अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

नेताहरू हैन हाम्रो समाज नैं भ्रष्ट हो !

देवराज न्यौपाने २०७४ मंसिर ४ गते ६:४१ मा प्रकाशित

सन्सारमा सबैभन्दा धेरै भ्रष्टाचारको विरोध गर्ने पनि हामी र सबै भन्दा धेरै भ्रष्टारको समस्या भएका मुलुकहरू मध्येको देश पनि हाम्रै । हामी कानुन त बनाउछौं तर पालना गर्दैनौं । जो चोर उसैकै ठुलो स्वर भने झैँ यहाँ भ्रष्टहरुको ठुलो स्वर हुन्छ । उनीहरूले नैं ठुला आदर्शका गफ दिइराखेका हुन्छन् । अनि हाम्रो समाजले चैँ तिनैंलाई प्रोत्साहन दिइराखेको हुन्छ । किनकि हामी सबै आफैँ भ्रष्ट छौँ र हामी मनमनैं भन्छौं आफू भ्रष्ट भएको कुरो कसैले चाल पाउदैन र चाल पाए पनि केही नापिदैन । भन्छौं म मात्रै हो र? भेट्दा कसले खादैन? हाम्रा जहान केटाकेटी छैनन्? तिनको भविष्यको लागि हो । यतिकै हो र मैंले राम्रो काम पनि त गिरेकोछु नि ! मह काढ्नेले अलेली हात चाटिहाल्छ नि ! मिलाएर गर्ने हो ! दिमाग लाउनु पर्छ के दिमाग ! म त बाठो पो छु त ! मलाई कसैले औला उठाएर त हेरोस्, के गर्न पर्छ मैंले जान्या छ ! तीनलाई के थाहा मेरो पहुँच काँसम्म छ !

अनि यही सिङ्गो समाज जो भ्रष्टाचारको विरोध गरेर पनि थाक्दैन र तीनैं भ्रष्टहरुलाई समर्थन र सम्रक्षण पनि दिइरहन्छ, मलजल गरिरहन्छ । भ्रष्टाचारै गरेर भए पनि पैसावाल छ भने यहाँ भोट मात्र हैन छोरी दिन पनि तछाड मछाड हुन्छ । चिना हेराईरहनु पर्दैन, खड्गाष्ट परे पनि हुन्छ । आफू, आफ्ना नातागोता र आफ्नो स्वार्थपुर्ती गरिदिने नेता चैँ भ्रष्ट भए नि केही फरक पर्दैन तर त्यस बाहेक चैँ कसैले एक पैसा भ्रष्टाचार नगरोस् भन्छौं हामी । भ्रष्टाचारका विरुद्ध आगो ओकल्छौं हामी ! र सबैलाई एउटै आँखाले आफू जस्तै भ्रष्ट देख्छौं हामी ।

कोही साँच्चीकै इमान्दार छ र भ्रष्टाचारलाई खतराको घण्टी बजाउने खालको निस्कियो भने त्यसका विरुद्ध उल्टै आइलाग्छौं र झुटो लान्छना लगाउन थाल्छौं र उसका विरुद्ध षडयन्त्र गर्न थाल्छौं । कुरो बुझ्नेहरु खुइय गर्दै दिक्क मान्छन् र भन्न थाल्छन् यस्तै हो सतीले सरापेको देशमा ! यहाँ भिमसेन थापाहरुको के काम? यहाँ त भ्रष्टलाई माला लगाइन्छ र इमान्दारलाई सुलीमा चढाइन्छ । प्रजातन्त्र छ शासन बहुमतले गर्ने हो र भ्रष्टहरुकै बहुमत भएको ठाउँमा अरू कल्ले गर्ने हो त नि शासन?

यो समग्र भ्रष्ट व्यवस्थापनलाई संरक्षण दिने समाज आफैँ भ्रष्ट हैन र ? सबै किसिमका भ्रष्ट आचरणहरु भ्रष्टाचार हुन् । अनुचित आर्थिक लाभ गर्ने मात्र हैन व्यक्तिगत स्वार्थको लागि पैसा या शक्तिको दुरुपयोग गर्नु या गैर कानुनी काम गर्नु, अनुचित अनैतिक आचरण गर्नु सबै भ्रष्टाचार हो । जति ठुला गफ गरे पनि जवसम्म यो भ्रष्टाचारको महामारीबाट यो देशलाई मुक्त गर्न सकिँदैन विकाश र प्रगतिका कुरा गफै मात्र हुन् ।