अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

‘औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना छ’ – विनोद चौधरी 

बिआरटीनेपाल २०७४ मंसिर १३ गते २:२१ मा प्रकाशित
नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बता्उनुभएको छ ।
कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त चाहना सवै नेपालीको चाहना भएको भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पार्नुभयो ।
२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भएपनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताउनुभयो । ‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने थिएन’चोधरीले भन्नुभयो ।
उहाँले त्यसपछिको राजनीतिले बाटो बिराउँदा जनचाहना अनुरुप आर्थिक समृद्धि र विकास हासिल हुन नपाएको उल्लेख गर्दैै तत्कालीन समयमा कांग्रेसले लिएको आर्थिक नीतिको धरातलमा उभिएर आजसम्म पनि न्यून मात्रामै भएपनि विकासका काम हुन सम्भव भएको उहाँले दोहो¥याउनुभयो ।
देशको आर्थिक वृद्धिदर हालसम्मकै उच्च रहनु, नेपाल सिमेन्टमा आत्मनिर्भर हुनु, ३ हजार मेगावाटभन्दा बढीका जलविद्युत आयोजनाहरु निर्माण हुनु, ३-३ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहनु जस्ता कुराहरु सोही आर्थिक नीतिको देन भएको उहाँले दाबी गर्नुभयो ।
बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक गर्ने र लोकतन्त्रमा मात्र अर्थतन्त्र बलियो हुने भएकाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको चौधरीले बताउनुभयो । निर्वाचन प्रचार प्रसारको सिलसिलामा मंगलबार तौलिहवामा पुग्नुभएका चौधरीले जनचाहना साकार पार्नका लागि नेपाली कांग्रेस नै सक्षम पाटी भएको दाबी गर्नुभयो ।
नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक समेत रहनुभएका चौधरीलाई पार्टीले आर्थिक समृद्धि र विकासका लागि मतदातालाई बुझाउने जिम्मेवारी दिएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर जनताका हातमा अधिकार गइसकेको अवस्थामा आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।
तौलिहवामा पुग्नु अघि मंगलबार नै रुपन्देहीको सालझण्डीमा आयोजित आमसभामा बोल्दै चौधरीले लुम्बिनीको महत्वलाई अन्तर्राष्ट्रिय जगतमा मक्का मदिना सरह रहेकाले त्यसै अनुसारको प्रचार प्रसार र व्यवस्थापन गरेर संसारमै चिनाउनुपर्ने उल्लेख गर्नुभयो । ऐतिहासिक लुम्विनी क्षेत्रको वृहत्तर विकास गरेर संसारका सबै धर्मावलम्वीको गन्तव्यका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।
उहाँले धार्मिक मान्यता, सद्भाव र प्राकृतिकरुपमा नेपाल संसारकै नमुना रहेकाले सबै क्षेत्रको विकास र दीर्घकालिन व्यवस्थापनबाट समृद्धि हाँसिल गर्न सकिने दावी पनि गर्नुभयो ।
उहाँँ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहित दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू