अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

 एनआरएन अमेरिकाबाट आइसिसि सदस्यमा शंकर खड्काको उम्मेदवारी

बिआरटीनेपाल २०७४ भदौ १८ गते ५:२३ मा प्रकाशित

एनआरएन अमेरिकाको निर्वाचन माहौल निकै तातेको छ । यही सेप्टेम्बर ५ र ६ तारिखमा हुन गैरहेको निर्वाचनले संस्थामा आगामी नेतृत्व चयन हुनेछ । यसै सेरोफेरोमा संस्थाको बृहत्तर हितमा काम गर्दै आएका वर्तमान कार्यसमितिका सचिव शङ्कर खड्काले पनि एनआरएन अमेरिकाबाट आइसिसि (गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय समिति) सदस्यमा उम्मेदवारी दिएका छन् । स्वस्च्छ छवि भएका खड्का सबैसँग घुलमिल गर्नसक्ने , मिलनसार तर काममा भने आक्रामक व्यक्तिको रूपमा एनआरएनए अमेरिकामा परिचित छन् । उनी अहिलेको एनआरएन अमेकिाको चुनावलाई समाजसेवासँग जोडेर हेर्नुपर्ने बताउँछन् । निर्वाचनले विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीसँग भाइचाराको सम्बन्ध विकास गर्न पुलको काम गर्ने खड्काको धारणा रहेको छ ।

संस्थालाई अन्तर्राष्ट्रिय अभियानको रूपमा संस्थागत गर्दै सबैको पहुँच र स्वामित्व हुनेगरी अगाडी बढाउन मैले उम्मेदवारी दिएको हो खड्का भन्छन्– ‘मेरो उम्मेदवारी केवल निर्वाचनमा भाग लिनु र जित्नु मात्र होइन, अमेरिकामा रहेका प्रवासी नेपालीहरूको बिचार र भावनाको प्रतिनिधित्व पनि गर्नु हो ।’

खड्काले वर्तमान कार्यसमितिमा सचिवको हैसियतले गरेका कार्यहरूको पनि निकै सह्रायिन रहेको एनआरएनहरु बताउँछन् । हक्की र प्रस्ट स्वभावका खड्काले चुनाव मात्रै होइन अमेरिकामा रहेका प्रवासी नेपालीहरूको मन पनि जितिसकेको उनलाई नजिकबाट चिन्ने नेपालीहरू बताउँछन् । तैपनि निर्वाचन हो भाग लिन जरुरी छ ।

आइसिसि सदस्यको प्रत्यासी रहेका खड्काले अरूलाई सहयोग गर्न र समाजको हितका लागि केही न केही गतिविधि गर्दै आएका छन् । उनले अमेरिकामा मात्रै नभएर नेपालका विभिन्न ठाउँहरूमा समाजको लागि निरन्तर आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । खड्का भन्छन्– ‘मैले सानै देखि समाज र अरूको भलाइका लागि काम गर्नुपर्छ भन्ने कुरा सिक्दै आएको छु । यसैको परिणाम होला अहिलेसम्म मैले आफ्नो लागि भन्दापनि समाज र आफू आबद्ध संस्थाकों भलाइको लागि काम गर्दै आएको छु ।’

खड्काले संस्थागत विकासको लागि पनि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले एनसिसि र आईसिसिमा ठुलो अन्तर देखेका छन् । उनी भन्छन्– ‘विश्वभरि छरिएर रहेका झन्डै ५० लाख नेपालीहरूलाई एउटै मञ्चमा समेट्न सकियो भने नेपालको समृद्धी धेरै टाढा छैन र प्रवासी नेपाली जहाँ–जहाँ छन् त्यहाँपनि सम्मानजनक स्थान ओगट्न सफल हुनेछन् । यसका लागि समन्वयकारी भूमिका खेल्न म सदैव तत्पर रहनेछु । त्यसैको लागिपनि मैले उम्मेदवारी दिएको हो ।’

निरन्तर समाजसेवाका कार्य गर्दै आइरहेका उनले अझैपनि आफूले सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन् । उनले भर्खरै नेपालमा गएको बाढीपहिरोबाट प्रभावित पिडितहरुको लागि आर्थिक सहयोग जुटाउने कार्यका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्काल राहत उपलब्ध गराउनुपर्छ भनेर खड्काले तरुण दल अमेरिकाबाट पनि झन्डै ७ लाख रुपैंयाँ सहयोग जुटाएर नेपाल पठाउन भूमिका खेलेका थिए । त्यतिमात्र नभएर उनले अमेरिकामै नेपाली समुदायको लागि कम्युनिटी भवन निर्माण गर्न हालै ५ हजार १ डलर सहयोग उपलब्ध गराएका छन् ।

खड्काले रामेछापका केही विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै र छात्रवृत्तिसमेत दिनुका साथै २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण विस्थापित भएकालाई पनि ठुलो मात्रामा सहयोग जुटाई वितरण गरेका थिए ।

नेपालको विकास र समृद्धिको लागि प्रवासी नेपालीलाई एकत्रित गर्न अति आवश्यक रहेको बताउने खड्काले नेपालमा पर्यटनको ठुलो सम्भावना देखेका छन् । उनी भन्छन्– ‘मैले अमेरिका आउनु अगाडी नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्धन गर्नुपर्छ भन्ने उदेश्यले झन्डै १ दशक पर्यटन व्यवसाय सञ्चालन गरेको थिएँ । नेपालको पर्यटन विकासमा अझैपनि मेरो सक्रियता रहन्छ र यसको प्रवद्धनमा म जहाँ रहेपनि पहल गरिरहने छु ।’

विद्यार्थी राजनीतिदेखी लिएर नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रमासमेत रहेर काम गरेका खड्काको अगुवाईमा अमेरिकामा सन् २०१० मा तरुण दल स्थापना गरिएको थियो । आफूले पाएको जिम्मेवारी पुरा गर्न र प्रवासी नेपाली र नेपालको हितका जस्तोसुकै कठिन परिस्थितिमा पनि काम गर्ने अग्रसर देखिने खड्कालाई सबैको साथ सहयोग रहने देखिएको छ । सत्यतथ्यमा आधारित विषयमात्रै अगाडी बढाउने स्वभावका कारण पनि उनले एनआरएनए अमेरिकामा छुट्टै पहिचान बनाएको कार्यसमितिका सदस्यहरू स्विकारछन् ।

यो निर्वाचनमा सबैको पूर्ण साथ समर्थन रहेका कारण आइसिसि सदस्यामा आफ्नो जित निश्चित भएको खड्काले दाबी गरेका छन् । अमेरिकाभर रहेका प्रवासी नेपालीहरूको पूर्ण साथ सहयोग र समर्थनले आगमी निर्वाचनमा आइसिसि सदस्यमा निर्वाचित गराउन खड्काले सबैलाई मतदानमा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू