अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित चलचित्र ‘नालापानी’ निर्माण हुँदै

बिआरटीनेपाल २०७४ माघ १ गते ४:४३ मा प्रकाशित

प्रोफेसर रामराजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहि चलचित्र ‘नालापानी’ निर्माण हुँदैछ । हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।

त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।

कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो । यसै बिषयमा आधारित रहेर नेपाली चलचित्र ‘नालापानी’ बन्न लागिरहेको छ ।

हाल यस चलचित्रको लागि कलाकारहरुको अडिशन भईरहेको छ । अडिशनको क्रममा हालै मात्र रंगमञ्चका कलाकारहरुको अडिशन लिईएको छ । काठमाण्डौको कान्तिपुर फिल्म एकेडमीमा रंगमञ्चका कलाकारहरु र कलाकारिता पढ्दै गरेका विद्यार्थीहरुको अडिशन भएको हो । यसअघि नेपाल आर्मीका जवानहरुको समेत अभिनयका लागि अडिशन भएको थियो । निर्देशक रिमेश अधिकारीले ‘नालापानी’मा अधिकांश कलाकार रंगमञ्च क्षेत्रका रहने बताएका छन् ।

छिट्टै नै कार्यशालामा जान लागेको ’नालापानी’ नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो चलचित्र निर्माण हुने निर्माता मनोज शाक्यले बताए । झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र जनक खकुरेल हुन् ।

चलचित्रमा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।

प्रतिक्रिया