अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९ | Colorodo: 13:34

राहुल गान्धीद्धारा भारतीय काँग्रेसको अध्यक्षको जिम्मेवारी ग्रहण

नयाँदिल्ली, (रासस/एफपी/सिन्ह्वा) २०७४ पुष १ गते १४:३१ मा प्रकाशित

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राहुल गान्धीले शनिवार ग्रहण गर्नुभएको छ । गत १९ वर्ष देखि पार्टीको अध्यक्ष रहनु भएकी सोनिया गान्धीले शनिवार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।

उहाँले शुक्रवार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गर्नुभएको थियो । भारतको निकै पुरानो पार्टी काँग्रेसमा उहाँले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिनुहुने बताउनु भएको थियो ।

काँग्रेसको सबैभन्दा माथिल्लो पदका लागि पाँच दिन पहिले भएको निर्वाचनमा राहुलबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । राहुलका पिता राजीव गान्धी, उहाँका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरूले भारतको प्रधानमन्त्री हुनुभएको थियो ।

राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आउनु भएकोमा अहिले अध्यक्ष बनाइएको हो । गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकाले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनियाको दाबी छ ।

भारतीय काँग्रेसका कार्यकर्ताहरूले राहुलले पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेपछि उहाँको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरूले राहुल जिन्दाबाद, राहुल गान्धी अमर रहून्, लगायतका नारा लगाएका थिए ।

४७ वर्षीय राहुलले अध्यक्ष भएपछि अव पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरे पनि कतिपयले भने संशय व्यक्त गरेका छन् । यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो ।

सोनीय अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काँग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकी धर्मपत्नी सोनिया गान्धी गत तीन वर्षदेखि बिरामी भएपछि पटकपटक अस्पताल भर्ना भएर उपचार गराइरहनुभएको छ ।

इटालीमा जन्मेकी ७१ वर्षीया गान्धीले सन् २०११ मा उहाँ उपचारका लागि अमेरिका जानुभएको थियो । बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू