अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

शीतलहर तथा चिसोबाट प्रभावितहरुको अवस्थाप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण 

बिआरटीनेपाल २०७४ पुष २३ गते १७:५४ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर तथा चिसोबाट प्रभावितहरुको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आईतबार आयोगले विज्ञप्ती जारी गर्दै राईमधेश, उच्च पहाडी तथा हिमाली भेग लगायत देशका विभिन्न भागमा केहि दिन यता बढेको शीतलहर तथा चिसोबाट प्रभावितहरुको कष्टकर अवस्थाप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सरकारलाई प्रभावितहरुको जीवन रक्षा गर्न आग्रह गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ:- मौसम परिवर्तनसँगै तराईमधेश, उच्च पहाडी तथा हिमाली भेग लगायत देशका विभिन्न भागमा केही दिन यता चिसो बढ्न गई सर्वसाधारणको मृत्यु समेत भएको तथा दैनिक जीवनमा पर्न गएको कष्टकर अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

शीतलहर, हिमपात तथा चिसोका कारण हुम्ला, जाजरकोट, सप्तरी, सिराहा, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा दुई दर्जन बढी व्यक्तिको ज्यान गएको अनुगमनबाट पाइएको छ । लामो समय देखि त्रिपालमा बस्दै आएका बाढी पीडित तथा भूकम्प पीडितहरू, मुसहर वस्तीका बासिन्दाहरू एवम् न्यून आयस्रोत भएका समुदायका बालबालिका, जेष्ठनागरिक, सुत्केरी एवम् विरामी व्यक्तिहरु उच्च जोखिममा रहेको अनुगमनबाट बुझिएको छ । चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया, दम, कोल्ड डाइरीया जस्ता रोगहरुको प्रकोप बढ्न गई जनजीवन कष्टकर बन्दै गएको, स्थानीय स्वास्थ्यचौकी तथा अस्पतालहरूमा विरामीको चाप बढिरहेको तर औषधी र स्वास्थ्यकर्मी नहुँदा विरामीहरु उपचारबाट वञ्चित हुनुपरेको, सिटामोल लगायत सामान्य औषधीको अभावमा रुघाखोकी, ज्वरो र कोल्ड डाइरीयाबाट व्यक्तिको ज्यान समेत गएको बुझिएको छ ।

शीतलहर र चिसोबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्दै थप जनजीवन प्रभावित हुन नदिनेतर्फ सचेत रहन, प्रभावित क्षेत्रहरूमा पर्याप्त औषधी र स्वास्थ्यकर्मीहरूको व्यवस्था गर्न, स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गर्न तथा शीतलहर एवम् हिमपातबाट प्रभावितहरुलाई आवश्यक राहत सामग्री एवम् न्यानोको व्यवस्था गरी नागरिकको मानव अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू