अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 00:45

आख्यानकार युवराज मैनाली: एक व्यक्ति अनेक व्यक्तित्व

डा. परशुराम पौडेल

डा. परशुराम पौडेल २०८१ साउन ३१ गते १४:३३ मा प्रकाशित

१. परिचय
युवराज मैनाली (२०१७) को जन्म काभ्रेपलाञ्चोक जिल्लाको कानपुरमा भएको हो । पिता केदारनाथ मैनाली र माता रेवती मैनालीका आठ छोराहरूमध्ये उनी काहिँला छोरा हुन् । आठ दाजुभाइ र तीन दिदीबहिनीसहितको ठुलो पारिवारिक वातावरणमा हुर्केका मैनालीको बाल्यकाल गाउँमै बित्यो । पिता र माता दुवै शिक्षाप्रति विशेष आकर्षित हुनाले सन्तानको शिक्षा प्राप्तिमा निकै ध्यान पुर्‍याएको देखिन्छ । ग्रामीण वातावरणमा हुर्केका मैनाली शिक्षा प्राप्त गर्न भने कहिले कोशीपारिको फलाँटेको शारदा माध्यमिक विद्यालयमा र कहिले धुलिखेलको सञ्जीवनीमा अध्ययनरत रहे । २०३४ सालमा सञ्जीवनी माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि क्याम्पस अध्ययन र शिक्षण सेवा सँगसँगै अघि बढ्यो । दुई वर्षको शिक्षण सेवा अन्त्य गर्दै सरकारी सेवामा प्रवेश गरेका मैनाली विभिन्न कार्यालय र तहमा सेवा गर्दै अघि बढे । सरकारी सेवाका प्रशासनिक कर्मचारीहरू अध्ययन र लेखनमा कमै लाग्छन् । अझ साहित्यिक लेखनको क्षेत्रमा त अत्यन्त सीमित । तिनै सीमितहरूमध्ये एक हुन् मैनाली । सरकारी सेवा र साहित्यिक लेखनलाई समानान्तर रूपमा अघि बढाउन सक्नु मैनालीको मुख्य विशेषता हो । जानपद सेवा पदक, दीर्घ सेवा पदक, भैरव प्रतिभा पुरस्कार, युगान्तर वर्ष साहित्य पुरस्कार, राजीवलोचन जोशी पुरस्कार, अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, रसुवा नागरिक सम्मान, बि.डी.त्यागी हीरक जयन्ती सम्मान दायित्व वाङ्मय सम्मानजस्ता पदक, पुरस्कार र सम्मानबाट सम्मानित मैनाली निवृत्त जीवनको समय अध्ययन र लेखनमै व्यस्त रहँदै आएका छन् । विभिन्न साहित्यिक पत्रिकाका आजीवन सदस्य, संरक्षक र सल्लाहकार रहेका मैनाली नेपाली साहित्यका स्रष्टा र द्रष्टा दुवै हुन् । शिक्षक, प्रशासक, साहित्यकार, सल्लाहकार हुँदै अघि बढेको उनको व्यक्तित्व हाल सामाजिक सेवामा पनि केन्द्रित देखिन्छ ।

२. जीवनका विविध मोडहरू
ग्रामीण क्षेत्रको मध्यम वर्गीय परिवारमा हुर्केका युवराज मैनालीले जीवनका विविध मोडहरूमा मोडिँदै अघि बढ्नु पर्‍यो । त्यसताका पहाडी क्षेत्रमा खान पुग्ने र लाउन पुग्नेलाई मध्यम वर्गीय भनिन्थ्यो । भएको जग्गै बेचेर मोज मस्ती गर्ने भन्ने हुँदैनथ्यो । घर नजिकको विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेर मावली नजिकैको टाढाको विद्यालयमा पुग्नु नै एउटा मोड थियो । घर परिवारको माया ममताबाट टाढिनुपर्दा सहज कसैलाई पनि हुँदैन । हो, मावली मायाको अर्को घर भनिन्छ, तर घरको मायालु वातावरणको अभाव पनि त रहन्छ । कक्षा आठसम्म त्यहाँ, अध्ययन गरेका मैनालीको अर्को विद्यालय रह्यो धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालय । प्रवेशिकापछि रत्नराज्य क्याम्पसमा अध्ययन र पेट पाल्ने शिक्षण सेवा अर्को मोड हो । सरकारी सेवामा प्रवेशलाई पन नेपालको सन्दर्भमा एउटा मोड मान्नुपर्ने हुन्छ । सरकारी सेवाले एउटा स्थायित्व दिन्छ र दिन्छ जीवन डो¥याउने एउटा भर पनि । २०४८ सालमा अन्जु गजुरेलसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि फेरि अर्को जीवनको मोड शुरु हुन्छ । उत्प्रेरणा, पदोन्नति, सरुवा, आदेशको परिपालन, निर्णय लिनुपर्दाको जटिल अवस्था यी सरकारी सेवामा रहँदा मोड सिर्जना गर्ने विविध पक्षहरू हुन् । साहित्यकार मैनालीले ती पक्षहरू कति खुसीले र कति दुःखले पार गरे । २०६४ सालमा पिता केदारनाथ मैनालीको देहावसानको युवराज मैनालीलाई पार्नु चोट पारेको थियो । यस्ता अनेकौँ सुख दुःखका मोडहरू पार गर्दै निवृत्त जीवन सामाजिक सेवा र कलमजीवी भएर बिताउँदै छन् मैनाली ।

३. प्रेरणा
जीवनलाई अघि बढाउने क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष प्रेरणाको महŒवपूर्ण भूमिका रहन्छ । साहित्यकार युवराज मैनालीले आफ्ना पिता, मामा र दाजुहरूबाट अध्ययन र राष्ट्रसेवामा लाग्ने प्रेरणा पाएको देखिन्छ । क्याम्पसमा अध्ययन गर्दा नै उनको साहित्यतिरको झुकाउ सहपाठी यो पंक्तिकारले देखेको हो । हामी रमाउँदै र ठट्टा गर्दै चिया खान्थ्यौँ र छोटो समय बिताउँथ्यौँ । उनले त ‘मुर्दा बोल्यो’ कथासङ्ग्रह तयार पारेर नाटककार बालकृष्ण समबाट भूमिका÷मन्तव्य पो लेखाइसकेछन् । त्यो सामाजिक यथार्थमा आधारित कथासङ्ग्रह थियो । यसमा अप्रत्यक्ष प्रेरणा चाहिँ गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहको थियो भन्ने लाग्छ । प्रतिभाशाली र कल्पनाशील व्यक्तिलाई प्रेरणा सृष्टिको कारण बन्न पुग्छ । प्रतिभा, वातावरण र अभ्यासका साथसाथै केही वा कसैले भरिदिने जोशजाँगर अनि देखाइदिने बाटोले पनि सुन्दर परिणाम ल्याइदिन्छ । त्यो परिणाम हो साहित्यकार मैनालीको साहित्यिक लेखन । बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद सर्वहारा र भवानी घिमिरेबाट प्रेरणा पाएको जानकारी (व्यक्तिगत कुराकानी १० असोज, २०८०)मैनालीले दिएका छन् । साहित्यिक चेत भएका व्यक्तिहरूलाई सामाजिक परिवेशले लेखनतिर घच्घच्याउँछ । समाजभित्रका सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, नैतिक आदि क्षेत्रका विकृति र विसङ्गतिलाई स्रष्टा टुलुटुलु हेरेर बस्दैन । ऊ शाब्दिक कलामा उतार्छ । त्यो शाब्दिक कला आख्यान होस् वा कविता । मैनालीले भने कविता, कथा, लघुकथा, लघुतम कथा, हास्यव्यङ्ग्य र निबन्धका माध्यमबाट उतारेका छन् । सिर्जनात्मक लेखनमा मात्र होइन, साहित्यिक द्रष्टा व्यक्तित्वलाई पनि माथि उठाएका छन् । नेपाली समाज र त्यसभित्रको विविध परिवेश उनका प्रेरणाका आधार हुन् भन्दा अत्युक्ति हुने छैन ।

४. लेखन विशेषता:
युवराज मैनालीको लेखन विशेषता विधागत र समग्र रूपमा हेर्नुपर्ने हुन्छ । उनको प्रारम्भिक लेखन सामाजिक यथार्थमा आधारित छ । समाजभित्र व्याप्त, असमानता, शोषण, विकृति र विसङ्गति, चरम गरिबी, अन्याय, अत्याचार जस्ता विषयहरू समेटिएका छन् । ‘मुर्दा बोल्यो’ कथासङ्ग्रह उनको विधागत लेखनको पहिलो पाइलो हो । बाह्र वटा कथाहरूको यो सङ्ग्रह आधारमा उनको लेखन विशेषता सामाजिक यथार्थ नै हो । संरचनाका आधारमा आदि, मध्य र अन्त्यमा दृष्टिले मात्र होइन, त्यसभित्र रहने सार, अभिमुखीकरण, द्वन्द्व, द्वन्द्व समाधान र विचारको तालमेल पनि देखिँदैन । यो लेखनको उत्कट इच्छामा आधारित अभ्यास देखिन्छ । कथा लेखनको दोस्रो चरणमा लेखनले क्रमशः परिपक्वता पाएको छ । मूलतः व्यङ्ग्यात्मकता, प्रयोगशीलता, काव्यात्मकता र मौलिकता सिर्जनात्मक लेखनका विशेषताहरू हुन् । समालोचनात्मक लेखन भने बढी प्रभाववादी देखिन्छ । वस्तुपरकतामा भन्दा परम्परित प्रभाववादी समालोचनाको प्रभावले नवीनताको कमी रहेको छ । नेपाली साहित्य लघुकथाको इतिहास साह्रै छोटो छ । आज लेखिने कथालाई कथा लघुकथा र लघुतम कथा गरी तीन भागमा वर्गीकरण गर्नुपर्ने हुन्छ । लघुकथा र लघुतम कथा आजका प्रयोग धर्मी कथाहरू हुन् । यस्ता कथाहरू पश्चिमी जगत्मा पहिल्यै शुरु भएका हुन् । तोल्सतोयका कथाहरू नेपाली भाषामा पनि अनुवाद भएका छन् । उनका अति छोटा कथाहरूलाई लघुतम कथा भनिएको छ (अर्याल, २०७९) । मैनालीका लघुकथाहरू पनि संरचनाका दृष्टिले तुलनीय छन् । यो उनको प्रयोगशीलता हो र एउटा लेखन विशेषता ।

५. कृति र कृतिगत विशेषता
साहित्यकार युवराज मैनालीको लेखन–यात्रा २०३७ सालबाट प्रारम्भ भएको देखिन्छ । यो प्रकाशित कृतिका आधारमा हो । त्यसअघि सिर्जित कृतिहरू पनि होलान्, पाण्डुलिपिका रूपमा । २०३७ देखि अहिलेसम्म प्रकाशित भएका कृतिहरू सङ्ख्यात्मक रूपमा सीमित देखिन्छन् तर गुणात्मक रूपमा होइन । प्रशासनिक सेवामा रहेर पनि साहित्य सिर्जनामा लाग्नु नै ठुलो कुरा हो । उनका प्रकाशित साहित्यिक कृतिहरू हुन्—

५.१ कृतिहरू:
* मुर्दा बोल्यो (कथासङ्ग्रह) २०३७
* केही प्रतिभा केही प्रवृत्ति (समालोचना सङ्ग्रह) २०४२
* भ्रष्टाचारको भाङ (व्यङ्ग्य निबन्ध सङ्ग्रह) २०६५
* समको पौराणिक नाट्य कौशल (समालोचना सङ्ग्रह) २०६९
* कर्मयोगी देवकोटा: महाकाव्यको विश्लेषण (समालोचना सङ्ग्रह) २०६९
* पृथक् बाटो (लघुकथा सङ्ग्रह) २०७५
* दृष्टि: दृष्टिकोण (समालोचना सङ्ग्रह) २०७९

प्रस्तुत कृतिहरूका अतिरिक्त मैनालीका फुटकर कथा, कविता, निबन्ध र समालोचनाहरू प्रकाशित छन् । केही न केही लेखेर आफूलाई व्यस्त राख्न रुचाउने साहित्यकार मैनाली प्रकाशनकै लागि हुरुक्कै हुने व्यक्तित्व चाहिँ होइनन् । यसका लागि समय र परिस्थितिले तालमेल मिलाइदिनुपर्छ ।

५.२ कृतिगत विशेषता
‘मुर्दा बोल्यो’ कथाकार मैनालीको पहिलो प्रकाशित कृति हो । उनका प्रकाशित कृतिहरूलाई दुई चरणमा विभाजन गरिएको पाइन्छ (भण्डारी, २०७८ः२५) । २०३५ देखि २०६५ सम्म पहिलो चरण र २०६६ देखि हालसम्म दोस्रो चरण । प्रस्तुत कृति पहिलो चरणको पहिलो कृति हो । लेखन यात्राका दृष्टिले यो महत्वपूर्ण छ, तर संरचना र रूप विन्यासका दृष्टिले भने होइन । तत्कालीन शैक्षिक परिवेशको प्रवीणता प्रमाण–पत्र तहमा अध्ययन गर्दागर्दै सामाजिक समस्याहरूलाई टपटप टिपेर कथा लेख्न सक्नु उनको प्रतिभाको परिणति हो ।

यो कथासङ्ग्रहभित्र ‘महाकाल’ ‘राष्ट्रको बजेट’, ‘सोनिया’, ‘कालो बिरालो’, ‘मुर्दा बोल्यो’, ‘तेरी स्वास्नी पठाइदे’, ‘लाज’, ‘लोभी डाक्टर’, ‘अँध्यारो मनोरञ्जन’, ‘बहुलाहा’ र ‘गोब्रे बाबुसाहेब’ कथाहरू सङ्ग्रहित छन् । तत्कालीन समाजभित्रकै विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गर्दै सुधारको आग्रह गर्नु उनको कथाकारिता हो । वर्गीय भेद, अन्याय, शोषण, दयनीय आर्थिक अवस्था, अन्धविश्वासजस्ता निम्न वर्गीय समाजले भोग्नुपरेका समग्र समस्यालाई कथामा चित्रण गर्नु उनका विशेषताहरू हुन् । यसका आधारमा सामाजिक यथार्थ र प्रगतिशीलता उनका दुई मुख्य लेखन, विशेषता रहेका छन् । जहाँसम्म उत्कृष्टता खोज्ने विषय छ, त्यो प्रारम्भिक लेखनमै संरचना र रूपविन्यासगत पूर्णता खोज्नु चाहिँ उपयुक्त ठहरिँदैन ।

‘पृथक् बाटो’ कथाकार मैनालीको दोस्रो कथासङ्ग्रह हो । कथाकार गुरुप्रसाद मैनालीबाट शुरु गरिएको सैद्धान्तिक आन्वितियुक्त कथा लेखनको पछि हिँडेका युवराज मैनालीले त्यो बाटो चटक्कै छोडेर लघुकथा लेखनको बाटो किन हिँडे ? सङ्ग्रहको मन्तव्यमा कुनै उल्लेख छैन । यसमा २३३ लघुकथाहरू सङ्ग्रहित छन् । सबै कथा आयतनका आधारमा समान छैनन् । छोटा र अत्यन्त छोटा रूपमा संरचित यी कथाहरूलाई लघुकथा र लघुतम कथा गरी दुई भागमा वर्गीकरण गर्नु उपयुक्त देखिन्छ । उनका लघुकथाहरू एक पृष्ठमा अन्त्य भएका छन् । यसको अर्थ कथाको आरम्भ उत्कर्ष र अन्त्यले बढी समय लिनु हो । लघुतम कथाहरूले लिने समय, शब्द र सन्देश अत्यन्त न्यून रहन्छ । तीव्र गतिमा आरम्भ उत्कर्ष र अन्त्य यसका विशेषता हुन् । प्रयोग धर्मी हुनु यस्ता कथाको अर्को विशेषता हो । उनको लघुतम कथा ‘खोज’ चार वाक्यमा अन्त्य भएको छ ।

मैनालीका लघु र लघुतम कथालाई विषयवस्तुको आधारमा सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक गरी पाँच भागमा वर्गीकरण गरिएको पाइन्छ (भण्डारी २०७८ः३४) । यी सबै यथार्थमै आधारित छन् । सामाजिक यथार्थका ४१, राजनीतिक यथार्थहरू १८, मनोवैज्ञानिक यथार्थका १२, आर्थिक यथार्थका ८ र शैक्षिक तथा सांस्कृतिक यथार्थका ६ वटा रहेका छन् । त्यस्तै प्रयोगशील कथाहरू ७४ र व्यङ्ग्य प्रधान ७४ गरी जम्मा २३३ कथाहरू विविध क्षेत्रमा विभाजित छन् । जुनसुकै क्षेत्रगत विषयवस्तु भए पनि यथार्थ, प्रयोगशीलता र व्यङ्ग्य कथाकार मैनालीका लेखन विशेषता हुन् ।

कथाकार मैनालीका लघुकथामा सामाजिक यथार्थमा आधारित कथाहरू निकै मार्मिक र हृदयस्पर्शी छन् । समाजभित्रका विकृत र विसङ्गत पक्षलाई रुसी कथाकार ताल्स्तोइले जसरी चित्रण गरेका छन्, मैनालीले पनि त्यसरी नै गरेको देखिन्छ । हेरौँ, दुवै कथाकारका एक–एक लघुकथा—

पुरस्कार:
एउटा किसानले महँगो पत्थर फेला पार्‍यो र त्यो राजाकहाँ लगिदियो ।
राजाको दरबारमा ऊ आयो र उनका सेवकहरूलाई सोध्न लाग्यो, राजालाई कसरी भेट्ने भनेर ।
एउटा राजसेवकले सोध्यो,“उसलाई किन चाहियो राजा ?” किसानले वृत्तान्त भन्यो,
“ठीक छ, म राजालाई भनुँला, मात्र मलाई त्यसको आधा दे, जे देलान् राजाले तँलाई ।”
किसानले वाचा गर्‍यो । सेवकले राजासामु जाहेरी ग¥यो । राजाले पत्थर लिएर भने,
“किसान तिमीलाई के पुरस्कार दिने ?” किसानले भन्यो—“मलाई पचास कोर्रा दिनुहोस्, चाहदिनँ मलाई अर्काे कुनै पुरस्कार । मात्र मेरो एउटा सम्झौता छ, तपाईंको सेवकसँग, पुरस्कार आधा–आधा बाँड्ने । यसरी मलाई पच्चीस अनि उसलाई पच्चीस ।” राजा मुसुक्क हाँसे र सेवकलाई निकालिदिए, अनि किसानलाई चाहिँ हजार रुबल दिए । (ताल्सतोइको प्रा.डा. बलराम अर्यालद्वारा नेपाली भाषामा अनुदित कथा, ‘पुरस्कार’(बसिबियाँलो: पृ. १८८)

नैतिकता:
अस्ति भर्खरको कुरा हो । मेरो चोकको निकास बन्द भएकाले मागेको जति पैसा दिएर खोल्न लगाएको । तर खोइ, पाँच दिन नबित्दै फेरि बन्दको बन्दै ।

यस्तो किन भयो ?
पहिल्याउँदै जाँदा एउटा रहस्य फेला पर्‍यो । जसले सबैको अगाडि निकास खोलेर बहादुरी देखाएको थियो, उसैले कोही नभएको मौकामा फेरि बन्द गरेर गएको थियो । यसकारण कि निकास खोलेको बहाना गरेर सुटुक्क बन्द गर्नुमा उसको मौलिक चरित्र लुकेको थियो । त्यो चरित्रको अर्काे नाम थियो, धन्दा । अर्थात्, कमाई गर्ने धन्दा ।
उसको यस्तो धन्दा देखेर म मनमनै गुनिरहेछु, देशको अहिलेको निकासको चाला पनि यस्तै यस्तै हो कि !
मैनाली,‘पृथक बाटो’(पृ. ११९)

प्रस्तुत दुवै कथामा विसङ्गगत पक्षको चित्रण छ । समाजमा त्यस्ता पात्रहरू असङ्ख्य छन्, जो नैतिकतालाई पर राखेर कमाउने धन्दामा लाग्छन् । ताल्स्तोइको राजसेवक र मैनालीको निकास खोज्ने अमुक पात्रको चरित्रमा कुनै भिन्नता छैन । दुवैले आर्थिक स्वार्थका लागि अनैतिक कार्य गरेका छन् । यी दुई लघुकथाको भिन्नता भनेको प्रस्तुतीकरणको शैली हो । ताल्स्तोइले आफ्ना पात्रहरूलाई बोल्न लगाएर संवाद सिर्जना गरेका छन् भने मैनालीले तेस्रो पुरुष दृष्टिविन्दुमा आफैले कथा भनेका छन् । पात्र बोल्दा कथा जति सशक्त हुन्छ, कथाकार आफैले भन्दा त्यति प्रभावकारी हुन सक्तैन । सामाजिक समस्याको प्रस्तुतीकरणमा भने यी दुवै कथा निकै नजिक देखिन्छन् । ताल्स्तोइले कथालाई वैचारिक समाधानमा पुर्‍याएका छन् भने मैनालीले समस्या देखाएर समाधान खोज्न छोडिदिएका छन् । यसरी समस्या देखाएर लघुकथा प्रस्तुत गर्नु मैनालीको लेखन विशेषता हो । जे होस् दुवै कथाको सन्देश मिल्नु चाहिँ एउटा संयोग हो ।

कथाकार मैनालीका कतिपय कथामा स्वैरकल्पनाको प्रयोग पनि पाइन्छ । यो कुनै कथात्मक अवयव त होइन, तर प्रस्तुतीकरणको भिन्न शैली चाहिँ अवश्य हो । ज्याक्सनको भनाइलाई सन्दर्भ मान्दै सारा जी. जोन्सले स्वैर कल्पनालाई मूलतः काल्पनिक विधा मानेकी छिन् (२००५ः१६१) । काल्पनिक शैलीमा व्यक्ति, समाज र विश्वपरिस्थितिलाई चित्रण गर्ने एउटा प्रक्रिया हो, यो । मैनालीले पनि आफ्ना लघुकथामा राम्रो प्रयोग गरेका छन् । उनको ‘प्रतिस्पर्धा’ स्वैरकल्पनाको उत्कृष्ट नमुना हो । काल्पनिक प्रक्रियाबाट विश्वपरिस्थिति देखाउँदै सचेत गराउनु यो लघुकथाको सन्देश हो ।

कथाकार मैनालीका लघुकथाहरू प्राक्सन्दर्भबाट पनि उत्तिकै पोषित छन् । उनका ‘आजका अर्जुन’ ‘कमाल’, ‘नयाँ युग’ कथाहरूमा प्राक्सन्दर्भको प्रयोग पाइन्छ । प्राक्सन्दर्भलाई प्रयोग गरेर स्वैर कल्पनाको सहारा लिँदै सामाजिक विकृति र विसङ्गतिलाई देखाउनु उनको विशेषता हो । उनका सन्दर्भहरू प्रायः पौराणिक कथामा आधारित छन् । लघुकथामा यस्तो प्रयोगले पाठकलाई घुमाउरो प्रक्रियाबाट विचारसम्म पुग्न आग्रह गर्छ । ‘पृथक् बाटो’ कथासङ्ग्रहका लघुकथाहरू यस आधारमा पनि उत्कृष्ट देखिन्छन् ।

जुनसुकै साहित्यिक विधा भाषिक प्रयोग पनि हो । लघुकथामा पनि चयनका आधारमा भाषाकै प्रयोग हुन्छ । सम्बोधित पक्षसम्म विचार सम्प्रेषणका लागि सम्बोधकले कस्तो भाषा प्रयोग गर्छ, त्यो नै भाषिक प्रयोग हो । सम्बोधक स्रष्टा हुन पनि सक्छ र पात्र पनि । प्रयोग गरिएको भाषा सरल व्याकरणिक वा आलङ्कारिक जुनसुकै वा मिश्रित पनि हुनसक्छ । कथाकार मैनालीका लघुकथाहरूमा आलङ्कारिक वा काव्यात्मक भाषाको पनि उत्तिकै प्रयोग देखिन्छ । ‘प्रतीक’, ‘आस्था’, ‘के छ के छैन’, ‘गन्तव्य’, ‘चलन’, ‘तस्वीर’ ‘प्रवृत्ति’, ‘भ्रम’ जस्ता कथाहरूमा काव्यात्मक भाषाको अधिक प्रयोग देखिन्छ । उनको काव्यात्मक भाषा प्रयोगलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ,, सहज र सचेत वा दबाब सिर्जित । जे होस्, मैनालीका लघुकथाहरू धेरथोर काव्यात्मक भाषाबाट कुनै पनि मुक्त छैनन् । उपमा, रूपक, प्रतीक, व्यङ्ग्य, ध्यन्यात्मक आवृत्ति, उक्ति, उखान, टुक्का आदिको प्रयोगले उनको भाषा काव्यात्मक बन्न पुगेको देखिन्छ ।

समग्रमा कथाकार युवराज मैनालीको ‘पृथक बाटो’ लघुकथा सङ्ग्रहभित्रका कथाहरू सामाजिक विकृति र विसङ्गतिको चित्रणमा निकै सशक्त देखिन्छन् । प्रयोगधर्मीता, व्यङ्ग्यात्मकता, काव्यात्मकता, विषयतग विविधता, प्रतीकात्मकता र नवीनता उनका मुख्य लेखन विशेषताहरू हुन् । आजको व्यस्त जीवनका व्यस्त पाठकहरूलाई छोटो समयमा आनन्द र गहिरो विचार दिन कथाकार मैनालीले लघुकथाको माध्यमबाट दिएको योगदान निकै प्रशंसनीय छ ।

६. नेपाली हास्याव्यङ्ग्य लेखन र मैनाली
नेपाली भाषामा व्यङ्ग्य कहिलेदेखि शुरु भयो ? यो प्रश्नको उत्तर ठोकुवा गरेर दिन सजिलो छैन । लिखित साहित्य शुरु हुनुभन्दा अघि नै यसको स्थान थियो, यो चाहिँ अवश्य हो । उखान, टुक्का, घोचपेच, छेडहान, आक्षेप आदि आजको उपलब्धि होइन । परापूर्व कालदेखि नै भाषिक व्यवहारमा प्रयोग हुँदै आएको हो । पूर्वीय साहित्य परम्परामा काव्यभित्र व्यङ्ग्यले अलङ्कारका रूपमा स्थान पाएको देखिन्छ । पछि आएर रीति, बक्रोक्ति र ध्वनिवादीहरूले व्यङ्ग्यलाई निकै मलजल गरे । जे होस्, अलङ्कारवादी हुन् वा रसवादी, ध्वनिवादी हुन् वा रीतिवादी सबैले व्यङ्ग्यलाई स्वीकार गरेका छन् । बक्रोक्तिवादी कुन्तकले त व्यङ्ग्यलाई सृष्टिको आत्मा नै मानेका छन् (भण्डारी, २०५५ः७४०) । यो भयो पूर्वीय परम्परामा व्यङ्ग्यको कुरा । पाश्चात्य परम्परामा पनि ‘आइरनी’ र ‘सटायर’ शब्द व्यङ्ग्यको समानार्थी भएर प्रयोग भएको देखिन्छ । ‘आइरनी’ सूक्ष्म व्यङ्ग्य मानिन्छ भने ‘सटायर’ ठाडो र कडा व्यङ्ग्य मानिन्छ (सुवेदी २०५४ः१९१) कुनै रूप वा विधागत भनाइलाई बिगारेर अर्काे रूपमा प्रस्तुत गरी हास्यव्यङ्ग्य सिर्जना गर्ने परम्परा पनि छ । यो प्रक्रियालाई प्यारोडी अर्थात् नक्कलबाट हास्य र व्यङ्ग्य सिर्जना भन्न सकिन्छ । नेपाली साहित्यमा प्रयोग भएको हास्यव्यङ्ग्य चाहिँ पश्चिमी परम्पराको ‘आइरनी’ को नजिक छ । यो साहित्य वा शाब्दिक कलामा मात्र प्रयोग हुने होइन, अशाब्दिक कलामा पनि उत्तिकै प्रयोग हुन्छ ।

नेपाली व्यङ्ग्य लेखनको परम्परा धेरै लामो छैन । मौखिक वा गाईजात्राको परम्परालाई छोडेर हेर्ने हो भने शक्तिबल्लभ अर्यालदेखि वर्तमानसम्म समेटेर हेर्नु पर्ने हुन्छ । भानुभक्त आचार्यको काव्यात्मक व्यङ्ग्य उत्तिकै प्रसिद्ध छ । सामान्य मनोरञ्जनका लागि लेखिएकादेखि राष्ट्रमा व्याप्त असमानता, अन्याय–अत्याचार, भ्रष्टाचार, शोषणजस्ता सामाजिक विकृति र विसङ्गतिलाई आधार बनाएर लेखिएका अनेकौँ लेखन र निबन्धहरू छन्, नेपाली साहित्यमा । गद्य र पद्य दुवै विधामा हास्य–व्यङ्ग्यले राम्रो स्थान पाउँदै आएको छ । यो क्षेत्रका व्यङ्ग्यविनोदी प्रसिद्ध स्रष्टाहरू प्रेमराज शर्मा, वेदनिधि शर्मा, केशवराज पिँडाली, भैरव अर्याल, भूपि शेरचन, बालमुकुन्ददेव पाण्डे, वासुदेव लुइँटेल, रामकुमार पाँडे, आदि प्रसिद्ध छन् । अभिनय र प्रहसन कलामा मह जोडीलाई कसैले पछि पार्न सकेका छैनन् । हास्य र व्यङ्ग्यलाई समानान्तर रूपमा अघि बढाउन सक्ने क्षमता भने भैरव अर्यालमा जति अरू कुनै स्रष्टामा देखिएन । आशा गरौँ, भविष्यमा उदाउलान् ।

७.१. भ्रष्टाचारको भाङ
नेपाली साहित्यमा उदाएका हास्य–व्यङ्ग्यकार युवराज मैनाली यो विधाका स्थापित भइसकेका छन् । उनको व्यङ्ग्य चेतले ‘भ्रष्टाचारको भाङ’ कृति जन्माएको छ । नेपाली समाजमा व्याप्त राजनीतिक, सामाजिक र आर्थिक विसङ्गति, नैतिक स्खलन, धार्मिक आडम्बर, चरम भ्रष्टाचार, अन्याय, अत्याचार जस्ता विषयले उनको लेखनमा स्थान पाएका छन् । सीमित योगदानबाट असीमित मान सम्मानका लागि हुरुक्क हुने लेखक, प्रशासनिक क्षेत्रका घीनलाग्दा क्रियाकलाप, राजनीतिक क्षेत्रका डरलाग्दा घातप्रतिघात र षडयन्त्र, शैक्षिक क्षेत्रको न्यून गुणात्मकता, संस्कृति र संस्कारमा आएको विचलन, राष्ट्रियतामा लागेको खडेरीदेखि समग्रमा मानव मस्तिष्कमै आएको विकृति र विसङ्गतिको उल्लेख पाइन्छ यो कृतिमा ।

प्रस्तुत कृतिमा ३८ वटा हास्य व्यङ्ग्यात्मक लेखहरू समेटिएका छन् । सबै लेखहरू उत्तिकै गुणात्मक छन् भन्ने होइन र हुन सक्ने कुरा पनि होइन । लामो अवधिसम्म नेपाल सरकारको प्रशासन सेवामा रहेर अनुभव सँगालेका व्यङ्ग्यकारले नेपाली समाजका आँखा बिझाउने विकृति र विसङ्गतिलाई औँल्याएका छन् । उनका हास्यव्यङ्ग्य लेखनलाई मूलतः शाब्दिक, नाटकीय र प्राक्सान्दर्भिक गरी तीन भागमा विभाजन गर्न सकिन्छ ।

(क) शाब्दिक व्यङ्ग्य:
साहित्यमा बहुप्रचलित व्यङ्ग्यमा शाब्दिक व्यङ्ग्य नै देखिन्छ । काव्यमा होस् वा आख्यानमा, स्रष्टाहरू यसलाई बढी प्रयोग गर्न रुचाउँछन् । यो व्यङ्ग्यमा शब्द र अर्थको साथसाथै, शब्द र सत्यको अन्तर रहने गर्छ (पौड्याल, २०७५ः१२६) । यसमा वक्ताले शब्दका माध्यमबाट प्रस्तुत गरेको अर्थ प्रत्यक्ष भनिने भन्दा फरक हुन्छ । यो आख्यानमा विचरा सम्प्रेषणको एउटा आकर्षक शैली पनि हो । यसको धर्म आख्यानलाई प्रतिवेदन जस्तो हुनबाट रोकी रूपविन्यासयुक्त बनाउनु मानिन्छ । हेरौँ, मैनालीको शाब्दिक व्यङ्ग्यको एक उदाहरण:

आदर्शका पोका र नैतिकताको पुस्तक डोकाका डोका चाटेर केही हुनेवाला छैन । ढाँट छल मात्र हैन, आतङ्क बल सबै सबै निकालेर भए पनि बल सञ्चय गर्नुहोस्— धन सञ्चयका लागि । कृष्ण धनम् सर्वधनम् प्रधानम्….।

‘भ्रष्टाचारको भाङ’(पृ. ९०)
आजको नेपाली समाज आदर्श र नैतिकताको समाज रहेन । सबै प्रकारको बल प्रयोग गरेर सम्पत्ति कमाउनु इज्जत हो, प्रतिष्ठा हो र नेपाली सभ्यता हो । विद्या नै सबै धनहरूभन्दा सर्वश्रेष्ठ धन हो भन्ने परम्परागत मान्यतामा खिया लागिसकेकोतर्फ सङ्केत गर्दै व्यङ्ग्यकार मैनालीले कालो धनप्रतिको आकर्षणलाई चर्काे व्यङ्ग्य गरेका छन् । प्रस्तुत उद्धरणमा एकातिर शाब्दिक व्यङ्ग्य छ भने अर्कातिर प्राक्सान्दर्भिक व्यङ्ग्य प्रयोग भएको देखिन्छ । त्यस्तै चोखो शाब्दिक व्यङ्ग्यको अर्काे उदाहरण हेरौँ—
….यो चेपमा मान्छे आज हवाइजहाज पचाउन सक्छ, जङ्गल हसुर्न सक्छ, जमिन च्याप्न सक्छ, युग निल्न सक्छ, देशका देशै हसुर्न सक्छ….।

‘भ्रष्टाचारको भाङ’(पृ. २)
आजको मान्छे विकृत मानसिकताबाट ग्रस्त छ । ऊ भ्रष्टाचारमा यति लिप्त छ कि, पैसाका लागि जतिसुकै अनैतिक काम गर्न पनि पछि पर्दैन । व्यङ्ग्यकारले नेपालमा व्याप्त भ्रष्टाचारका काण्डैकाण्डप्रति सङ्केत गरेका छन् । यो शाब्दिक व्यङ्ग्यको सशक्त प्रस्तुति हो । यस प्रकारका शाब्दिक व्यङ्ग्य हरेक शीर्षकका लेखहरूमा व्याप्त छन् ।

(ख) प्राक्सान्दर्भिक व्यङ्ग्य:
प्राक्सान्दर्भिक व्यङ्ग्यलाई नाटकीय आख्यान लेखनमा स्तरीय व्यङ्ग्य मानिन्छ । यो अन्तर्पाठात्मक हुन्छ । व्यङ्ग्य सिर्जना गर्नका लागि कुनै बाहिरी पाठ ग्रहण गरिन्छ । सामान्य उखान, उक्ति, उद्धरणदेखि लामो अनुच्छेद पनि सन्दर्भमा आउन सक्छ । लेखकीय विचार र सन्दर्भको मिश्रण हो, यो व्यङ्ग्य निर्माण पक्रिया (मन्टगोमरी आदि, १९९२ः१५४) । यस्तो व्यङ्ग्य बुझ्न पाठक पनि स्तरीय हुनुपर्छ । व्यङ्ग्यकार मैनालीले आफ्ना व्यङ्ग्य लेखनमा प्राक्सान्दर्भिक व्यङ्ग्यको प्रयोग पनि गरेका छन्, हेरौँ एक उदाहरण:

बच्चनले मधुशाला भनेर भट्टी नै उठाए । रक्सी अपहेलित भए पनि ह्विस्की, रम, वाइन कक्टेलको सम्मानमा छाती र मस्तिष्क तन्काएका तन्कायै छन् मनुवाले । कोही भन्छन् आरा आहा ! अनौठो त तिम्रो सहारा । टोष्ट प्रस्ताव कूटनैतिक सम्मान अल्झिन्छ जानाजान….।

– ‘भ्रष्टाचारको भाङ’(पृ. ७२)
नेपाली समाजमा मदिराप्रतिको आकर्षण र त्यसले पारेको नकारात्मक प्रभाव देखाउन व्यङ्ग्यकारले भारतीय प्रसिद्ध कवि हरिवंश राय बच्चनको कृति ‘मधुशाला’ सम्म पुर्‍याएका छन् । बच्चन र उनको कृति प्राक्सन्दर्भका रूपमा प्रस्तुत गरिएको छ । व्यङ्ग्य विचारको वाहन सन्दर्भ हुन्छ र पाठकलाई अलमल्याउँछ । सन्दर्भ ज्ञात छ भने त समस्या भएन, अज्ञात स्थितिमा पाठकहरू पढ्छन् तर नबुझ्दा त्यसै छोडिदिन्छन् । तसर्थ प्राक्सान्दर्भिक व्यङ्ग्य सामान्य पाठकका लागि होइन । लेखकले म कसको लागि लेख्दै छु भन्ने निर्णयमा पुगेर मात्र यस्तो व्यङ्ग्यमा हात हाल्नु उपयुक्त ठहरिन्छ ।

(ग) नाटकीय व्यङ्ग्य

नाटकीय व्यङ्ग्यलाई स्थितिजन्य व्यङ्ग्य पनि मानिन्छ । यस्तो व्यङ्ग्यमा अनुभूति पक्ष अत्यन्त सबल भएर आउँछ । यसमा खिसीटिउरी, वियोग वा संयोग, व्यक्तिगत दृष्टिकोण, भावनात्मकता, ईर्ष्याजस्ता अमूर्त विषयहरूले ठाउँ पाउँछन् । भाग्यवादी सोचमा अल्झिएको नेपाली समाजमा नियतिले पनि उत्तिकै स्थान पाएको छ । व्यङ्ग्यवाद, यस प्रकारको व्यङ्ग्य कुन हदसम्म प्रयोग गर्छ भन्ने कुरा उसको व्यङ्ग्य सीप र उसले अपनाएको विषयमा निर्भर हुने गर्छ । व्यङ्ग्यकार मैनालीले आफ्ना व्यङ्ग्यहरूमा अत्यन्त न्यून रूपमा नाटकीय व्यङ्ग्य प्रयोग गरेका छन्, हेरौँ

एक उदाहरण:
शुद्ध व्यापारी म्यानेजर मलाई देख्नासाथ दौडेर आई भन्न थाल्यो— हजुर के गर्नु ? यी महिलाहरूले सिसा फुटाएर, टेबल मेच भाँचेर विपतमा पारे, पत्रकार उही, विषय उही, आधी मञ्च नारीको, आधी मञ्च पुरुषको, समावेशी उदाहरण हजुर, समावेशी उदाहरण ! …।

‘भ्रष्टाचारको भाङ’ (पृ. ७०)
व्यङ्ग्यकारले यहाँ त्रासपूर्ण वातावरण सिर्जना गरेका छन् । विकृति त नेपाली समाजकै हो । समावेशिताको नाममा राजनीतिक भाँडभैलो देखाइएको छ । यसमा यहाँ कर्तव्य र दायित्व प्रतिको बोध नहुनु, स्वार्थमा चुर्लुम्म डुब्नु, पदलोलुप हुनु जस्ता राजनीतिक विकृतिलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ । ‘बन्ने हो कि राष्ट्रपति ?’ शीर्षकमा आएका व्यङ्ग्यहरू पूर्ण रूपमा नाटकीय नभए पनि छनकका रूपमा भने आएका छन् ।

‘भ्रष्टाचारको भाङ’ भित्रका समग्र व्यङ्ग्य लेखहरूलाई हेर्दा शाब्दिक व्यङ्ग्यको अधिकता, नाटकीय र प्राक्सान्दर्भिक व्यङ्ग्यको न्यूनता देखिन्छ । ‘बन्दको प्रबन्ध, ‘भ्रष्टाचारको भाङ’ ‘चिन्तन मन भित्रको’, ‘साधक सम्मान मण्डली’,‘आत्मकथा रक्सीको’, ‘कृष्णधनम् सर्व धनम् प्रधानम्’, ‘पत्रकार जय जयकार, ‘पुच्छरको चमत्कार’ ‘आत्ममŒवाय स्वाहा’ जस्ता लेखहरूमा शीर्षकबाटै व्यङ्ग्यमा काल्पनिकताको प्रगाढता देखिन्छ । ‘बन्दको प्रबन्ध’, ‘पुच्छरको चमत्कार’, ‘कलि त कलि नै हो बा !,‘जय सत्ता जय नेता !’ र ‘टोपी टोपी टोपी !’ मा अत्यधिक कल्पनाको प्रयोग भएको छ । उच्च प्रयुक्तिको प्रयोग, जटिल वाक्यात्मक संरचना, लामा लामा अनुच्छेद योजना र व्यङ्ग्यको तुलनामा हास्यको न्यूनताले गर्दा ‘भ्रष्टाचारको भाङलाई ‘हास्यव्यङ्ग्य’ भन्नुभन्दा व्यङ्ग्यै व्यङ्ग्य भन्नु उपयुक्त ठहरिने देखिन्छ । प्यारोडी अर्थात् नक्कलको माध्यमबाट आएको व्यङ्ग्य र ध्वन्यात्मक आवृत्तिले दिएको हास्यले केही हदसम्म अभाव चाहिँ पूरा गरेको छ ।

७.२ निष्कर्ष:
गफ गर्न कुरा काट्न, बेअर्थमा समयलाई शहीद बनाउन सजिलो हुन्छ, तर अनुभव र अनुभूतिलाई शब्दमा उतार्दै लेख र पुस्तक तयार पार्न सजिलो हुँदैन । अझ सरकारी सेवामा लागेर लेखन कार्यलाई अघि बढाउने अत्यन्त न्यून कर्मचारीहरूमध्ये एक हुन्, युवराज मैनाली । उनका लुकथा र व्यङ्ग्य लेखनमा नेपाली समाजका विकृति र विसङ्गतिको चित्रण पाइन्छ । ‘पृथक् बाटो’ लघुकथा सङ्ग्रह र ‘भ्रष्टाचारको भाङ’ हास्य व्यङ्ग्य सङ्ग्रह उनले अनुभूत गरेका समसामयिक सामाजिक समस्याकै सशक्त चित्रण हुन् । संरचनागत कथा लेखनलाई त्यति अघि नबढाए पनि मैनाली साहित्यिक कृति र कृतिकारको समालोचनामा भने निकै अघि बढिसकेका छन् । हुनत उनको समालोचकीय दृष्टिकोण वस्तुपरक, नभएर प्रभाववादमै केन्द्रित छ तापनि नेपाली समालोचना पद्धतिको परम्परा भने धानिएको देखिन्छ । ‘केही प्रतिभा केही प्रवृत्ति’,‘समको पौराणिक नाट्यकौशल’, ‘कर्मयोगी देवकोटा: महाकाव्यको विश्लेषण’ र ‘दृष्टि दृष्टिकोण’ उनका समालोचकीय कृतिहरू हुन् । लघुकथा लेखन र विशेष गरी व्यङ्ग्य लेखनमा विचार र भाषाको समानान्तर प्रयोगको कमी, उच्च प्रयुक्तिको प्रयोग, काल्पनिक उडान, पातलो संशक्ति र संबद्धताले गर्दा आख्यानकार मैनालीका सिर्जना संवृत् रूपविन्यासयुक्त नभएर विवृत् रूपविन्यासयुक्त देखिन्छन् । मूलतः व्यङ्ग्यात्मकता, प्रयोगशीलता, काव्यात्मकता, काल्पनिकता उडान, उच्च प्रयुक्तिको प्रयोग र जटिलता प्रमुख लेखन विशेषताहरू हुन् । यसरी साहित्यका विविध विधामा कलम चलाउने युवराज मैनाली एक व्यक्ति तर अनेक व्यक्तित्वका धनी छन्, धनी भइरहने छन् ।

सन्दर्भ सूची:
१. अर्याल, बलराम (२०७९) ‘बसिबियाँलो’ शिसम प्रकाशन, काठमाडौँ ।
२. पौड्याल, परशुराम (२०७५) उपन्यास: आख्यानशास्त्रीय अवयव र सौन्दर्य, निर्मला : काठमाडौँ ।
३. भण्डारी, गोपीराम (२०७८) युवराज मैनालीको पृथक बाटो लघुकथासङ्ग्रहको विश्लेषण, (अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रि.वि.) ।
४. भण्डारी, माधव (२०५५) ‘वक्रोक्ति, बराल (सम्पा.) नेपाली साहित्य कोश, ने.रा.प्र.प्र: काठमाडौँ ।
५. मैनाली युवराज (२०६५) भ्रष्टाचारको भाङ, भानु प्रकाशन: काठमाडौँ ।
६. ……… ………. (२०७५) पृथक् बाटो, तन्नेरी प्रकाशन: काठमाडौँ ।
७. ……… ……… (२०७९) दृष्टि दृष्टिकोण, साझा प्रकाशन ।
८. सुवेदी अभी (२०५४) रचना र माध्यम साझा प्रकाशन ।
९. Johns, Sara G. 2005, Fantasy, Herman David et. al (eds), Routledge Encyclopedia of Narrative Theory, Routledge: London and Newyork.
१०)  Montgomery, Martin, Dulant Alan et. al (eds) 1992. Ways of Reading. London and New York : Routledge.

प्रतिक्रिया