अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

कम्युनिस्ट राजतन्त्र

अयोध्या प्रसाद श्रीवास्तव २०७४ माघ १२ गते २२:५१ मा प्रकाशित

हाम्रा देशका साना साना डुङ्गाबाट महासमुद्र पार गर्न सकिँदैन भने विशाल पानी जहाज नेपालको नदीमा चल्न सक्दैन । सुनारको हथौडी र चिम्टी लुहारको के काम ? लुहारको घन सुनारकोलागि के उपयोग ? सुनको नथुनी र बुलाकी महिलाको नाकको शोभा हो भने पुरुषले नाकमा लगायो भने उपहास र लज्जा मात्र । मलामीले शहनाईको तालमा नाच्दै घाट लागे भने पागलपन कहलाउछ । यी सबै चीज आवश्यक र उपयोगी भए पनि समय, स्थान, विधि र उपयोगकर्ताको तारतम्य मिलन नसकेमा अपयश र हानि नै हुन्छ ।

राजनीतिक व्यवस्था पनि यस्तै हो । कुनै राजनीतिक व्यवस्था स्वयम्मा न त राम्रो हुन्छ न त खराब हुन्छ । देशको पर्यावरण (माटो, समाज र भू राजनीतिक अवस्था, यसलाई प्रकृति भने हुन्छ), देशभक्त, शौर्यवान र विवेकी नेतृत्व, तथा राजनीतिक व्यवस्था यी तीनवटा एकै धारको एक आमा बाबुका सन्तान सरह हुनु पर्दछ । फ्रान्स सहित कतिपय देशले अमेरिकन व्यवस्था लागु गर्न भएभरको शक्ति लगाए तर सकेनन् । ब्रिटिस कमनला र रोमन नागरिक कानुन लागु गर्न आज पनि कैयो देशको सपना साकार हुन् सकी रहेको छैन । कम्युनिज्म तत्कालीन सोवियत सङ्घ, चीन, उत्तर कोरिया र अन्य कतिपय देशमा एक समान रहेन, नितान्त अलग अलग रूपमा देखा पर्‍यो । एउटै मूल सिद्धान्तमा उभिए पनि देशको मान्यता, आस्था र विचारले गर्दा तमाम अनुहार भए ।

नेपालमा २००७ साल पछि एकै चोटि खुल्ला र आयातित विचार र विश्व राजनीतिमा तीव्र परिवर्तनको समय भएकोले हत्या हिंसा र उत्पात बढ्यो, प्रजातन्त्रको अभ्यास सार्थक हुन् सकेन । अर्को तिर छिमेकी विशाल भारतमा संसदीय लोकतन्त्र र अर्को छिमेकी विशाल चीनमा कम्युनिस्ट शासन रहेको दुई विपरीत व्यवस्थाको बिचमा नेपालमा कुनै एकको व्यवस्था अपनाउँदा अर्कोसँग अनबनको सम्भावना रहने अर्को तिर चीनले तिब्बत र फार्मोसा सम्म र भारत ले काश्मीर, सिक्किम र भुटान माथि गिद्धे दृष्टि लगाएको तर नेपाल नेपाली नेताहरूको महत्वाकान्छाको बलि चढ्न सक्ने विषम परिस्थितिमा २०१९ सालमा राजा महेन्द्रले कसैसँग नमिल्ने तर दुवैसँग मिलन मिलन खोजे जस्तो देखिने “पंचायती प्रजातन्त्र” को संविधान जारी गरे ।

यसमा शक्तिको श्रोत राजालाई भनिए पनि समानताको सिद्धान्तलाई पूर्णता दिइयो भने स्वतन्त्रतालाई सीमित र नियन्त्रित गरियो । न्यायपालिका पूर्ण स्वतन्त्र भयो तर न्यायधीश माथि अन्कुशी लगाइयो । प्रहरी, स्थानीय प्रशासन र मन्त्रीमंडल धेरै हद सम्म स्वक्ष रहने भनियो तर अन्चलाधीश राज प्रतिनिधि रहे र अन्चालाधीशमा कम्युनिष्टहरुलाई प्रार्थमिकतामा राखियो । गाउँ फर्क राष्ट्रिय अभियान, वर्गीय सङ्गठन र पंचायत नीति तथा जाँच बुझ समिति जस्ता संस्था हरूको उपयोग गरेर “काम गर-पद लेउ” भन्ने दर्शनलाई व्यवहारिक बनाउँदै सबै जाति, जनजाति, भाषा भेषलाई राष्ट्रिय एकीकृत गरियो । कसैलाई थारु, देशी, नेवार, कामी आदि शब्द प्रयोग गरेर हेपन नपाइने राजाज्ञा प्रचलनमा ल्याइयो । तस्कर, भ्रष्ट, कामचोर र अयोग्य पदाधिकारीलाई “दरबारको गोप्य पत्र” को त्रासले छिमेकीको भन्दा नेपाली राज्यव्यवस्थालाइ राम्रो भन्ने आधारहरू बन्दै गए । पंचशीलको सिद्धान्त, शान्ति क्षेत्र को प्रस्ताव तथा दौत्य सम्बन्धको विस्तार र विदेशमा नेपालको राम्रो छवि र सम्मान अंकित भयो ।

प्रतिवन्धित पार्टीका धेरै जसो कम्युनिस्ट कतिपय कांग्रेसीले पनि पंचायती पदहरू प्राप्त गरे तर प्रमुख नेताहरूको दबाबमा २०३६ भएको जनमत सङ्ग्रहमा सुधार सहितको पंचायती व्यवस्थाको विजय भए पछि राजा विरेन्द्रबाट तीन पटक संविधान संशोधन भयो र र प्रजातन्त्रका सूत्रहरूलाई क्रमशः विस्तारित गर्ने अभ्यास भयो । राज्यको शक्ति र आर्थिक, औद्योगिक विकास गतिशील भयो । तर २०४६ मा बनारसमा रहेका असन्तुस्ट कांग्रेसीहरुले कम्युनिष्टहरुको सभागीतामा आन्दोलन गरे र तीस वर्षीय पंचायतको निधन भयो । दुवैले २०४७ मा संवैधानिक राजतन्त्र सहितको संसदीय लोकतन्त्रको स्थापना गरे । यसलाई उत्कृष्ट भनियो । तर प्रचण्डको महत्वाकांक्षाले अन्य पार्टीहरूलाई घुडा टेकायो र यो संविधान र राजतन्त्र गयो र प्रचण्डको बन्दुकबाट गणतन्त्रात्मक संविधान २०७२ मा आयो । तर अब यो संविधान पनि चल्न सकिरहेको देखिँदैन । यसको विरोधमा अर्को माओवादी र मधेसमा पनि छिटपुट विरोधका स्वरहरू उठी रहेकै छन् ।

कुनै रङ्गको चस्मा लगाएर कसैलाई वाह वाह भन्नु अलग कुरा हो तर निरपेक्ष हेर्ने हो भने पंचायतको जीवन अवधि र शान्ति व्यवस्था तथा प्रतिष्ठा सँग तुलना गर्दा २०१५, २०४७ र २०७२ का संविधान अर्थात् राजालाई कम्जोर या टाढा राखेन र नेताहरूले शासन गर्ने र २०४६ पछिका सबै परिवर्तन र उपक्रमहरु नितान्त अनुपयुक्त र नेताहरू आफ्ना महत्वाकान्क्षामा विदेशी षडयन्त्रको सिकार नै हुने गरेको देखिन्छ । प्रजातन्त्रका आठ वटा सिद्धान्तलाई पंचायतले क्रमशः अभ्यासमा ल्याई रहेको दूरदर्शिता बुझ्न न सक्नु र सुनको सबै फुल एकै चोटि झिक्नलाई कुखुरा मारेको उखान चरितार्थ भएको छ।

पंचायत कालमा आफूलाई काँग्रेस भन्दा निकै कमजोर मान्ने गरेका कम्युनिष्टहरुले राजा काँग्रेसका निकट छन् भन्ने भ्रमले गर्दा समेत, जनतामा परिचय, शक्ति र सत्तामा काँग्रेस सँग अझै पछि परिन्छ कि भन्ने भयको स्थितिमा कमसेकम लाभांशमा आधा भाग त पाइन्छ भन्ने लोभ समेतले होला, यिनीहरू अहिले सम्म काँग्रेसका साथमा रहन्थे तर अब परिस्थिति अर्कै छ । अब यिनीहरूले काँग्रेसलाई पछारि सकेका छन् र स्वयम् शक्ति सम्पन्न भई सकेकाले काँग्रेस को भार उठाइरहन अनावश्यक ठान्ने स्थिति छ ।

विश्वका शक्तिशाली राष्ट्रहरूले नेपालको बारेमा भारतको सोचलाई नै महत्त्व दिन्छन् । तर भारतलाई नेपालमा राजा भन्दा विविध मत र निजी स्वार्थमा लागिरहने नेताको शासन बढी हितकर हुने उदाहरणहरू छन् । उसको यो विचार यथावत् रही रह्यो र चीनले पनि यसैलाई ठिक ठहरायो भने र नेपाली नेताहरूले तिब्बत, काश्मीर र सिक्किमको उदाहरणलाई बेवास्ता गर्दै रहे भने नेपालको बारेमा गम्भीरताका साथ सोच्नु पर्ने अवस्था आउँन सक्दछ । तर चीनले राजालाई नै श्रेष्ट ठान्यो (परिस्थितिवश ठान्न पनि सक्छ) भने, नेपालमा शक्तिमा आएको कम्युनिस्ट शक्ति किनकि भारतलाई गालीको बौछार गरेर जनतामा लोकप्रिय भएको हो, उसले चीनको प्रभावशाली छाया खोज्नु पर्ने बाध्यता हुन् सक्दछ । साथै हृदय देखि कसैको पनि पूर्ण माया न पाएको यो संविधानको अबको कम्युनिस्ट शासनमा यही व्यवस्था, यही रूप र यही व्यवहार रही रहने स्थिति भने देखिँदैन । अहिले देश सङ्कट मै छ र राजनीतिक एकताको खाँचो छ, तर वर्तमान व्यवस्था र मानसिकतामा कुनै हालतले पनि राजनीतिक एकता सुदृढ राख्ने कुनै सत्ता देखिँदैन। यो अवस्थामा कम्युनिस्ट नेतृत्व राजापट्टि आकर्षित हुन् सक्दछ ।

काँग्रेसले राजासँग आफूलाई निकट भन्दै गरेको समयमा पनि ऊ राजाको साथमा कहिले हिँडेन र खिचातानीमा देशको प्रगति हुन् सकेन तर हामी राजासँग हिँड्न सक्छौ भन्ने कम्युनिस्ट सोच जाग्यो भने के राजतन्त्रको सम्भावना अझ बलियो बन्न सक्दछ ? ज्ञानेन्द्र शाह या बेबी किङ्ग ? यसको निर्णय पछिको कुरा हो । अनि पंचायतको नियन्त्रित स्वतन्त्रता र कम्युनिस्टको वर्तमान “लचिलो तानासाही” लगभग मिल्दोजुल्दो भएकोले संविधान को पुनर्लेखन द्वारा पंचायती संविधानलाई नयाँ आवरणमा पुनर्प्रतिश्ठित गरियेला ? के कम्युनिस्टले यो कुव्यवस्था को अन्तकोलागि कुनै नयाँ साहस देखाउला ? के अब पालो कम्युनिस्ट राजतन्त्रको हो ? कस्तो होला त कम्युनिस्ट राजतन्त्र ? प्लेटोको समाज तन्त्र जस्तो ? कि फ्रान्सको गणतन्त्र ? के आउँदै छ ? राजनीतिशास्त्रका अध्येताहरुकोलागी ठुलो जिज्ञासा र कौतूहलको विषय छ ।

================================
लेखक अयोध्या प्रसाद श्रीवास्तव नेपाल सरकार गृह मन्त्रालयका अवकाश प्राप्त अधिकृत, त्रिभुवन विश्वविद्यालय सम्बद्ध बबई बहुमुखी क्याम्पसका संस्थापक तथा राजनीति शास्त्रका उपप्राध्यापक र उमा वेन्चर कम्पनीका कानुनी सल्लाहकार तथा चर्चित लेखक र विचारक हुन् । वहाँले शीलवती, कर्म फलको सुनिश्चित सिद्धान्त, कर्मकाण्ड भास्कर, मेरो अख्तियारी र उत्तराधिकार, भगवान् कहाँ छन् र कस्ता छन् नामक पुस्तकहरू लेख्नु भएको छ । लेखकलाई www.ayodhyashrivastav.com मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया