अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

आङकाजी शेर्पाको प्रश्न- ‘हाम्रा शेर्पा सांसदहरु ज्यूँदै त छन् ?’

बिआरटीनेपाल २०७३ फागुन २९ गते १३:०७ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पा किसानले ‘अधिकारका लागि आन्दोलन गर्न र सदनमा शेर्पाको अधिकारका बारेमा शेर्पा प्रतिनिधीहरुले आवाज उठाउन नसकेको’ आरोप लगाए । उनले भने ‘हाम्रा तीन जना शेर्पा सभासद्हरु ज्यूँदै त छन ? भनेर खोज्ने बेला भएको छ ।’ शेर्पा सभासद्हरुले अधिकारका लागि आवाज उठाउन नसक्दा अधिकार गुम्ने खतरा बढेको बताउँदै उनले भने ‘के भत्ता पचाउनका लागि मात्रै संसद मन्त्री भएका हु्न त ?’

पार्टी प्रदेश संगठन ‘शेर्पा प्रदेश समिति’ले राजधानीको बौद्धमा आयोजित लोसार शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा अतिथिको सहभागि भएका आदिवासी जनजाति महासंघका पूर्वमहासचिव समेत रहेको नेता किसानले भने ‘सदियौंदेखि हिमाली क्षेत्रको रक्षा गरेर आफ्नो गौरब बनाएका शेर्पा समुदायलाई अधिकार सम्पन्न बनाउँदै सम्मानका लागि शेर्पा प्रदेश स्थापना जरुर भएको छ ।’

शेर्पालाई प्रदेश दिन्न भन्ने अधिकार कसैलाई पनि नभएको दाबी गर्दै नेता शेर्पाले कडा शब्दमा भने ‘कसैले त्यसो भन्छ भने हालत खराब बनाइदिन्छौं ।’ शेर्पा समुदायका सामाजिक संस्थाहरु उनकै शब्दमा ‘मुख देखाउने’ काम मात्रै नगर्न भने । एमालेप्रति तिब्र असन्तोष पोख्दै नेता शेर्पाले पहिचान विरोधी पार्टी एमाले नै भएको र मुलुकलाई अन्यौलमा पार्ने काम गरेको आरोप लगाए । ‘आदिवासी, मधेशीलाई बाँदर भन्ने अधिकार केपी ओलीलाई छैन बरु अहिले उनको चरित्र चाँही त्यस खाले देखिँदै छ ।’ उनले थपे ।

कार्यक्रममा केन्द्रीय सदस्य आङ देण्डी शेर्पाले आधा मुलुक हर्ष र आधा शोकमा रहेको बताए । शेर्पा प्रदेश इन्चार्ज समेत रहेका शेर्पाले भने ‘होली नआउँदै ओली तराई झरेर रगतको होली खेली सके ।’ पहिचानलाई दस्तावेजीकरण गर्न आफूहरुको आन्दोलन भएको बताउँदै राज्य एकात्मक नश्लवादी चरित्रले अघि बढीरहेको आरोप समेत उनले लगाए । प्रदेश समितिका सदस्य रिन्जी शेर्पाको संयोजकत्वमा आयोजित कार्यक्रममा शेर्पा संघसंस्था, पार्टी बरिष्ठ नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू