अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

राप्रपा केन्द्रीय सदस्यहरुद्वारा अध्यक्ष कमल थापाको राजीनामा माग

बिआरटीनेपाल २०७४ पुष २० गते १९:४० मा प्रकाशित

राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन्।

नेताहरूले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसकेको, पार्टी विभाजन रोक्न नसकेको र टिकट वितरणमा समेत अध्यक्षले मनोमानी गरेको आरोप लगाए। केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीले अध्यक्ष थापाका कारण पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको आरोप लगाए। बैठकमा अध्यक्षविरुद्ध निकै आक्रामक बनेका उनले थापालाई इंगित गर्दै भने, ‘यसको जिम्मेवारी तपाईंले लिनुपर्छ। तपाईंले जानी जानी पार्टीलाई पराजित गर्नुभयो। तपाईंले राजीनामा दिनुपर्छ।’

अधिकारीले पार्टी विभाजन रोक्न अध्यक्ष थापाले कुनै पहल नगरेको जिकिर गरे। उनले भने, ‘पार्टी एकतापछि हामी सांगठनिक रूपमा निकै सुदृढ भइसकेका थियौं, तर अध्यक्षले पार्टीका शीर्ष नेतालाई सँगै मिलाएर लैजान सक्नुभएन र पार्टी विभाजन रोक्न चासो दिनुभएन।’ केन्द्रीय सदस्य विक्रम थापाले पनि नेतृत्वप्रति असन्तुष्टि जनाए। पार्टीले एजेन्डालाई बिर्सेर सत्तामा मात्र ध्यान दिएको र उनले अब नेतृत्वको कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै हिन्दु राज्य र राजसंस्थाको मागलाई फेरि जनताबीच सशक्त रूपमा लैजानुपर्ने बताएका थिए।

केन्द्रीय सदस्य मनोज प्रधानले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार बेहोरेको उल्लेख गर्दै नेतृत्वले यसको नैतिक जिम्मेवारी लिनुपर्ने बताए। उनले दोस्रो संविधानसभा निर्वाचनपछिका सबैजसो सरकारमा पार्टी सहभागी हुनुले जनताबीच पार्टीको नकारात्मक छवि बनेको बताए। उनले भने, ‘एजेन्डा एकातिर व्यवहार अर्कोतिर भयो। पार्टीमा सत्तामोह व्याप्त भयो र पार्टी नराम्ररी पराजित भयो।’

राप्रपानिकट भ्रातृसंस्था युवक संगठनका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रिमालले पुरानो नेतृत्वबाट पार्टी नबन्ने भन्दै थापासँग नेतृत्व हस्तान्तरण गर्न माग गरे। उनले पार्टीको नेतृत्वसहित नाम नै परिवर्तन गर्न माग गरे। उनले पञ्चायती शैली र पञ्चहरूको झुण्डले राप्रपालाई विलय हुनबाट रोक्न नसक्ने बताए। उनले भने, ‘युवालाई नेतृत्व दिनुपर्छ। साथै राप्रपा नामले अब पार्टी अघि बढ्न सक्दैन। अरूलाई पनि समेटेर पार्टी बलियो बनाउने हो भने नाम फेर्नैपर्छ।’

बैठकमा अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष थापाको राजीनामा मागेका छन्। बिहीबारको बैठकमा अध्यक्ष थापाले आत्मालोचना गरेका थिए। उनले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन आफू तयार रहेको बताए। केन्द्रीय सदस्यको बोल्ने क्रम नसकिएकाले बैठक शुक्रबार पनि बस्ने छ। आजको अन्नपूर्णमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू