अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

नेपाली समाज टेक्सासद्वारा स्वास्थ्य शिविर सम्पन्न

बिआरटीनेपाल २०७३ चैत २९ गते १०:०१ मा प्रकाशित

लेखनाथ गौतम, टेक्सास ।
अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरूको संस्था नेपाली समाज टेक्सासले आज अप्रिल ९ गते आइतबार स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण लामिछानेका बिहान ९ देखि दिउसो १ बजे सम्म चलेको उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना भएको थियो । शिविरमा डाक्टर झरना श्रेष्ठ, नीति पोख्रेल र शर्मिला श्रेष्ठले समेत निःशुल्क रूपमा सेवा प्रदान गर्नु भएको थियो । 

नेपाली समाज टेक्सासले लामो समय देखि स्वास्थ्य शिविर चलाउँदै आएको छ र यो त्यसको निरन्तरता हो। नेपाली समुदायमा लक्षित यो कार्यक्रमले स्वास्थ्य बिमा नभएका, अस्थायी रूपमा अमेरिकामा बस्ने, सानोतिनो उपचार र रोग पहिल्याउने कामको पहिलो खुड्किलो हुने गरेको छ। कतिपय नेपालीहरूको स्वास्थ्य बिमा नहुँदा डाक्टरको मुख देख्न नपाएर रोग पालेर बस्नु पर्ने अवस्था अमेरिकामा छ। डाक्टर संजिव श्रेष्ठको यो शिविरले त्यस्ता बिरामीहरुलाई सहयोग गर्छ। त्यस्तै बाबुआमा अमेरिका आए पछि छोटो अवधिको लागि स्वास्थ्य बिमा लिन नसकिने हुँदा छोराछोरीहरुले आफ्नो बाबु आमालाई जचाउन ल्याउन सक्छन्। त्यस्तै औषधि सिद्दिएका तर डाक्टरकोमा जानु नपर्ने हरुलाई पनि यो कार्यक्रमले फाइदा हुन्छ। यस्तो पुण्य कामको लागि आयोजक नेपाली समाज टेक्सस र स्वयंसेवी डाक्टर एवम् नर्सहरुलाइ हृदय देखि नै धन्यवाद दिनु पर्छ। 

आजको शिविरमा कुल ७० जना व्यक्तिहरूले स्वास्थ्य जाँच गराउनु भएको थियो भने ४५ जनाले रगत परीक्षण गर्ने सेवा लिनुभएको थियो। उक्त अवसरमा कमला लोहनी र मनिता मानन्धरले नर्सिङ्ग सेवा प्रदान गर्नु भएको थियो। त्यस्तै शिविर सम्पन्न गर्न सहयोग गर्ने स्वयंसेवीहरुमा निलिमा श्रेष्ठ, समृद्धि भुजेल हुनुहुन्थ्यो भने आजको शिविरको सम्पूर्ण संयोजन नेपाली समाज टेक्साससंग मिलेर कृष्ण लोहनी,दिनेश शर्मा र बादल भुजेलले गर्नु भएको थियो।

प्रतिक्रिया