अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

सिकागोमा एन.आर.आर.एन.को कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन २५ गते १४:०९ मा प्रकाशित

गत मार्च ५ तारिख २०१७ आइतबारका दिन एन.आर.एन.इलिनोई च्याप्टरको आयोजनामा १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस तथा एन.आर.एन.को “मेम्बरसिप ड्राइभ” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । एन. आर.एन. केन्द्रीय समन्वय समिति अमेरिकाका अध्यक्ष डा.केशव पौडेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका विशेष अतिथि नेपाल सरकारका पूर्व पर्यटन मन्त्री रेवती प्रसाद भुषाल हुनुहुन्थ्यो I त्यस्तै अतिथिका रूपमा केन्द्रबाट आमन्त्रित एन.आर.एन., एन.सी.सी.का प्रथम उपाध्यक्ष कृष्ण पोख्रेल, क्षेत्रीय उपाध्यक्ष राम सी.पोख्रेल, एन.आर.एन., एन.सी.सी.का सल्लाहकार सुनिल शाह तथा एन.सी.सी. महिला को-अर्डिनटर राधा पौडेल हुनुहुन्थ्यो I 

कार्यक्रमलाई सम्बोधन गर्दै एन.सी.सी. महिला को-अर्डिनटर राधा पौडेलले नेपाली समाज जस्तो परम्परागत समाजमा समय सापेक्ष सुधारका लागि महिलाले खेल्न भूमिकाका सम्भावनाका बारेमा प्रस्ट पार्दै अमेरिकामा बसेर आफूले देखेको लैंगिक समानताको विशेषतालाई मनन गरी एन.आर.एन. मार्फत नेपालका पिछडिएका क्षेत्रका दिदी बहिनीहरू सम्म चेतना मूलक कार्यक्रमहरू लिएर जानु पर्ने बताउँदै बढी भन्दा बढी गैह्र आवासीय नेपालीहरूले एन.आर.एन.को सदस्यता लिनु पर्ने कुरा बताउनु भयो I अतिथिकै आसन बाट एन.आर.एन., एन.सी.सी.का सल्लाहकार सुनिल शाहले विश्वको विकसित मुलुकमा हामी बसे पछि यहॉको विकासका अबधारणाहरु लाई हाम्रो देश सम्म लैजाने एउटै सूत्र भनेको एन.आर.एन.भएको हुनाले सबैले यो एन.आर.एन.को सदस्यता लिनु पर्ने कुरा बताउनु भयो I सिकागोको स्थानीय संस्स्था सिकागोल्याण्ड नेपाली फ्रेन्डसिप सोसाइटिका अध्यक्ष टेकराज पौडेलले एन.आर.एन. एउटा संस्था मात्र नभई यो एउटा अभियान भएको हुनाले यसलाई अझ सहभागिता मूलक बनाउनु पर्ने कुरामा जोड दिनु भयो I नेपाल सरकारका पर्यटन दुत बाला घिमिरेले एन.आर.एन. लाई अझ सबल बनाई नेपालको आर्थिक विकासमा समेत सहभागी बनाउनु पर्ने कुरा बताउनु भयो I 

एन.आर.एन.का प्रथम उपाध्यक्ष कृष्ण पोखरेलले आगामी दिनमा एन.आर.एन.लाई अझ क्रियाशील बनाउदै गैह्र आवासीय नेपालीहरूको हितमा प्रयोग गर्न सकिने भएको हुनाले सबै प्रवासी नेपालीहरूले यसमा हातेमालो गर्नु हुने आशा व्यक्त गर्नु भयो I क्षेत्रीय उपाध्यक्ष राम सी पोख्रेलले एन.आर.एन.लाई अझै सबैको पहुच पुग्ने संस्थाको रूपमा अगाडी लैजानु पर्ने बिचार व्यक्त गर्नु भयो I विशेष अतिथिको आसनबाट नेपाल सरकारका पूर्व पर्यटन मन्त्री रेवती प्रसाद भुषालले नेपालको सर्बाङ्गिण बिकासकालागि एन.आर.एन. अमेरिका एउटा ठुलो साझेदारको रूपमा उपस्थित हुन लागेको हुनाले सबै गैह्र आवासीय नेपालीहरूलाई यो अभियानमा सहभागी हुन अनुरोध गर्नु भयो I स्थानीय समाजसेवी तथा नेपाल अमेरिकन सेन्टरका अध्यक्ष डा.विष्णु फुयालले एन.आर.एन. को महत्त्व माथि प्रकाश पार्दै आगामी दिनमा यसलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ सबैको ध्यान जानु जरुरी भएको बिचार व्यक्त गर्नु भयो I प्रमुख अतिथिको आसानबाट एन.आर.एन. केन्द्रीय समन्वय समितिका अध्यक्ष डा.केशव पौडेलले स्थापनाकाल देखि नै एन.आर.एन. ले सबै गैह्र आवासीय नेपालीको साझा घरको भूमिका निर्वाह गर्दै आएको र आफ्ना सीमित स्रोत साधनलाई अधिकतम उपयोग गरी सर्वसाधारणको हितका धेरै कामहरू गरेको कुरा बताउँदै आगामी दिनमा गरिने अल्पकालीन तथा दीर्घकालीन योजनाहरुका बारेमा प्रस्ट पार्दै एन.आर.एन.लाई बढी भन्दा बढी जनसहभागिताको खाँचो रहेको कुरा प्रस्ट पार्दै आगामी मार्च १५ तारिख सम्म एन.आर.एन.को सदस्यता लिएर सो अभियानमा सहभागी हुन जनसमुदायलाई आग्रह गर्नु भयो I सो अवसरमा एन.आर.एन.इलिनोई च्याप्टरका सचिव सत्यनारायण चौधरीले विगत दुई वर्षमा गरिएका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै स्टेट च्याप्टरका आगामी दिनको योजनाहरूको जानकारी दिनु भएको थियो I 

एन. आर. एन. इलिनोई च्याप्टरले सिकागोल्याण्ड मा एउटा सामुदायिक भवनको निर्माणकालागि सबै स्थानीय सङ्घ संस्था र बुद्धिजीवीहरू सँग छलफल गरी ठोस निकास निकाल्न पहल गर्ने निर्णय अनुरूप च्याप्टरको तर्फबाट पारित गरिएको “अवधारणा पत्र” सार्वजनिक गर्नु भएको थियो I स्थानीय समाज सेवी दक्षिणा दाहालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा सिकागोल्याण्ड नेपाल फ्रेन्डशिप सोसाइटिकि सदस्य सृजना चापागाईंले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो I कार्यक्रममा नेपाली जन सम्पर्क समिति इलिनोइई च्याप्टरका अध्यक्ष भोजराज घिमिरे, एनमाका भूतपूर्व अध्यक्ष तथा छिमेकी राज्य ईण्डियानाका समाजसेवी गोपेंद्र भट्टराई, मधेसी अमेरिका एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र चौधरी, थारु एण्ड फ्रेन्ड एसोसिएसनका उपाध्यक्ष काशी प्रसाद सिंह, सिकागोल्याण्ड थारु सोसाइटीका अध्यक्ष सुरेन्द्र चौधरी, आइवाका स्थानीय व्यवसायी तथा एन.आर.एन.अभियन्ता पुरुशोत्तम बोहोराले पनि सम्बोधन गर्नु भएको थियो I सो कार्यक्रमको अध्यक्षता गर्न इलिनोइ च्याप्टरका अध्यक्ष सुमन बस्तीलाई अनुरोध गर्दा अन्तर्राष्ट्रिय महिला दिवसको दिन भएको हुनाले सो कार्यक्रमको अध्यक्षता स्थानीय मैया देवी कार्कीलाई समर्पण गरी आफू अतिथिको रूपमा बस्नु भएको थियो I कार्यक्रमको अन्त्यमा सहभागीहरुका जिज्ञासालाई एन.आर.एन., एन.सी.सी.का प्रथम उपाध्यक्ष कृष्ण पोख्रेल र क्षेत्रीय उपाध्यक्ष राम सी पोख्रेलले सम्बोधन गर्नु भएको थियो I 

 

प्रतिक्रिया