अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

नेजाद्धारा डिसी क्षेत्रमा पत्रकार तारानाथ दाहालसंग अन्तरक्रिया सम्पन्न

बिआरटीनेपाल २०७४ मंसिर १७ गते १४:०२ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले नेपाल पत्रकार महांसंघका पूर्व अध्यक्ष तथा फ्रिडम फोरम नेपालका अध्यक्ष तारानाथ दाहालसंग यहाँ एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रियाको क्रममा पत्रकार दाहालले नेपालमा संवैधानिक रूपमा प्रेस स्वतन्त्रता र अभिव्यत्तिको स्वतन्त्रता सुनिश्चित गरिए पनि व्यवहारिक रूपमा अझै पनि बेला बेला प्रेस स्वतन्त्रतामाथि अवरोध आउने गरेको र यसको लागि नेपाली पत्रकारहरुले संघर्षरत रहनु परेको विचार व्यक्त गर्नु भयो । संविधानको भावना अनुरूप कानुनहरू बनी नसकेका र अझै पनि धेरै ऐन कानुनको ड्राफ्ट समेत नभएकोले सञ्चार माथि राजनीतिक, आर्थिक र आचारसंहिता पालनाका क्षेत्रमा धेरै समस्या उत्पन्न भइरहेको उहाँको ठहर थियो ।

हाल अमेरिका भ्रमणमा रहनु भएका दाहालले नेजाले डायस्पोराका समुदायलाई सुसूचित गर्ने र नेपालसँग नेपालीहरूलाई जोड्ने पुलको रूपमा काम गर्नु पर्ने सुझाव दिँदै हाल नेपालमा नेपाली पत्रकारहरुको सुरक्षामा समस्या खडाहुंदै भएकोले पत्रकारहरुले पनि चनाखो हुनु पर्ने तर सही कुरा लेख्न र बोल्न छोड्न नहुने कुरा बताउनु भयो ।

अघोषित रूपमा राज्यले गर्ने सेन्सरशिपसंग लडिरहेका नेपाली पत्रकारहरु यदाकदा विज्ञापन, राजनीति र त्रासको प्रभावको कारणले आफैले आफ्नो सूचना प्रवाहमा सेन्सर गरिरहेकोले तर्फ इंगित गर्दै उहाँले अव नेपाली समाज स्वतन्त्रताको अनुभव गर्न बानी परिसकेको हुँदा कसैले पनि प्रेस तथा नागरिक वाक स्वतन्त्रता कुण्ढित गर्न नसक्ने आशा व्यक्त गरिदिनु भयो ।

नेपालमा च्याउउम्रे झैँ सञ्चार माध्यमहरु खुलेको, संसारै भरि अनेकथरि अनलाइन पत्रिकाहरु खुलेको र सञ्चारले विश्वसनीयता गुमाउदै गएको भन्ने सवालमा प्रतिक्रिया दिैदै दाहालले धेरै सञ्चार माध्यम हुनु समाज विकासको लागि राम्रो कुरा भएको तर कस्ता सामग्री पढ्ने र कस्ता नपढ्ने भन्ने निर्णय अव स्वयम् पाठक, उपभोक्ताहरुले गर्नु पर्ने समय आएको धारणा व्यक्त गर्नु भयो ।

सो अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेजाका सल्लाहकार योगेश उपाध्यायले प्रवासको सञ्चारले नेपाली भाषा र संस्कृतिको विकास र विस्तारमा सहभागी हुनु पर्ने विचार व्यक्त गर्नु भयो ।

नेजा उपाध्यक्ष गुणराज लुइटेलले मोडरेट गर्नु भएको सो कार्यक्रममा नेजा अध्यक्ष भोला आचार्यले पत्रकार तारानाथ दाहालको पत्रकारिता र पत्रकारका संस्था सञ्चालनका अनुभवले नेजालाई सिक्न र विस्तारित हुन अझ मद्दत मिलेको कुरा बताउँदै डायस्पोरा र स्वदेश दुवैलाई जोड्न नेजाले काम गरिरहेको धारणा व्यक्त गुर्न भयो ।

सो कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका राससका पत्रकार कृष्ण सापकोटा, नेजाका संस्थापक गिरिश पोखरेल, पत्रकारहरु तरण पौडेल, अंकुश नेपाल, शतिश चापागाई, निदेश अधिकारी, केशर कार्की, सुनिलमणि दाहाल, श्रृजना उप्रेती, कृष्ण धराबासी, शारदा सिलवाल, विष्णु शर्मा, बाबुराम खरेल लगायत नेजा सदस्य तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नव स्थापित सञ्चार संस्था ग्लोबल नेपाल मिडिया तथा यसका पार्टनरहरु इनास र आवर इजी सलुसनले अन्तरक्रियाको लागि नेजालाई स्थान उपलब्ध गराएका थिए । फोटो: बिजय थापा (महोदय)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू