अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

एमालेसँगको मिल्तीले माओवादी भित्रै रडाको, पार्टी टुक्रिने संकेत

बिआरटीनेपाल २०७४ असोज १८ गते ९:३१ मा प्रकाशित

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण गर्ने घोषणा गरिरहेको बेलामा नेकपा माओवादी भित्र भने दुई धार देखिएको छ । माओवादीका माथिल्लो तहका धेरै नेताहरु एकीकरणको पक्षमा रहेको भएपनि केही नेताहरुले प्रचण्डको यो निर्णयलाई आत्मघातीको संज्ञा दिएपछि माओवादी एकीकृत रुपमा एमालेसँग एकीकरणमा जान नसक्ने संकेत समेत देखिएको छ ।

नयाँ शक्ति सहितको तीन पार्टीबीच मंगलबार पार्टी एकीकरणसम्म गर्ने सहमतीपत्रमा हस्ताक्षर भईसकेपछि बुधबार माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले यसको कडा शब्दमा विरोध जनाएका छन् । किराँतीले बुधबार जारी गरेको विज्ञप्तीमा माओवादीको यो कदम आत्मघाती रहेको समेत आरोप लगाईएको छ ।

उनको विज्ञप्तीमा मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनर्गठन भेला आयोजक समिति निर्माणको आह्वान गरिएको छ । उनले  पार्टीको कुनै पनि तहमा औपचारिक निर्णय नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने यो कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत रहेको उनको आरोप छ । उनले  सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमर्पण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशितहरुमा अन्यथा विचलित नहुन भन्दै नयाँ आधारमा माओवादी केन्द्रलाई पूनर्गठन गरी पहिचानको आन्दोलन जारी राख्ने दृढता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू