अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

अमेरिकामा शेर्पा संघ गठनका लागि १५ सदस्यीय तदर्थ समिति गठन

बिआरटीनेपाल २०७४ साउन ३ गते १९:२९ मा प्रकाशित

शेर्पा संघ अमेरिकाको स्थापना गर्ने उद्देश्यका साथ शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित एक शेर्पा भेलाले शेर्पा संघ अमेरिका स्थापना गर्ने निर्णय गर्दै शेर्पा संघ अमेरिकाको तदर्थ समिति गठन गरेको छ । नेपाल शेर्पा संघ केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष पेमा छिरि शेर्पाको प्रमुख आतित्थमा सम्पन्न उक्त भेलाबाट निमा शेर्पाको संयोजकत्वमा एक जना उपसंयोजक र एक जना सचिव सहित १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

नव गठित तदर्थ समितिमा संयोजक ङिमा शेर्पा (सिन्धुपाल्चोक), उपसंयोजक आङ फुरी शेर्पा (सोलुखुम्बु), सचिव ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), सदस्यहरु, पासाङ शेर्पा (सोलुखुम्बु), मिङमार लामा(खोटाङ), निमाग्याल्जेन शेर्पा(रामेछाप), झरना शेर्पा(सोलुखुम्बु), अनुपा शेर्पा(तप्लेजुङ), गेल्बु शेर्पा(ओखलढुङ्ग), पासाङ निमा शेर्पा(संखुवासभा), छिरिङ लमु शेर्पा(ईलाम), आङ छिरिङ शेर्पा(दोलाखा), भयो शेर्पा(सिन्धुपाल्चोक), फुर्वा शेर्पा(सोलुखुम्बु) र साङमु शेर्पा(संखुवासभा) रहेका छन ।

शेर्पाहरुलाई सामाजिक र राजनीतिक जनजागरणका लागि सचेतना आवश्यक रहेको र त्यसैका लागि शेर्पा संघ अमेरिका स्थापना गर्ने जमर्को गरेको संयोजक ङिमा शेर्पाले बताए । सामाजिक संजालहरुमा शेर्पा संघ अमेरिकाको स्थापनाका लागि यो भेला आयोजना गर्ने सुचना प्रकाशन भएपछि केही व्यक्तिहरुले यो अभियान शेर्पा किदुग अमेरिकाको विरुद्ध भएको भनेर गरिएको प्रचारबाजी प्रति आपत्ति जनाउदै संयोजक शेर्पाले कुनै पनि हालतमा यो अभियान शेर्पा किदुग अमेरिकाको विरुद्धमा नभएको र यसले शेर्पा किदुग अमेरिकालाई अझ बलियो बनाउनमा टेवा पुग्ने बताए । सामाजिक र राजनीतिक जनजागरणका गतिविधिहरु गर्न तथा ती कार्यक्रमहरुमा शेर्पा समूदायको तर्फबाट संस्थागत प्रतिनिधित्व गर्न शेर्पा किदुग अमेरिकाको विधानमा अड्चनहरु रहेकाले, शेर्पा किदुग अमेरिकाले विधानबमोजिम गर्न नहुने ती कार्यहरु मात्रै गर्नका लागि शेर्पा संघ अमेरिकाको परिकल्पना गरिएको समेत संयोजक शेर्पाले प्रष्ट पारेका छन ।

कार्यक्रममा शेर्पा किदुग अमेरिकाका निर्वतमान अध्यक्ष दावा जाङबु शेर्पा, निवर्तमान महासचिव, आङ जाङबु शेर्पा, निवर्तमान प्रवक्ता ल्हाक्पा तेन्जी शेर्पा, पुर्व सचिव तथा गायक गम्बु शेर्पा, नेपाल अमेरिका पत्रकार संघ(नेजा)का पुर्व अध्यक्ष पत्रकार आङ छिरिङ शेर्पा, जनसम्पर्क समिति अमेरिकाका पुर्व उपाध्यक्ष मिङमा लामा, सोलुखुम्ब टाकसिन्दु गाविसका पुर्व अध्यक्ष आङ काजी शेर्पा, झरना फेउण्डेसनकी संस्थापक झरना शेर्पा, आङ निमाग्याल्जेन शेर्पा, ल्हाक्पा देण्डी शेर्पा, फरादेण्डी शेर्पा, फुर्व शेर्पा लगायतका महानुभावहरुले शेर्पा संघ अमेरिका स्थापना गर्न आवश्यक रहेको प्रति आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल शेर्पा संघका निर्वतमान अध्यक्ष पेमा छिरि शेर्पाले आफु अमेरिकाको निजी भ्रमणमा रहेकै बखत संयोगले यो कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउदै शेर्पा संघ अमेरिका स्थापनाले अमेरकाका शेर्पाहरुमा नयाँ जनजागरणको पैदा गर्न विश्वास व्यक्त गरे । अमेरिकामा शेर्पाहरुको पुरानो संस्था शेर्पा किदुग रहेता पनि शेर्पा समूदायका लागि कार्यविभाजन गरेर फरक उद्देश्यका साथ शेर्पा संघ गठन हुनु उपयुक्त नै भएको बताउदै सो भेलाबाट प्रमुख अतिथि शेर्पाले नै शेर्पा संघ अमेरिकाको १५ सदस्यीय तदर्थ समितिको नाम घोषणा गरेका थिए । उक्त तदर्थ समितिले ३ देखि ६ महिनाभित्रमा विधान बनाई अधिवेशन गर्न समेत प्रमुख अतिथि पेमा छिरि शेर्पाले सुझाव दिएका छन ।

प्रतिक्रिया