अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

हराएका चेली खोज्न माइती नेपाललाई अमेरिकाबाट समीर पन्थीले दिए १० करोडको प्रविधि (भिडियो)

बिआरटीनेपाल २०७४ पुष ८ गते ७:०८ मा प्रकाशित

नेपालबाट बर्सेनि ११ हजारभन्दा बढी चेलीबेटी भारतमा बेचिन पुग्छन् । दलाल र आफन्तबाटै बेचिन पुग्ने ती चेलिको खोजीमा माइती नेपाल सक्रियतापूर्वक लाग्दै आएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा नाकामा दलाल र हराएका चेलिबेटीको फोटो बोकेर आवतजावत गर्नेको अनुहार हेर्दै हिँडिरहेका हुन्छन् ।

अब माइती नेपालका भोलन्टियरहरु प्रविधिले सुसज्जित हुने भएका छन् । उनीहरू स्मार्ट फोन बोकेर हिँड्नेछन् । सीमामा संकास्पद व्यक्तिलाई भेटे मोबाइलमा फोटो खिच्ने छन् । त्यसरी खिचिएको फोटो माइती नेपालको केन्द्रीय सर्भरमा रहेका हजारौँको सङ्ख्यामा रेकर्ड गरिएका चेलिबेटी बेचविखनमा संलग्न अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको फोटोसँग मोबाइल एपले आफैँ दाँज्ने छ । यसरी कुनै दलाल वा हराएका चेलिबेटीसँग फोटोसँग भेटिएको व्यक्तिको फोटो मिले एपले केही सकेन्डभित्रै जानकारी दिने छ । त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउन एपले प्रहरीमा जानकारी दिने छ ।

प्रविधिले फड्को मारिरहेका बेला माइती नेपालका स्वयंसेवक फोटो बोकेर मान्छे खोज्दै हिँडेको देख्दा एउटा नेपालीको हृदयमा यसले छोइरहेको थियो । झन्डै २२ वर्षदेखि अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवा समीर पन्थीले माइती नेपाललाई प्रविधिमा केही योगदान गर्न सकिन्छ कि भनेर सोचिरहेका थिए । अमेरिकामा बसेर अध्ययन गरिरहेका उनका दुई जना भारतीय साथीहरू स्वदेश फर्केर प्रविधिको विकासमा खटिइरहेका थिए । उनीहरूले अनहार चिन्ने प्रविधि विकास गरेको पन्थीले थाहा पाए ।

त्यसपछि पन्थी ती साथीहरूलाई भेट्न भारत आए । उनीहरूले विकास गरेको प्रविधि आर्टिफिसियल इन्टेलिजेन्सका रूपमा निकै उपयोगी लाग्यो पन्थीलाई । उनले चेलिबेटी बेचविखन रोक्न सक्रिय रहेको माइती नेपाललाई यस्तो प्रविधि उपलब्ध गराउन सहयोग गर्न ती दुई भारतीयलाई प्रस्ताव गरे । उनको प्रस्ताव स्वीकृत भएपछि उनीहरू माइती नेपालसँग कुरा गर्न नेपाल आए ।

प्रविधि निकै उपयोगी थियो । त्यसैले माइती नेपालले नस्वीकार्ने कुरै थिएन । यसपछि अमेरिकामा नाउ ट्राकइट कम्पनी चलाइरहेका पन्थीले आफ्नो कम्पनीका तर्फबाट उक्त प्रविधि भर्खरै माइती नेपाललाई हस्तान्तरण गरेका छन् । अमेरिकामा सूचना प्रविधिका क्षेत्रमा विभिन्न प्रकारका एप, सफ्टवेयर डेभलप गर्दै आएका पन्थीले आर्टिफिसिएल इन्टेलिजेन्सको माध्यमद्वारा अनुहारको पहिचान गर्ने प्रविधि निःशुल्क हस्तान्तरण गरेका हुन् ।

‘खोजी’ नाम दिइएको यस एपको माध्यमले पीडित र पिडकको पहिचान गरी पीडितको उद्धार गर्न र अपराधीलाई कानुनको घेराभित्र ल्याएर दण्डीत गर्न सहज हुनेछ । यस कार्यबाट सम्भावित पीडितको अग्रिम बचाउ हुनका साथै पीडितलाई पनि उद्धार गर्न सकिन्छ । यस एपले हराएका बालबालिकालाई साथै बोल्न नसक्ने र मानसिक रोगीहरुलाई पनि समस्याबाट मुक्ति दिलाउन मद्दत गर्ने पन्थीको दाबी छ । खोजी एपले फोटो नभएकाहरुको नजिकका आफन्तसँग मिल्ने अनुहार समेत पत्ता लगाउँछ । यसले उही व्यक्ति हो हैन भन्ने छुट्याउन सहज हुन्छ ।

नाउट्राकइट कम्पनीले माइती नेपालको नेपाल–भारत नाकामा रहेका आवधिक गृहका कर्मचारीहरूलाई ’खोजी’ मोबाइल एप इन्स्टल भएको मोबाइल फोन निःशुल्क उपलब्ध गराएको छ । यसको प्रयोगबारे सम्बन्धित कर्मचारीहरूलाई तालिमसमेत प्रदान गरेको छ । परम्परागत उजुरी गर्ने प्रक्रियालाई छोट्याउन र तत्कालसबै ठाउँमा उजुरी पुर्‍याउन इन्ट्नेटमा आधारित रिपोर्टिङ पोर्टल समेत कम्पनीले निःशुल्क बनाइ दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पन्थीले बताए ।

माइती नेपाल यस्तो प्रविधि प्रयोग गरेर अपराधी तथा  हराएका चेलीहरु खोज्ने विश्वकै पहिलो सामाजिक संस्था भएको पन्थीको दाबी छ । नाउट्राकइट कम्पनीले नेपाल प्रहरीसँग समेत अपराधीको खोजी गर्न यस्तो प्रविधि प्रयोगमा ल्याउन छलफल गरिरहेको जनाएको छ । भारतमा समेत तामिलनाडु प्रहरीका अधिकृतहरुले यस प्रविधिको प्रयोग गरिहेको उनले बताए । अन्यत्र यस्तो प्रविधि उपलब्ध गराउँदा आफ्नो कम्पनीले १० लाख डलर (करिब १० करोड रुपैयाँ) शुल्क लिने पन्थीले बताए ।

माइती नेपालकी संस्थापक अनुराधा कोइराले हराएका चेली र अपराधी पत्ता लगाउन खोजी एप निकै उपयोगी हुने बताइन् । हामी पहिलो पटक प्रविधिले सुसज्जित भएका छौँ, उनले भनिन्, ‘अब अपराधीभन्दा हाम्रा स्वयंसेवक अगाडि हुनेछन् ।’ माइती नेपालका निर्देशक विश्वराम खड्काले अब चेलिबेटी बेचविखन रोक्न प्रविधि प्रयोग गर्न पाएकामा खुसी लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू