अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

अमेरिकाको मोरिसभिल शहरले नेपाल दिवस मनाउने घोषणा

बिआरटीनेपाल २०७४ वैशाख २ गते ४:२४ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिस्भिल शहरले हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई नेपाल दिवस (Nepal Day) को रुपमा मनाउने घोषणा गरेको छ।  गत मंगलबार बसेको नगर समितिको पूर्ण बैठकमा मोरिस्भिल शहरका मेयर मार्क स्टोह्लम्यानले (Mark Stohlman) उक्त घोषणापत्र जारी गरेका हुन्। घोषणापत्र जारी गर्दै मेयर मार्कले भने, ‘मोरिस्भिल शहरको जनसंख्याको करिब एक तिहाइ भाग ओगटेको एशियाली मूलका बासिन्दाहरुमा नेपाली समुदायको ठूलो हिस्सा समावेश छ। नगरको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिको लागि नेपाली समुदायले पुर्‍याएको योगदानलाई उच्च मूल्यांकन गर्दै हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार नेपाल दिवस मनाउने घोषणा गर्दछु।’ बैठकमा सबै नगर सभासद्हरुले घोषणापत्रको अनुमोदन गर्नुका साथै उपस्थित नेपाली समुदायले उक्त घोषणाको भव्य स्वागत गरेका थिए।

घोषणा पछि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाकी अध्यक्षा डा. सुषमा प्रधानले भनिन्, ‘नेपाल दिवसको घोषणाले नेपाल र नेपालीको सम्मान हुनुका साथै बिगत २०-२५ वर्षदेखि नर्थ क्यारोलाइनाका नेपाली समुदायले विभिन्न सामाजिक क्रियाकलापमा गरेको स्वयंसेवी संलग्नताको मूल्यांकन भएकोले सबै नेपालीलाई अत्यन्त खुशी मात्र होइन अझै धेरै काम गर्ने हौसला पनि मिलेको छ।’ उनले नेपाली समुदायको तर्फबाट मेयर तथा नगर परिषद्लाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

नेपाली नयाँ वर्ष वैशाख १ गतेलाई लक्ष्य गरि हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार मनाउने निर्णय गरिएको नेपाल दिवस यसपटक आगामी शनिबार, अप्रिल १५ को दिन भव्य रुपमा मनाउने जानकारी नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले गराएको छ।

अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. अर्जुन कार्की र मोरिस्भिल शहरका मेयर मार्क स्टोह्लम्यानले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रममा नेपाली बाजागाजा र झाँकी सहितको ठूलो जत्थाले नगर परिक्रमा पछिको सभामा नयाँ वर्ष २०७४ लाई स्वागत गर्ने कार्यक्रम रहेको छ। अमेरिका भित्रका अन्य संघसंस्थाका पदाधिकारीहरुको पनि उक्त कार्यक्रममा उपस्थिति रहने जानकारी अध्यक्षा डा. प्रधानले गराए।

नेपालका भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मोरिस्भिल शहरको भ्रमण अवसरमा मेयर मार्क स्टोह्लम्यानले नेपाल दिवस मनाउने प्रस्ताव राखेको र स्थानीय नेपाली व्यवसायी एवं नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका पूर्व उपाध्यक्ष रवीन्द्र कार्कीको संयोजकत्वमा नेपाल दिवसले मूर्तरुप लिन सकेको हो।

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा लगभग चार हजार नेपालीहरुको बसोबास रहेको छ। मोरिस्भिल शहर र आसपासका क्षेत्रमा करिब दुई हजार नेपालीहरु बसोबास गर्छन्। यस बाहेक कोलोराडो राज्यको बोल्डर शहरले २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आईतबार नेपाल दिवसको रुपमा मनाउँदै आएको छ।

 
प्रतिक्रिया