अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

राष्ट्रपति भण्डारीले आयोजना गरेको मकर संक्रान्ति जलपान कार्यक्रममा प्रधानमन्त्री देखी कलाकार

बिआरटीनेपाल २०७४ माघ १ गते ५:०४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गर्नुभयो ।  राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष लगायतको सहभागीता थियो ।

यसैगरी कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, मुख्य सचिव, प्रधानसेनापति, सञ्चारकर्मीको पनि सहभागिता थियो । उक्त कार्यक्रममा चलचित्र नायक शिव श्रेष्ठ, भुवन के सी, निर्देशक आकाश अधिकारी, नायिका श्वेता खड्का, कलाकार बसुन्धरा भुसाल, सुनिल कटुवाल आदिको पनि सहभागिता थियो

थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउने गर्दछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।

साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा भव्य मेला समेत लाग्ने गर्छ । (रासस)

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू