्थित मन्थली नगरको ।

‘साउथ एसिया सेक्सन स्कुल अफ ल्याङ्ग्वेजेज्, कल्चर एण्ड लिङ्ग्विस्टिक अफ नेपाली एण्ड हिमालयन स्टडी’, लण्डनका प्रा.डा.माइकल हट सहभागी भएको ‘भूकम्प पछिको साहित्यको धार’ विषयक बौद्धिक कार्यशाला हालै मन्थलीमा सम्पन्न भयो ।

स्थानीय एस्एस् एभरग्रीन होटलमा सम्पन्न उक्त कार्यशालामा मन्थलीमा क्रियाशील स्थापित र नवोदित गरी करिब पच्चीस जना स्रष्टाहरूको सहभागिता रहेको थियो । सो कार्यशालामा सहभागी साहित्यिक र गैर साहित्यिक व्यक्तिहरू सबैलाई ‘भूकम्पीय अनुभूति’ सम्बन्धि अनुसन्धानमूलक फारम भराई सोका आधारमै आआफ्ना वस्तुनिष्ट अनुभूतिहरू सेयर गर्ने अवसर दिइएको थियो ।

सो कार्यशालामा कविहरू डा.सुमन कर्माचार्य, पेशल आचार्य, उद्धव अविचल, नवीन गाउँले, सौजन्य सत्याल, केशव अमोल, बिर्ख क्रान्ति, वाशिष्ट गुरु भण्डारी, प्रकाश परिष्कार, जयदीप मगर, सुनीता श्रेष्ठ, सम्झना श्रेष्ठ, अनीता थापा मगर, यमबहादुर श्रेष्ठ, महेश्वर कर्माचार्य र ढालविक्रम कार्कीले आआफ्ना छोटा मिठा कवितात्मक रचना एवम् भूकम्पीय अनुभूति सुनाएका थिए । सहभागी स्रष्टामध्ये केशव अमोल र सौजन्य सत्यालले अंग्रेजी भाषामा र अन्य सबैले नेपाली भाषामा आआफ्ना अनुभूति तथा रचना वाचन गरे ।

एउटा पारम्परिक कवि गोष्ठीभन्दा नितान्त पृथक् शैलीमा सम्पन्न सो कार्यक्रममा सहभागी हुन आउने व्यक्तिलाई फारम भरएर मात्र बोल्ने अवसर दिइएको र कार्यक्रमको मूल्याङ्कन तत्क्षण प्रतिवेदन बनाई कार्यक्रम स्थलमै सुनाइएकाले पनि सहभागी सबैले नौलो अनुभव हाँसिल गरेका थिए ।

सहभागी स्रष्टाहरूले आफ्नो अनुभूति सार्वजनिक गर्ने क्रममा भूकम्पले पारिवेशिक रुपमै आफूहरूलाई रचना सिर्जना गर्ने क्रममा मानसिक असर गरेको बताएका थिए भने । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले भूकम्पले स्रष्टाहरूमा मनोवैज्ञानिक र सामाजिक समस्या निम्त्याएको धारणा राख्दै मन्थली नगरपालिकाले आगामी बुक कल्चरलाई बढावा दिन २०७५ बैशाखदेखि नगर पुस्तकालयको स्थापना गरी पठन संस्कृति आरम्भ गर्ने जानकारी गराएका थिए ।

सोही कार्यक्रममा बेलायती अनुसन्धाता प्रा.डा. माइकल हटले सरल र मिठो नेपाली भाषामा – आफूले नेपालको विनाशकारी भूकम्प २०७२ र साहित्य सिर्जनामा त्यसले पारेको असरका बारेमा त्रिवर्षीय प्रोजेक्टअन्तर्गत सो अनुसन्धान गरेको’ जानकारी गराउँदै ‘विगत्मा नेपालमा कवि वाणि समाजमा सुनिने गरेको तर वर्तमान्मा स्रष्टा वाणि क्रमशः कमजोर बन्दै गएको परिप्रेक्ष्यमा राजनीतिक नेता र पत्रकारको स्वर चर्को हुँदै गएको’ भन्दै व्यङ्ग्य भाव पोखेका थिए ।

सबै सहभागी कनिष्ठ र वरिष्ठ स्रष्टाका रचना र अनुभूतिहरू केलाएर ‘सोसल साइन्स बहा’मा आफूले रिसर्च आर्टिकल लेख्ने र आवश्यक तथा स्तरीय रचनाहरू अनुसन्धानपछि प्रकाशित गरिने ‘भूकम्प पछिको साहित्यको धार’ नामक ग्रन्थमा समावेश गरिने सहर्ष जानकारी गराएका थिए ।

करिब दुई घन्टाको अनुसन्धान कार्यशालामा सहभागी मन्थली नगर पालिकाका प्रमुख रमेशकुमार बस्नेतले प्रा.डा.माइकल हटलाई नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रमको मोडरेसन स्थानीय पत्रकार प्रकाश परिष्कारले गरेका थिए भने भूकम्प अघि र पछिको रामेछाप जिल्लाको साहित्यिक गतिविधिका बारेमा मन्थली बहुमुखी क्याम्पसका सहायक प्राध्यापक तथा लेखक पेशल आचार्यले मूल्याङ्कन गरेका थिए ।

‘यस्तो प्रकारको नौलो र अनुसन्धानपरक कार्यक्रमले आफूहरूलाई रचना लेखन र प्रकाशन गर्ने कार्यमा ठूलो हौसला मिलेको तथा स्थापित एवम् अनुसन्धानकर्ता राष्ट्रिय अन्तर्राष्ट्रिय विद्वान् साहित्यकारहरूसँग घुलमिल भएर भावना साटासाट गरी एकाकार गर्ने गर्विलो अवसर प्रदान गरेको’ कुरा कार्यक्रममा सहभागी नवोदित कविद्वय अनीता थापा मगर र यमबहादुर श्रेष्ठले एक प्रश्नको उत्तर दिँदै व्यक्त गरे । ‘कार्यशाला आफूले सोचेभन्दा सफल भएको’ मा अनुसन्धानकर्ता प्रा.डा. माइकल हट निकै उत्साहित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू