अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२० | Colorodo: 12:35

कांग्रेसको लहर देखेर कम्युनिष्टहरु भौतिक आक्रमणमा  – राज्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७४ मंसिर ४ गते २३:५७ मा प्रकाशित

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले नेपाली कांग्रेसमा जनलहर देखेर प्रतिपक्षीले भौतिक आक्रमण सुरु गरेको आरोप लगाउनुभएको छ ।

तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार रहनुभएकी नेतृ गुरुङले सोमबार लालीगुराँस नगरपालिकाको टुटेमा आयोजित टोलस्तरीय चुनावी सभामा बोल्दै कांग्रेसको जनलहरलाई प्रभावित पार्न प्रतिपक्षीले आक्रमणको प्रयास गरेको बताउनुभएको छ ।

कांग्रेसले चुनावी कार्यक्रमका लागि तयार गरेको कार्यक्रमस्थल लालीगुराँस नगरपालिका–१ स्थित टुटेबजार नजिकै सोमबार विहान शंकास्पद विष्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको थियो । सो शंकास्पद बस्तुहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कांग्रेस नेतृ गुरुङले कांग्रेसको राम्रो पकड सो क्षेत्रमा त्रास फैलाउनका लागि बाम–गठबन्धनले शंकास्पद बस्तुहरु राखेर तर्साउन प्रयास गरेको बताउनुभयो । उहाँले आम जिल्लाबासी मतदातालाई कसैको दबाब र प्रभावमा नपरी लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि एकजुट हुन आव्हान समेत गर्नुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगानाले बामपन्थीहरुले कांग्रेसको लोकतान्त्रिक समाजवादमाथि वर्षौदेखि आँखा लगाउदै आएको तर कांग्रेस सधै जनताको पक्षमा भएकाले अहिलेसम्म सकुशल भएको बताउनुभयो । कांग्रेसको जनलहर देखेर तेह्रथुममा बामपन्थीहरु आत्तिएको र आक्रमणको सुरुवात गरेको उहाँको भनाइ थियो ।

कांग्रेसले लालीगुराँस नगरपालिकाको टुटे र काँडेमा सोमबार छुट्टा–छुट्टै चुनावी सभा गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष सुब्बा, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ लगायत कांग्रेस नेताहरुले कांग्रेसको नीति सिद्धान्त र घोषणा पत्र तथा मुलुकको आर्थिक समृद्धिको बाटोका सम्बन्धमा धारणा राखेका छन् ।

यस्तै नेपाली कांग्रेसले तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुमा पनि सोमबार चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्वसांसद तुलसी सुब्बा, पुर्वजिल्ला सभापति रामनारायण ढुंगाना, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे, क्षेत्रीय प्रचार प्रसार समितिका संयोजक केशव भेटुवाल लगायत जिल्ला कार्यसमितिका नेताहरुले सम्बोधन गरेका छन् ।

बाम एकता लोकतन्त्र विरुद्ध ः विमली

तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगामा पनि सोमबार नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कांग्रेस नेता गणेश विमलीले बामपन्थीहरुको कथित एकताले लोकतन्त्र धरापमा परेको बताउनुभयो ।

उहाँले वामपन्थी शक्तिहरुले जिते नेपालमा अधिनायकवाद हाबी हुने भन्दै लोकतन्त्रको रक्षाका निमित्त कांग्रेसलाई मतदान गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता बिमलीले विगतमा पनि कांग्रेसले जनताको पक्षमा लिएका अगुवाईहरु उल्लेखनीय भएको धारणा राख्नुभयो ।

उहाँले कांग्रेसले २००७ साल, ०१५ साल, ०४६ र ०६२÷०६३ को जनआन्दोलन ताका खेलेको भूमिकालाई फर्किएर हेर्न मतदातालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका आठराई गाउँपालिकास्तरीय चुनाव प्रचार प्रसार समितिका संयोजक नारायणकुमार ईङनाम लगायतले मन्तव्य राख्नुभएको छ ।

 

 नेता तुलसी मैदानमा

नेपाली जनताले ७ दशक भन्दा लामो समयसम्म संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कम्युनिष्टहरु मिलेर सिध्याउने षड्यन्त्र रचेको थाहा पाएपछि नेपाली कांग्रेस तेह्रथुमका नेता तुलसी सुब्बाले लोकतन्त्रको रक्षाका लागि मैदानमा उत्रिनुभएको छ ।

पुर्वसांसद समेत रहनुभएका नेता सुब्बाले फेदाप गाउँपालिका–१, सिम्लेको पोक्लाबाङमा आयोजित चुनावी सभामा संबोधन गर्दै पार्टीभित्र भएका सानातिना गल्ती कमजोरीहरुलाई सच्याउदै अब व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टी र लोकतन्त्रको रक्षा गर्नै  बेला आएको बताउनुभयो । उहाँले  कार्यकर्तालाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न समेत अनुरोध गर्नुभएको छ।

सभामा पुर्वजिल्ला सभापति रामनारायण ढुंगाना, पुर्वजिल्ला कोषाध्यक्ष तथा प्रदेश सभा (ख) का प्रत्यक्ष उम्मेदवार विजय सम्बाहाम्फे, क्षेत्रीय चुनाव प्रचार प्रसार समितिका सभापति केशव भेटुवाल, जिल्ला सदस्य नैन पयाङ्गो र होम कोइराला लगायत नेताहरुले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रम नेपाली कांग्रेस फेदाप गाउँपालिका सभापति पशुपति भटराईको अध्यक्षतामा भएको थियो ।

कृषि र पर्यटन समृद्धिको आधार

आइतबार आङिदम र फुलेकमा भएका छुट्टा–छुट्टै चुनावी सभालाई सम्बोधन गर्दै राज्य मन्त्री गुरु¨ले तेह्रथुममा उत्पादित अग्र्यानिक कृषि उपज र व्यवस्थित पर्यटन विकासले नै यो जिल्लालाई समृद्ध बनाउने बताउनुभएको थियो । उहाँले यसका लागि जिल्लाको सबैभेगमा सडक पुर्याउनु पर्ने  खाँचो रहेको बताउनुभयो । उहाँले यहाँ निर्माण सुरु भएका, निर्माण थाल्नुपर्ने र निर्माणाधीन सडकको स्तरोन्नतिका लागि आफुले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगाना नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष सुब्बा,लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङ लगायत नेताहरुले बोल्नुभएको थियो ।

 

माओवादी छाडेर कांग्रेस प्रवेश गर्नेको लर्को

तेह्रथुममा नेकपा माओवादी केन्द्र सहित विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँबाट कांग्रेस उम्मेदवारहरु भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना सहितका नेताहरुले नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र नेकपा एमालेमा आवद्ध डेढ सय बढी कार्यकर्तालाई कांग्रेसमा भित्र्याउनुभएको छ ।

आइतबार मात्रै लालीगुराँस नगरपालिकाको फुलेक र छथर गाउँपालिकाको आङिदममा ३५ बढी कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवे्श गरेका कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताउनुभयो । छथरका हमरजुङ, फाक्चामारा, पन्चकन्या र सुदापबाट समेत दर्जनौँ कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् ।

 

म्याङलुङ्ग  र आठराईमा प्रचार समिति 

म्याङलुङ्ग नगरपालिका–२ मा भएको नेपाली कांग्रेस कार्यकर्ताको भेलाले वडास्तरीय तरुण दल चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । प्रेम खापुङको सभापतित्वमा गठित तरुण दल चुनाव प्रचार प्रसार समितिको उपसभापतिमा रमेश भण्डारी, सचिवमा गोपाल तामाङ, कोषाध्यक्षमा सुमना तामाङ, सहसचिवमा विनोद श्रेष्ठ रहनुभएको छ । भेला जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फेको आतिथ्यता तथा वडा सभापति निर्मल ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसै गरि तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा आइतबार भएको कांग्रेस कार्यकर्ताको भेलाले वडास्तरीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । भेलाले वडा सभापति सुजनकुमार पाहिमकोे संयोजकत्वमा गठित १ सय १ सदस्यीय प्रचार प्रसार समिति र राजेन्द्र पाहिमको संयोजकत्वमा १ सय १ सदस्यीय तरुण दल चुनाव प्रचार प्रसार समिति गठन गरेको हो ।

भेलामा कांग्रेस तेह्रथुमका युवा नेता हेमन्त गुरुङ, तरुण दलका क्षेत्रीय संयोजक सुमन खापुङ, नेविसंघ जिल्ला सचिव कृष्ण बाँस्कोटा लगायतको सहभागितामा  सम्पन्न भएको थियो । खाम्लालुङ स्थित महेन्द्र माध्यमिक विद्यालयमा कमल हाङश्रोङको अध्यक्षतामा नेपाल विद्यार्थी संघको इकाई समिति समेत गठन भएको छ । समितिको उपाध्यक्षमा मन्जु चोङवाङ र मनोज फोम्बो, सचिवमा दिपा शेर्पा, सहसचिवमा सन्तोष राई र कोषाध्यक्षमा दिपिन स्वो रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू