अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

फेरी पर्‍यो नेपाल सर्वाधिक भ्रष्टाचार हुने मुलुकको सुचिमा

बिआरटीनेपाल २०७३ माघ १२ गते १:४९ मा प्रकाशित

भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल १३१ औँ स्थानमा परेर ‘भ्रष्टाचारको सुचि भित्र रहेको छ । आज सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१६’ प्रतिवेदन अनुसार नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ ।

प्रतिवेदनअनुसार नेपालमा सुशासनको कमीका कारण भ्रष्टाचार निवारण हुन नसकेको देखिएको छ । प्रतिवेदनले भ्रष्टाचार र सामाजिक असमानता एक अर्काका परिपूरक हुन् र यसले राजनीतिप्रति निराशा पैदा गर्छ भनी उल्लेख गरेको छ ।

सूचकाङ्कमा समावेश गरिएका १७६ देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ ।

त्यस्तै छिमेकी मुलुक चीन ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा रहेको छ भने दक्षिण एसियाली मुलुकमध्ये भुटान ६५ अङ्क प्राप्त गरी २७ औँ स्थानमा, भारत ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा, मालदिभ्स र श्रीलङ्का ३६ अङ्क प्राप्त गरी ९५ औँ स्थानमा, पाकिस्तान ३२ अङ्कले ११६ औँ स्थानमा, नेपाल २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४५ औँ स्थानमा र अफगानिस्तान १५ अङ्क प्राप्त गरी १६९ औँ स्थानमा रहेका छन् ।

संस्थाका अध्यक्ष श्रीहरि अर्यालका अनुसार नेपाल गत वर्ष १६८ मुलुकमध्ये २७ अङ्क प्राप्त गरी १३० औँ स्थानमा रहेको थियो । सो संस्थाले सन् १९९५ देखि प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको र नेपाललाई २००४ देखि समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू