अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा चन्द्र शिवाकोटी निर्विरोध

वरिष्ठ उपाध्यक्षमा वासुदेव घिमिरे पन्ध्र सदस्स्यीय कार्य समितिमा दुई पद खाली

गोकुल ढकाल, लस एन्जलस । २०७४ पुष ७ गते ११:३१ मा प्रकाशित

नेपाल अमेरिका एकता समाजको आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । समाज द्वारा गठित निर्वाचन समितिको आज साँझ बसेको बैठकले शिवाकोटी निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । लस एन्जलसलाई आधार मानेर सामाजिक कार्य गर्दै आइरहेको यस क्षेत्रको पुरानो सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको डिसेम्बर २६ तारिखमा हुने साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटीको मात्र उम्मेद्ववारी परेको थियो । भद्र, शालिन र मिठास बोलीका धनी शिवाकोटीको विरुद्धमा कसैको उम्मेदवारी नपर्दा शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी वरिष्ठ उपाध्यक्ष पदमा लस एञ्जलसका पुराना समाजसेवी वासुदेव घिमिरे र उपाध्यक्षमा नबीनकुमार पोखरेल समेत निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भर्खरै गठन भएको मधेसी एशोसियसन – क्यालिफोर्नियाका अध्यक्ष दिनेश शाह तथा सदस्यहरूमा योगेन्द्र विमली, सबल प्रसाई, तुलसा पाठक, सन्तोष पोखरेल, सरिता ढकाल, उत्तम थापा, डोल्मा लामा र शमसेर भण्डारी समेत निर्विरोध निर्वाचित भएका छन् भने पन्ध्र सदस्यीय कार्यसमितिमा महासचिव र एक सदस्य पदमा कसैको पनि उम्मेदवार परेको थिएन ।

सचिव पदमा अर्जुन ढकालले साधारण सभाबाटै मान्य हुने गरी आफूले इच्छा जाहेर गरेको बताएका छन् । सम्भवत: ढकाल नै एकता समाजको सचिव नियुक्त हुनेछन । संस्थाका संस्थापकमध्यकी एक, एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा एकता समाजकै पूर्व अध्यक्ष उमा कार्की थापाको संयोजकत्वमा गठित निर्वाचन समितिमा संस्थाका पूर्व सल्लाहकार समाजसेवी राजेन्द्र शिवाकोटी, पूर्व महासचिव तथा एफओएन र झापाली समाज अमेरिकाका अध्यक्ष एवम् संस्थाका सल्लाहकार मुकुन्द ढुंगाना, पूर्व सचिव तथा एनआरएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष राम बाबु पाण्डे र नेपाली जनसम्पर्क समिति, साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष तथा संस्थाका आजीवन सदस्य मदन पाठक हुनुहुन्थ्यो । निर्वाचन समितिले निर्वाचित सबै पधादिकारी तथा सदस्यहरूमा आगामी दुई वर्षको कार्यकाल सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।

नव-निर्वाचित समिति:
नेपाल अमेरिका एकता समाजको झन्डै १० वर्षको इतिहासमा नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीले संस्थाको पाचौं अध्यक्षता सम्हाल्दै हुनुहुन्छ । वर्तमान कार्य समितिको नेतृत्व मा सूर्य प्रसाई हुनुहुन्छ भने त्यस अघि शारदा श्रेष्ठ एक कार्यकाल, उमा कार्की थापा दुई कार्यकाल र स्थापनाकालमा शान्तिराम ढकालले संस्थाको नेतृत्व सम्हाली सक्नु भएको छ । झन्डै ५ वर्ष अघि देखि लस एञ्जलस बस्दै आउनु भएका शिवाकोटी वर्तमान कार्यसमितिमा बोर्ड सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

रिअल स्टेटको व्यावसायिक पेसा अंगाल्दै आउनुभएका नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीलाई अबको दुई वर्षे कार्यकाललाई कसरी अगाडी बढाउने जमर्को गर्नु भएको छ भनी सोधिएको प्रश्नको जवाफमा उंहाँले भन्नु भयो “वर्तमान कार्य समितिले अङ्गीकार गरेका कार्य र योजना लाई निरन्तरता दिँदै समुदाय केन्द्रित केही नयाँ कार्यक्रमको थप गरिने छ ।” उहाँले बताउनुभयो “यो कार्य समितिमा समेत बसेर आफूले कार्य गरेको अनुभव र सिकाईलाई अबका दिनमा संस्थाको दिगो विकासका लागि खर्च गर्ने बताउँदै समुदायसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

आगामी डिसेम्बर २६ तारिखका दिन आर्टिसिया स्थित तारा हिमालयन कुजिनमा साधारण सभा मार्फत नेतृत्व हस्तान्तरण गर्ने जानकारी संस्थाका अध्यक्ष सूर्य प्रसाईले दिनु भयो । दोस्रो कार्यकालका लागि पनि मरिहत्ते गर्ने विभिन्न व्यक्तिहरू पनि देखिएका छन् तर तपाईँले त संस्थाको दोस्रो कार्यकाल सञ्चालन गर्न कुनै चासो नदेखाउनु भएको हो, पदको लोभ लागेन ? भनी सोधिएको प्रश्नमा वर्तमान अध्यक्ष प्रसाईले भन्नु भयो ” पदिय लोलुपता भन्दा पनि संस्थालाई अझ क्रियाशील र समुदाय केन्द्रित बनाउन नयाँ जोस जाँगर र हौसला आवश्यक हुन्छ । नयाँ नेतृत्वले नयाँ विचार र कार्यक्रम अघि सार्छ । जसको फाइदा समुदायलाई पुग्छ । अझ सामाजिक संस्थाको नेतृत्वमा सधैँ एकै अनुहार समुदायका लागि त्यति सहज नहुन नि सक्छ । नेपाल अमेरिका एकता समाजको सन्दर्भमा आगामी दिनमा पनि मेरो संलग्नता र सहयोग हिजोका दिनमा जस्तै रहने भएकोले पदले मलाई कुनै अर्थ राख्दैन ।” साधारण सभाको को अन्तिम तयारी समेत पुरा गरिएको बताउँदै उंहाँले संस्थाको साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्य तथा पूर्व सल्लाहकार र संस्थापकहरुलाई समेत हार्दिक अनुरोध गर्नु भयो ।

महासचिव, सचिव र एक सदस्य पदमा कसैको उम्मेदवार नि परेन नि भनी सोधिएको प्रश्नमा अध्यक्ष प्रसाईले भन्नुभयो “यो कुनै अनौठो र ठुलो कुरा होइन । त्यसमा पनि नयाँ कार्य समिति छनौट गर्न विधानत: सम्पूर्ण अधिकार निर्वाचन समितिलाई दिईेको हो । निर्वाचन समितिले निवेदन परेका पदहरुको छानबिन गरी अन्तिम नतिजा घोषणा गरेको छ । १५ सदस्सिय कार्य समिति मा १२ जना निर्विरोध निर्वाचित हुनु भएको छ मेरो कार्यकालमा समेत १३ जना कार्य समितिमा थियौ तर काम गर्न हामीलाई सदस्य सङ्ख्याले कुनै असर गरेन फेरी कार्य समितिले पदपूर्ति गर्ने व्यवस्था पनि विधानमा उल्लेख छ त्यसैले यसले अप्ठ्यारो बनाउँछ जस्तो मलाई लाग्दैन ।”

यसै गरी नव निर्वाचित उपाध्यक्ष नवीन पोख्रेललाई विगतको दुई वर्ष र आगामी दुई वर्षमा संस्थाको गति र रफ्तारलाई कसरी मूल्याङ्कन र योजना गर्नु हुन्छ भनी सोधिएको प्रश्नमा उंहाले भन्नु भयो “प्रथमत यो दुई वर्ष र त्यो भन्दा अघिको नेपाल अमेरिका एकता समाजकोको पृष्ठभूमि र नेतृत्वलाई हामीले केलाउनु पर्छ र मूल्याङ्कन गर्नुपर्छ । हामीले यो दुई वर्ष जति सक्ने कार्यक्रम गर्‍यौ विवाद रहित ढङ्गले गर्‍यौ, एकभन्दा अर्को सफल कार्यक्रम गर्‍यौ । ७०० को हाराहारीमा महान् चाड तीजमा दिदी बहिनीलाई दर खुवायौ सफल व्यवस्थापन गर्‍यौ , त्यो नि नि:शुल्क। शायद, अब यस्तो कार्यक्रम गर्न सकिन्छ नि सकिन्न नि । त्यसका अलावा स्थानीय सङ्घ संस्थाहरुसंग अन्तरक्रिया, अमेरिकी नागरिकता सम्बन्धी समुदाय सङ्गका भेटघाट हाम्रा उल्लेख्य कुरा हुन् । संस्थाको आन्तरिक व्यवस्थापन, कार्यालय सञ्चालन र आर्थिक पारदर्सिता हाम्रा सबल पाटाहरु पनि छन् । संस्थागत साझेदारी गर्दै नेजाको कार्यक्रममा एकता समाजद्वारा गरिएको सांस्कृतिक कार्यक्रम तथा अनेसास को सम्मेलनमा प्रस्तुत गरिएका हाम्रा गतिविधि उदाहरनिय र उल्लेखनीय कार्य हुन् साथै यो कार्यसमितिले अवलम्बन गरेका कार्यनीति र कार्यक्रमलाई नयाँ कार्यसमितिले निरन्तरता दिँदै अझ सशक्त पार्ने छ ।” पोखरेलले थप्नुभयो, ” मलाई धेरै नाटक पार्न त आउँदैन, भनिन्छ नि, धर्म र कर्म यती गरेँ भनिदैंन रे । मेरो मतलब एकता समाजले कति धर्म र कति कर्मा गर्‍यो, यो घाम जस्तै छर्लङ्ग छ । बढी लेपनका नाममा तेल घस्नु काम छैन । काम भएको छ, गरेका छौँ र अब फेरी त्यसलाई निरन्तरता दिनेछौं ।”

प्रवासमा संस्था जन्माएर पद ओगट्ने होडबाजी चलेको बेलामा नेपाली जनघनत्वको बढवा हुँदै गरेको लस एन्जलसको यो पुरानो संस्थाको शक्तिशाली महासचिव पदमा ३ वर्ष कुशल कार्य गरेकी वर्तमान महासचिव डोल्मा लामा नयाँ कार्य समितिमा सदस्य पदमा निर्वाचित भएकी छन् । संस्थामा त पदिय बढुवा हुनु पर्ने होइन महासचिवबाट सदस्य पदमा किन झर्नु भयो भनिएको प्रश्नमा लामा भन्छिन “म पदको लागि हैन समुदायमा केही गरौँ भन्ने मनस्थिति बोकेर आएकी हुँ त्यसैले मलाई काम गर्न पद नै हुनुपर्छ भन्ने छैन ।”

यसै बिच लस एन्जलस आर्टेसियामा अवस्थित नेपालीहरूको प्यारो संस्था नेपाल अमेरिका एकता समाजको संस्थापक अध्यक्ष शान्तिराम ढकालले संस्थाको ऑंउदो साधारण सभाले सबल सक्षम नेतृत्व चयन गरोस् भन्दै समाजको साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू