अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 02:43

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश: ‘पुरानो नेपालको जगेर्ना गरे मात्रै नयाँ नेपाल बनाउन सकिनेछ’

बिआरटीनेपाल २०७४ पुष २६ गते १७:३९ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएकोमा चिन्ता व्यक्त गर्दै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

‘देश भनेकै मानवसमाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप होे। देश रहे मात्र हामी र हाम्रो धर्म, संस्कृति, परम्परा एवं पहिचान रहन सक्दछ। हाम्रो मौलिकता बाँचेको अवस्थामा मात्र हामी आत्म गौरवकासाथ बाँचिरहन सक्दछौं’, उनले भनेका छन्– ‘पूरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसाथ गर्दै राष्ट्रिय स्वाभिमान पूनर्उत्थान तथा समृद्घिका निम्ति एकताबद्ध भई क्रियाशिल बनौं, यो नै राष्ट्र निर्माताप्रतिको सच्चा सम्झना र देशप्रतिको कर्तव्यबोध ठहरिनेछ।’

पूर्वराजा शाहले आफ्नै भुमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नुपर्नेमा समेत जोड दिएका छन्।

‘नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ। तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको छ। त्यसैले हाम्रो राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप  प्रतिबद्धताका साथ जागृत हुन परेको छ,’ शाहको भनाई छ।

उनले आधुनिक स्वतन्त्र राष्ट्र नेपालको निर्माता एवं नेपाली एकताका धरोहर पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना समेत दिएका छन्। आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू