अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

डिसीमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम हुने

बिआरटीनेपाल २०७३ फागुन १५ गते १७:५१ मा प्रकाशित

वासिगंटन डिसी स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित गैर राजनीतिक तथा गैर नाफा मूलक संस्था-भिजन फर नेपाल फाउन्डेसनले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका प्रत्याशीहरुको लागि सार्वजनिक बहस कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

भिजन फर नेपाल फाउन्डेसनले विगतमा पनि एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुलाई एकै थलोमा ल्याई डिसी महानगर क्षेत्रमा यस्तै सार्वजनिक बहस कार्यक्रमको आयोजना सफलता पूर्वक सम्पन्न गरेको थियो ।

विश्वमै अनुकरणीय मानिने प्रजातांत्रिक शैली, खुला प्रतिस्पर्धा, र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्क अनि बहसको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपतिको चुनावी दौरानमा गरिने राष्ट्रपतीय बहसलाई मध्यनजर गरेर उस्तै शैली र तयारीका साथ गरेको २०१५ को बहसले उम्मेदवारहरुलाई आफ्ना तर्क प्रस्तुत गर्न एक साझा चौतारी उपलब्ध गराएको स्मरण गराएको छ ।

फाउन्डेसनले यसको साथै नेपालीहरूलाई आफ्नो नेता छनौट लागि आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गरेको थियो भनी प्रेस विज्ञप्तिमा जनाएको छ । आगामी बहस विगतको जस्तै एनआरएन अमेरिकाको चुनावको लागि दरखास्त आह्वानको म्याद सकिए पछिको पहिलो आइतबारका दिन आयोजना गर्ने निर्णय अनुसार अप्रिल १६ तारिखका लागि तोकिएको छ ।

बहसलाई निष्पक्ष, अझ बढी स्वतन्त्र एवं प्रभावकारी ढगंले अगाडि बढाउनका लागि भिजन फ़र नेपाल फाउण्डेसनले आर्थिक पत्रकार विजय घिमिरेलाई पनि समावेश गर्ने निर्णय गरेको जनाएको छ ।

एनआरएन युएसए अध्यक्ष पदका सबै प्रत्यासिहरूले आफूहरू अप्रिल १६, २०१७ को दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा हुने उक्त बहसमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरी सकेको फाउन्डेसनका अध्यक्ष कृष्ण शर्मा द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाएका छन् ।

अहिले सम्म अध्यक्षको उम्मेदवारको घोषणा गरेका अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा, डा. केशव पौडेल, कृष्ण पोख्रेल, राम सि पोखरेल, गौरी जोशी तथा दुर्गा दाहालले सहभागी हुने जनाएको कुरा उल्लेख गरिएको छ ।

यो बहसले मतदाताहरूलाइ आफ्नो प्रतिनिधि छान्न सहयोग हुने विश्वास भिजन फ़र नेपाल फाउण्डेशनको छ भने ९० मिनट लामो बहसमा प्रत्यासिहरूले आफ्ना कुरा राख्नुको साथसाथै दर्शकदीर्घा लगायत विभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने अवसर पाउने छन् ।

यसै गरी बहस कार्यक्रम स्थानीय टी. भी.बाट प्रत्यक्ष प्रसारण हुनुका साथै विभिन्न सामाजिक सञ्जालहरूबाट समेत प्रसारण हुनेछ । बहस कार्यक्रममा सहभागी हुनका लागि भिजन फ़र नेपाल फ़ाउन्डेशनले सबै नेपाली समुदायलाई अनुरोध गरेको छ l

विविध कारणवश बहसमा प्रत्यक्ष सहभागी हुन नसक्नेहरूले आफ्ना प्रश्न एवं जिज्ञासाहरू vfornepal@gmail.com मा पठाएर सहयोग गर्न समेत सक्ने र अवसर पाउने छन् ।

यसको साथै प्रत्यक्ष प्रसारणको समयमा प्राप्त प्रश्नहरूको जिकीर गरिने छ तर उम्मेदवारहरूलाई प्रश्न सोध्न नसकिने जानकारी गराएको छ । अन्य उम्मेदवारहरुमा न्युयोर्कका तेम्बा शेर्पा पनि रहेका छन् भने अन्य उम्मेदवारको घोषणा सँगै उक्त बहस कार्यक्रममा आमन्त्रण गरिने शर्माले बताएका छन् l

प्रतिक्रिया