अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

ह्युस्टनमा नेपालीहरुको आफ्नै मन्दिर

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते १९:२९ मा प्रकाशित

नेप्लिज एसोसियसन अफ ह्युस्टन (एनएएच) को करीब दुई बर्ष पहिले देखिको प्रयास र बृहत्तर ह्युस्टनमा बसोवास गर्ने नेपालीहरुको सहयोगबाट अमेरिकी राज्य टेक्ससको ह्युस्टन शहरका नेपालीहरुले पनि अब आफ्नै नेपाली मन्दिर पाएका छन् ।

यही अक्टुबर २६, २०१७ का दिन एनएएचका पदाधिकारीरुले कृष्णप्रणामी फाउण्डेसनलाई ३ लाख ५० हजार डलर अर्थात करीब ३ करोड ६३ लाख नेपाली रूपैंयाँ बराबरको रकम बुझाए पछि बृहत्तर ह्युस्टनको रिचमण्ड स्थित ८.२ एकरमा फैलिएको मन्दिर सहितको भौतिक संरचना र जमीनको स्वामित्व नेप्लिज एशोसियसन अफ ह्युस्टनको नाममा आएकोछ। यसरी अक्टुबर २६ बृहत्तर ह्युस्टनमा बस्ने सबै नेपाली र नेपाली भाषीहरुको लागि समेत निकै खुसीको दिन साबित भएकोछ। नेपालीहरुको आफ्नै मन्दिर बनाउने पवित्र र सुन्दर सामाजिक अभियानले सार्थकता पाएकोछ। अझ भनौं एनएएच र यसका पदाधिकारी र मन्दिर अभियानका अभियन्ताहरुले ह्युस्टनमा बस्ने सबै नेपालीहरुलाई एउटा सुन्दर उपहार दिन सफल भएकाछन्।

एनएएचका महासचिव विष्णु नेपालले एक इमेल मार्फत मन्दिर अभियानमा सहभागी/सहयोगी सबैलाई एनएएचका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन र आभार प्रकट गरेकाछन्। अबको केही हप्ता भित्र गठन हुने मन्दिरको ट्रष्टी बोर्ड र व्यवस्थापन समितिको गठन पश्चात निकट भविष्यमा नै मन्दिरको आवश्यक संरचनागत सुधार, सामुदायिक भवन निर्माण, फुटबल ग्राउण्ड लगाएत बालालिकाहरुको खेल मैदान जस्ता संरचनाहरुको निर्माण कार्य पनि शुरु गरिने जानकारी महासचिव नेपालले गराए।

अमेरिका मै जन्मे/हुर्केका नेपालीहरुलाई नेपाल चिनाउने एउटा दरिलो माध्यम भने कै नेपाली भाषा, धर्म, संस्कृति र नेपालीहरुले सामुहिक रुपमा मनाउने दशैं लगाएतका चाड-पर्वहरु हुन् र त्यसका लागि नेपालीहरुको आफ्नै पशुपति मन्दिर र सामुदायिक भवन हुनु नेपाली समुदायका लागि गर्वको विषय पनि हो। प्रवासमा नेपाली सुनदायको आफ्नै मन्दिर र सामुदायिक भवनको सपना साकार हुँदै गैरहेकोछ।
ह्युस्टनको नेपाली मन्दिर अमेरिकामा नेपालीहरुको तेश्रो मन्दिर हो। यो क्रम बढ्दो छ र बोस्टन र न्यूयोर्कमा पनि नेपालीहरुको आफ्नै मन्दिर हुने क्रममा छ।

प्रतिक्रिया