अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

अंगीकृत नागरिकता पाएका एकाध अपराधीको नाममा संविधान संशोधन गर्न सकिन्न-पशुपती चौलागाई

बिआरटीनेपाल २०७३ माघ २५ गते १:४९ मा प्रकाशित

नेपाल एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले मधेशमा अंगीकृत नागरिकता पाएका एकाध अपराधिको नाममा संविधान संशोधन गर्न नसकिने बताएका छन् । मंगलवार रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता चौलागाईले मधेशी जनता संविधान संशोधनको पक्षमा नभएकोले वर्तमान ब्यवस्थापिका संसदले संविधान संशोधन गर्न नसकिने बताएका हुन् ।

संविधान संशोधन मधेशी जनताको माग नभई मधेशका एकाथ अंगीकृत नागरिकता पाएको ब्यक्तिको माग भएको उनको आरोप छ । मधेशी मोर्चाकोे नाममा जो संगठीत भएर आएका छन् तिनीहरु मधेशी जनताविरोधी, राष्ट्रविरोधी भएको उनले बताए ।

मधेशका भोका नांगा र गरिवी जनताको माग नउठाउने मधेशी मोचा देश विभाजन गर्ने कुरा उठाउनेहरु अपराधीक कार्य गरिरहेको भन्दै उनले निर्वाचनबाट दुई तिहाई ल्याएर संविधान संशोधन गर्न मधेशी मोर्चालाई चुनौती समेत दिएका छन्

आजको आवश्यकता संविधान संशोधन नभई निर्वाचन भएको बताउँदै सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने कार्य गरिरहेको उनले बताए ।

९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई केहि मधेशवादी नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउँदै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार निर्वाचन नगर्न नाटक मञ्चन गरिरहेको र सरकारले रञ्जित रे लाई रिजाउन निर्वाचन जेठसम्म गर्ने भनेर नाटक मञ्चन गर्दै रेको निर्देशन कुरेर बसेको उनको आरोप छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वर्तमान प्रधानमन्त्री दाहालले सत्ता हस्तान्तरण नगर्लान र सत्ता समीकरण परिवर्तन भएर प्रधानमन्त्री बन्न नपाइएला भन्ने चिन्तामा रहेकाले मधेशी मोर्चालाई संविधान संशोधनपछि मात्र निर्वाचनको आश्वासन दिएको आरोप लगाउँदै चौलागाईले कांग्रेसभित्र निर्वाचन गराउने र नगराउने दुई धार रहेकाले कांग्रेसको इतिहासलाई ख्याल गर्दै शक्ति केन्द्रको निर्णय नकुर्न कांग्रेस सभापति देउवालाई आग्रह समेत गरे ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचन गर्न नाचाहेको भन्दै रञ्जित रेको निर्देशन कुरेर बसेको तर एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताउँदै निर्वाचन गर्न नसके सरकारको औचित्यता समाप्त हुने उनले दावी गरे ।

सरकारले बैशाखको अन्तिम सातासम्म निर्वाचन गर्ने वातावरण बनाउनुपर्ने बताउँदै निर्वाचनको मिति घोषणा नगरेर सरकारले निर्वाचन गर्न नाचाहेको स्पष्ट भएको बताउँदै जेठको पहिलो सातासम्म पनि निर्वाचन गर्न नसकिए त्यसपछि बजेटका विषयमा छलफल गर्नुपर्ने र बर्खा सूरु हुने भएकाले तत्काल निर्वाचन मिति घोषणा गर्न सरकारलाई उनले आग्रह गरेका छन् ।

दस वर्षसम्म कथित जनयुद्ध गरेका पुष्पकमल दाहालले केहि शक्ति केन्द्रको निर्देशनमा चल्नु जनताको निम्ति लाजमर्दो र जनघाती कार्य भएको बताउँदै निर्वाचनबाट नभाग्न समेत उनले आग्रह गरेका छन् ।

दुनियामा सत्तापक्ष निर्वाचनको पक्षमा हुने गरेको भएपनि नेपालमा भने कहि नभएको प्रतिपक्षले निर्वाचन गर भन्दा पनि नगर्ने सरकार निर्वाचनबाट डराइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू