अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 22:20

नपठाउ अस्तु यता

विष्णु प्रसाद घिमिरे २०७४ मंसिर २१ गते ४:२० मा प्रकाशित

आँखामा सुन्दर भविष्यको सयौँ चित्र सजाएर
जन्मे हुर्केको धर्ती छाड्दै गर्दा
तिमि सगैं आफन्तहरुको
शुभेच्छाका गुजुल्टाहरु मात्र कहाँ हो र ?
हजारौँ आशाका विम्वहरु पनि प्रतिविम्वित थिए ।

रातो अक्षता लगाइदिदैं
आशीर्वाद सगैं फुलसिउरिदिदैं गर्दा
च्यात्तिएको मजेत्रोले आँखाबाट बगिरहेको ममता पटक पटक पुछिन आमाले
धमिराले खाएको दलिन तिर मुण्टो फर्काएर
बाबा लोग्ने मान्छे बन्दैं थिए
कोरिबाटि सिउँदो सिन्दूरले सजाए पनि
गाजल लगाइन त्यस दिन चमेलीले
झलुन्गोमा सधैंझैं खेलिरहेकि थिई छोरी
के थाहा त्यो नाबालकलाइ
हुर्के बढे पछि
दुइचार माना सपना पुरा गर्न
मुरी मुरी पिडा र बियोग सहनुपर्छ भन्ने ??

चमेली,पुण्टि,बा,आमाले मात्र कहाँ हो र ?
भाइ ,बहिनी,काका,काकी,साथी ,सगिं,गुरु,छिमेकी सबैले शुभयात्राको कामना गरे
तिमीले चोकबाट बस चढेर 
बिदाइको हात हल्लाँउदैं गर्दा 
सुकेको पधेंरो रसाएको थियो
कखरा सिकाउने टहरे स्कुल टलक्क टल्केको थियो
बन्धकि गएको गैह्रि खेत लहलह झुलेको थियो
न्यास्रो मानेंका तिम्रा हामी आफन्तहरु
कुनैं साँझ..
सपनाले भरिएको झोला बोकेर 
तिमि त्यही बसमा फर्किने आशामा तन्ग्रिएका थियौँ ।

तिमीले सामाजिक सजांलमा पोष्टाउने
हसिंला,उज्याला लोभलाग्दा तस्बिर हेरेर
हामी सबै रमाँउथ्यौं…. कल्पन्थ्यौं..
कास..हामी पनि त्यतै जान पाएको भए ..
कहिले काँहि तिमीले लेख्ने बैरागि स्टाटसहरु पढेर भन्थ्यौं ..
केटाले हल्का लगाएछ क्यारे !
न पिउँथ्यो… न लेख्थ्यो…
विदेश पुगेपछि अरूले जसरिनैं
सुरु गरेछ पिउन 
अनि फुर्न थालेछन .. मुक्तक.. गीत..गजलहरु..!!!!

आज त्यही सञ्जालमा आएको म्यासेज झुठो भइदिए हुन्थ्यो
भनेंर कामना गरेँ
तर पटक पटक र फरक फरकबाट आयो एउटै अनिष्ठ समाचार
जुन मलाइ विश्वास गर्न गाह्रो भइरहेको छ 
अनि कसरि सुनाँउ अरूलाई ?
चमेलिलाइ कसरि भंनु तिम्रो सिँउदो पुछियो भनेंर ?
कसरि भंनु पुण्टिलाइ
बाबाको काखमा खेल्ने रहर पुरा नहुने भो भनेंर ?
निडर, साहसी छोरो नामर्द,हुतिहारा निक्लियो भनेंर
कसरि सुनाँउ काका काकिलाइ ?
आफूलाई सम्हाल्न सक्लान यी सबैले ??
तिम्रो दीर्घायु, सु-स्वास्थ्यको कामना गरेर 
दैनिक बाल्ने बत्ती कसरि निभाँउ मैले ?
 र भनौं अव जरुरत छैन यो बत्तीको भनेंर ।

 

हो हामीलाई थाहा छ
तिमि बसिरहेको देशमा 
सुन्दर माउण्ट फुजिको छेउमैं
आओकिगाहारा भन्ने जगंल छ 
वार्षिक सयौँ जापानिजहरु मर्न जान्छन त्यँहा 
त्यस्तै द गोल्डेन व्रिज छ सनफ्रान्सिसको मा
हाम्फालेर आत्मदाह गर्नै पुग्छन त्यहाँ स्वहत्याराहरु 
आत्महत्या दरको श्रेणीमा
तिमि जन्मेको देश नवौँ स्थानमा  छ भनेँ
कर्म गर्दै गरेको देश अठाँरौं स्थानमा
यो पनि थाहा छ कि 
विश्वमा सरदरमा दैनिक ३००० मानिसले आत्महत्या गर्छन् 
जबकि जम्मा दैनिक मृत्यु दर १५१६०० छ 
के यिनै डाटाहरु सुनाएर 
भनौं कि तिमि पनि आज तिनै ३००० भित्र पर्यौ भनेंर ??

तिमि जत्तिको शिक्षित, जाने बुजेको मान्छेले कसरि सोच्यौ ?

आत्महत्या समस्याको समाधान हो भनेंर 
तिम्रो अन्त्य सगैं
के बित्ला ? तिम्राहरुलाइ 
परिवार भित्रको दायित्व , कसले उठाँउछ ?
कसले दिन्छ सहारा 
ती बृद्दा ,अवला र नावालिकालाइ
कि यिनीहरूले पनि 
तिमीले जसरि नैं आ-आफ्नो गला अठ्याउंने ?

 

खादा,टिकाले सजिएर परदेश पुगेका हामी जस्तै युवाहरू 
दुर्घटनामा परेर , रोगव्याध लागेर
दैनिक २-४ जना ओर्लिन्छन विमान स्थलमा
रातो बक्सामा बन्द भएर 
त कोही अस्तु बनेर 
तिम्रो शव हेर्न सक्ने हिम्मत म कसैमा देख्दिन
त्यसैले दाहसंस्कार त्यतै गरिदिनु 
अव रह्यो अस्तु को कुरा
तिम्रो अस्तुले न चमेलीको सिँउदोको रगँ फर्काउनसक्छ 
न त्यो अस्तु काकाको दमको ओखति बन्न सक्छ
न त्यो अस्तु काकीले पुज्ने तुलसाको मठको डिल बन्न सक्छ 
न त पुण्टिको रक्षाको कवच नैं 
त्यो अस्तुले यता आत्महत्याको महामारि बोकेर ल्याउन पनि त सक्छ 
त्यसैले म भन्छु
जसरि उसले परिवार,इष्टमित्र,साथी सगिं,छर छिमेकको आशा भरोसा सेलायो
त्यसरिनैं उसको अस्तु पनि त्यतै कतै
खोला नाला ताल तलाउ या समुन्द्र तिर सेलाइदिनु ।।।।

 
 
 
 
(कवि विष्णु प्रसाद घिमिरे अनेसास एसिया समितिका सचिव हुन्  )
 
प्रतिक्रिया