अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

भुसाललाई जेलमुक्त गराउन रकम सङ्कलन अभियान

बिआरटीनेपाल २०७४ असोज २९ गते २२:५१ मा प्रकाशित

झन्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम सङ्कलन अभियान सुरु गरिएको छ ।

उनलाई मुक्त गराउन साउदीको डेढ लाख रियल लाग्ने भएको छ । उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनु पर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी अझै छुट्न सकेको छैन ।

त्यसका लागि नवलपरासीमा रकम सङ्कलन अभियान थालिएको आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामी परियोजनाले जनाएको छ । प्रवासी मञ्चको सहयोगमा काठमाडौँ र साउदीमा पनि रकम सङ्कलन जारी छ ।

सोही क्रममा नवलपरासीमा पनि सङ्कलन अभियान थालिएको सामी परियोजना कावासोतीले जनाएको छ । नवलपरासीमा अहिलेसम्म रु २१ हजार २०० सङ्कलन भएको सामी मनोसमाजिक परामर्श कर्ता आप्रवासी कामदार हकहित संरक्षण मञ्चका सदस्य शुभ रानाले बताउनुभयो ।

१० मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारको दक्षिणतर्फको गाउँबाट रु १३ हजार ९१० सङ्कलन भएको छ । थानेश्वरलाई लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।

उनले चलाएको टिपरमा एउटा सवारी साधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारीसाधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को सवारी साधनमा रहेका गरी दुई जनाको ज्यान गएको थियो ।

थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटना पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीको साहुले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताउनुभयो ।

पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी साढे तीन वर्षदेखि जेलमा रहेका छन् । (रासस)
–––

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू