अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

एन आर एन अमेरिकामा सदस्यता समयलाई लिएर विवाद

बिआरटीनेपाल २०७३ चैत ३ गते ८:३७ मा प्रकाशित

अमेरिका- एन आर एन अमेरिकाको आगामी मे मा हुने चुनावलाई मध्यनजर गरी सुरु गरिएको सदस्यता वितरण कार्य अरू चार दिनको समय थपिएको छ । मङ्गलवार दिउसो देखि नै समय थप गर्न पर्ने नपर्ने विषयमा विभिन्न तर्क विर्तक भएका थिए । सदस्यता वितरण सम्बन्धी छलफल गर्न बसेको एन आर एन अमेरिका कार्य समितिको बैठकले अन्तत ४ दिन समय थप गर्ने निर्णय गरेको थियो ।

बैठक नियमित रूपमा आव्हान गरिएको बैठकमा अधिकांश सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा २५ जना मध्यै २३ जनाको उपस्थिती रहेको जनाइएको छ । अधिकांश सदस्यहरू बैठकमा समय थप गर्न पर्ने पक्षमा थिए । अध्यक्ष डा. केशव पौडेलले नै समयावधि बढाउन पर्ने बताएका थिए । उनले कम्युटरको सर्भरमा समस्या उत्पन्न भएको र आइ सी सीले पनि समय थप गर्न पर्ने सुभाव सहितको पत्र पठाएको जनाएका थिए । उक्त पत्र सोनाम लामाले पठाएका थिए ।

उता वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रविना थापा, महासचिव तिलक श्रेष्ठ र कोषाध्यक्ष वेद बस्नेत लगायत सुशील रेग्मी, मोहन ज्ञवाली र आर पी खरेलले समय सीमा बढाउन नहुने विषयमा आफ्नो तर्क राखेका थिए । अध्यक्षले आफ्नो कुरा नसुनेको अवस्थामा उनीहरूले नोट अफ डिसेन्ट लेखेर दिएका थिए ।

कृष्ण पोखरेलको रोष
यसै बिच बैठकबाट वाहिरिए पछि संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले आजको बैठक प्रति रोष व्यक्त गरेका छन् । उनले आफू लगायत अन्य केही साथीहरूले वेभसाइट विग्रीएको समय बाहेक अन्य समय थपमा विरोध जनाएको बताए । उनका बताए “वेभ साइट जम्मा ८ घण्टा विग्रिएको थियो । जुन समय थप्नु सही हो । तर त्यो बाहेक बाकी समय किन थपियो हामीलाई थाहा भएन ।” उनले थप प्रसङ्गमा भने, “प्राविधिक समस्या पर्दा सदस्यता वितरणमा चलखेल भएको विषय बाहिर आयो । जुन विषय छानविन गर्न पर्ने हो । अव त झन् चार दिनको समय थपिएको छ यस अवस्थामा सदस्यता वितरणमा अरू चलखेल नहोला भन्न सकिन्न । यसैले संस्था प्रति जिम्मेवार व्यक्तिहरू अझ चनाखो हुन जरुरी छ ।”

बैठकमा उपाध्यक्ष राम पोखरेलले पनि आठ घण्टाको समय सीमा बढाउनु तर्क योग्य भएको बताएका थिए । तर उनले अध्यक्षको ४ दिनको प्रस्तावलाई विरोध भने गरेनन । त्यस्तै ४ दिनको समय सीमा बढाउने सन्दर्भमा अध्यक्षका उम्मेद्धार गौरी जोशीसँग पनि परार्मश गरिएको थियो । जसको नाम नवताउने सर्तमा एक पदाधिकारीले विरोध जनाएका छन् । उनको भनाइमा गौरीसँग मात्र परामर्श गरिनु शंकास्पद छ । सल्लाह लिनु नै थियो भने अध्यक्षका अन्य बाहिर रहेका उम्मेद्धारहरुसँग पनि लिन सकिन्थ्यो । स्वयम् निर्वतमान अध्यक्ष खगेन्द्र जी सी पनि सदस्यता वितरण ४ दिन लम्याउन नहुने पक्षमा थिए । ती सदस्यको प्रश्न थियो, “सबैलाई लत्याएर गौरी जोशीसँग परामर्श गर्नुको तात्पर्य के थियो ?”

उता अर्का केन्द्रीय पदाधिकारी सूर्य लम्सालका अनुसार समय सीमा वढाउनुमा दुई तर्कले काम गरेको थियो । पहिलो आइ सी सी वाट प्राप्त पत्र हो भने दोस्रो विद्यानमा ६० दिन अघि सम्म सदस्यता वितरण कायम रहनु पर्छ । उनका अनुसार जुन आइतबार सम्म कायम रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू