अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

नेपाली मनको नेपाली नयाँबर्ष उत्सव

बिआरटीनेपाल २०७४ वैशाख २ गते १३:५७ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, ह्युस्टन ।
नेपाली समाज ह्युस्टनको आयोजनामा नेपाली नयाँबर्ष २०७४ एवं आठौँ नेपाल दिवस विविध मनोरन्जनात्मक कार्यक्रम सहित सम्पन्न भएको छ । प्राय नेपालबाट आएका नाम चलेका कलाकारहरूको प्रस्तुति रहने नयाँ वर्ष उत्सवमा गत दसैँमा झैँ यो पटक पनि स्थानीय कलाकारहरूको अगुवाईमा मनोरन्जन दिने भरपुर प्रयास गरिएको थियो । ह्युस्टन कै कलाकारहरू जनक थापा, साईलामा, सरिता आचार्य, सन्दीप मास्के लगाएतको गीत र अरू धेरै कलाकारहरूको प्रस्तुति रहेको उक्त कार्यक्रममा करिब २५० जति नेपाली तथा नेपाल भाषी समुदायका व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रम मध्यरात सम्मै चलेको थियो । स्थानीय ताज हलमा सम्पन्न उक्त कार्यक्रममा सागितिक कार्यक्रम सँगसँगै समाजका अन्य गतिविधिहरू समेट्ने र सहभागीहरुलाई समेत प्रत्यक्ष ‘ईन्गेज’ गराइरहनेखालका डोर प्राईज, राफल लक्कीड्र, प्रशंसापत्र वितरण लगाएतका कार्यक्रमहरू भएका थिए। 

नेपालमा प्रख्यात डाक्टर पाइलट ब्याण्डको गीत ‘ए होई’ सोही ब्याण्डका एक सदस्य जनक थापाले गाउँदा होस् या सन्दीप मास्केले ‘असारै महिनामा पानी पय्रो रुझाउने’ अनि साइ लामाले ‘छिट्को गुन्यूं तिमीले लगाउँदा, सानु तिमीले हुरुक्कै बनाउँदा’ बोलका गीत गाउँदा होस् दर्थकहरुको नाच्ने हुल जम्मा भैहाल्थ्यो ।

जनक थापा र अर्जुन पोखरेलले संयुक्तरुपमा ‘चरी मय्रो शिसैको गोलीले’ र ‘जोमसोमै बजारमा’ गीत गाउँदा पनि दर्शकहरु झुम्दै गीत गाइरहेका देखिन्थे भने स्थानीय युवा तथा बाल कलाकारहरू कन्चन कोइराला, सिमरन खरेल, प्रतिभा सुवेदी, स्मृति पौडेल, अर्चना ज्ञवाली, अस्मिता घिमिरे, कृति सापकोटा, अविज्ञा न्यौपाने, अलिशा गौतम अनि विपना चुँडाल लगाएतका तारिफ गर्न लाएक नृत्य प्रस्तुतिले नाम चलेका कलाकार नभए पनि ह्युस्टनका नेपालीहरूलाई प्रशस्तै मनोरन्जन दिएको थियो । 

पूर्वेली भाकाको मनैछुने नेपाली गीत ‘बारी तुवाँलो, पारी तुवाँलो’मा पश्चिमेली ‘थाली नाचमा’ एलिशा गौतम र विपना चुँडालको नृत्यजोडी निकै जमेको थियो भने गुन्जना पाण्डेले ‘माइतीघर’ गीतमा गरेकी एकलनृत्यले युवा तथा पाका सहभागी तथा अगुवाहरु मधुकर अमात्य, ज्योति घिमिरे लगाएतलाई समेत नचाएको थियो।

नेपालदेखि निम्त्याइएका नाम चलेका कलाकारहरू हुँदाको रौनकता नदेखिए पनि स्थानीय कलाकारहरूको प्रस्तुति नेपाली मनका उत्साहित दर्शकलाई मध्यरात सम्मै मनोरन्जन दिन सक्षम थियो। बिहानको १ बजेसम्म रमाइरहेका नेपाली युवा र वयस्कहरुलाई देख्दा नेपालीपनका गीतसंगीतमा नाच्न/झुम्न ठुला कलाकार होइन नेपाली मन र वातावरण चाहिने रहेछ भन्ने प्रस्ट भइरहेको थियो। डिजे अमित गिरीले संयोजन गरेका नेपाली/हिन्दीगीतहरु दर्शकलाई नचाउन काफी थियो र त पहिलो पटक नेपाली समाजको कार्यक्रममा सहभागी रविन भट्टराई, प्रशान्त केसी लगाएतका युवा सहभागीहरुसमेत नेपाली तथा हिन्दीगीतहरुमा उत्साहपूर्वक सामूहिक नाचमा रमाइरहेका देखिन्थे। प्राय नेपाली समाजको कार्यक्रममा नछुट्ने र मज्जाले नाच्ने अनि अरूलाई समेत सामूहिक नाचका लागि उक्साउने साबी पौडेल, ज्याक काफ्ले, हेम कार्कीहरुकै हुलमा नाची रहेका र ह्युस्टनमा हालसालै आएका युवाहरूलाई यस्ता सामूहिक र नेपालीपनरा कार्यक्रमले समाजमा घुलमिलहुन निकै सघाइरहेको थियो। 

साङ्गीतिक कार्यक्रमकै बिचमा नेपाली समाज ह्युस्टनका अध्यक्ष ज्योति घिमिरेले नेपाली नयाँबर्ष २०७४ तथा आठौँ नेपाल दिवसको अवसरमा सहभागीहरुलाई शुभकामना व्यक्त गर्नु भयो। अध्यक्ष घिमिरेले दुईबर्ष अघि नेपालमा गएको महाभुकम्प पछि नेपाली समाजले उठाएको सहयोग रकमबाट नेपालमा भइरहेको पूनर्निर्माण परियोजनाका प्रगति विवरण सुनाईरहंदा प्रवासमा रहेर पनि आफ्नो मातृभूमिमा बिपद पर्दा नेपालीहरू सहयोग गर्न पछि पर्दैनन् भन्ने राम्रो उदाहरण दिइरहेको थियो। नेपाली समाजको करिब एक लाख ३२ हजार डलर सहयोगमा विभिन्न छ वटा विद्यालय भवन निर्माण भैरहेकोमा तीनवटा विद्यालय भवनको निर्माण सम्पन्न भएर हस्तान्तरण भैसकेको र तिनवटाको निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको जानकारी गराईयो। समाजले एउटा स्कुलमा सफा खानेपानी र एउटामा पुस्तकालय निर्माणमा समेत सहयोग पुय्राएकोछ। आफ्नो मन्तव्यकै क्रममा अध्यक्ष घिमिरेले समाजका गतिविधिहरुलाई सुसूचित गर्न निकै महत्त्वपूर्ण योगदान पुय्राएकोमा हिमालयखबर, बिआरटी नेपाल, मेरोखबर लगाएतका सञ्चार माध्यम र तीनका स्थानीय प्रतिनिधिहरूको प्रशंसा समेत गरे । 

नेपाली समाज ह्युस्टनका महासचिव विष्णु नेपालले सञ्चालन शुभारम्भ गर्नु भएको कार्यक्रमको सांगितक कार्यक्रम सञ्चालन प्रशान्ती पण्डित र राम कुँवरले संयुक्तरुपमा गरेका थिए। कार्यक्रमको बिच-बिचमै प्रवेश टिकटको अर्धकट्टी बमोजिम लक्कीड्र मार्फत ‘डोर प्राइज’ समेत वितरणले सहभागी दर्शकहरुलाई निकै उत्साहित बनाएको देखिन्थ्यो। समाजका गतिविधिलाई सधैँ प्रायोजन गर्ने न्यु योर्क इन्स्योरेन्सका बच्चा तिवारी, स्थानीय होटेल एवं रेष्टुरेण्ट व्यवसायीहरु जगदिश ‘ज्याक’ काफ्ले, शेष शर्मा लगाएतले पुरस्कार प्रायोजन गरेका थिए। साथै नेपालीसमाजले गत एप्रिल ८ मा सम्पन्न गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरु मध्यबाट एकजनालाई लक्की ड्र मार्फत ‘Gulf Coast Regional Blood Center’ द्वारा प्रायोजित राफल उपहार प्रदान गरिएको थियो। 

समाजका अध्यक्ष लगायत पदाधिकारीहरुले ह्युस्टनमा बसोबास गरिरहेका नेपालीहरूलाई नेपाली समाज ह्युस्टनको वेबसाइट (www.nahtx.org) मार्फत सदस्यता लिन र समाजको विविध कार्यक्रमहरूमा सक्रिय सहभागी हुन कार्यक्रमको बिच-बिचमा आव्हान गरिरहेका थिए भने कतिपय दर्शकहरु सहुलिएतपूर्ण सदस्यता अभियान चलाउनु पर्नेमा जोड दिंदै थिए ।

सहसचिव द्रोण गौतमले समाजका गतिविधिहरू झल्कने तस्बिरहरू कार्यक्रम अवधिभर नै देखिइरहनेगरी ‘पावरप्वाइन्ट’ प्रस्तुतिको व्यवस्थापन मिलाएका थिए। जसले त्यस्ता गतिविधि प्रस्तुत गर्न खर्चिने समयको बचत समेत गरेको थियो। यसै गरी सहसचिव गौतमले समाजका गतिविधीहरुलाई सञ्चार माध्यमहरुबाट जानकारी गराउन सहयोग पुय्राएकोमा मेरोखबर तथा बिआरटी नेपालका स्थानीय प्रतिनिधि सुजन पण्डितलाई र समाजका गतिविधीहरुको फोटोग्राफीका लागि सौगात पण्डितलाई समाजको तर्फबाट प्रशंसित गरिएको जानकारी गराएका थिए। 

कार्यक्रममा पहिलेका साङ्गीतिक कार्यक्रमहरूको तुलनामा कम सहभागिता भए पनि बिहान एक बजेसम्म चर्चित गीतहरुमा नेपाली समाजका अध्यक्ष आफैँ पनि नाचिरहेका देखिन्थे। प्रवासमा रहँदा नेपालको यादसंगै रमाउन नेपाली चाड्पर्व र जमघट नै त हुन् जसले ‘जहाँ भए पनि हामी नेपाली’ भन्ने भावनालाई मजबुत बनाईराख्दछ। नयाँबर्ष २०७४ को हार्दिक शुभकामना। सबैको जयहोस् ।

(फोटो फिचर) फोटो: सौगात पन्डित 

प्रतिक्रिया