अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

बाढीका कारण आफन्त गुमाएका परिवारहरुलाई धुर्मुसले घरमै पुगेर दिए किरीया खर्च (भिडियो)

बिआरटीनेपाल २०७४ भदौ ४ गते ३:११ मा प्रकाशित
तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् । बाढीका कारण आफन्त गुमाएका मोरङका दुई विपन्न परिवारलाई उनले २५ हजारका दरले किरीया खर्च वितरण गरेका हुन् ।
बाढीले विराटनगर महानगरपालिका १९, घिनाघाट दलित बस्ती पुरै बगाउँदा उरा रिसीदेवले आफ्नी आमा गुमाएका थिए । पाल टाँगेर बसिरहेका उनीसँग आमाको किरीया गर्ने खर्च समेत नभएपछि धुर्मुस सुन्तली फाउण्डेशनले बस्तीमै पुगेर उनलाई २५ हजार रुपैँया प्रदान गरिएको हो । सो बस्तीका अधिकाँस घरहरु खोलाले बगाएपछि खान र बस्नको समेत निकै अभाव रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् ।
यस्तै, मोरङ बुढीगंगा गाउँपालिकाका उमेश नेपालको किरीया गर्नका लागि पनि फाउण्डेशनले उनको परिवारलाई २५ हजार रुपैँया किरीया खर्च उपलब्ध गराएको छ । पत्रिका बेच्ने काम गर्दै आएका छोरो नै गुमाएको नेपाल परिवारलाई उनको घरमै गएर उक्त रकम प्रदान गरिएको हो ।
 बाढी पश्चात तराईका थुप्रै बालबालिका, वृद्ध र महिलाहरु बिरामी छन् । उनीहरुको स्वास्थ्य उपचारका लागि मोरङमा फाउण्डेशनले विराटनगर जेसिस र अन्नपूर्ण मिडिया नेटवर्कसँगको सहकार्यमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको फाउण्डेशनका पोजेक्ट संयोजक अर्जुन न्यौपानेले बताएका छन् । यस्तै, फाउण्डेशनका अध्यक्ष कट्टेल विराटनगर विमानस्थलको हिलो सफा गर्न खटिएको नेपाली सेनालाई सघाउन र हौसला दिन समेत पुगेका थिए ।
बाढीका कारण तराईले राहात र उद्धारको ठूलो आवश्यकता महसुस गरिरहेको समयमा धुर्मुस तराई झरेका हुन् । भूकम्पपछि एकिकृत बस्ती निर्माणमा सक्रिय फाउण्डेशन बाढी पिडितलाई राहात वितरणमा पनि सक्रिय भएपछि सहयोगी मनको सहयोग आउने क्रम पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू