अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

अमेरिकी राष्ट्रपति ट्रम्पको जीवनकथा

बिआरटीनेपाल २०७३ माघ ९ गते २२:१३ मा प्रकाशित

धेरै अघि, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको प्रत्यासी हुनु अघि, उनी अमेरिकाका एकदमै चर्चित र रँगिलो मिजासका अर्बपति थिए ।

एकताका असम्भव ठानिएको यात्रा तय गरेर उनी अहिले अमेरिकाको राष्ट्रपति भएका छन्। आप्रवासीको मुद्दा र अस्वाभाविक चुनाव प्रचारप्रसारको शैलीका कारण मात्रै होइन उनको आफ्नै विवादास्पद विगतका कारण पनि उनको उम्मेद्वारीलाई शंकाभावले हेरिएको थियो।

तर ७० वर्षीय व्यापारीले रिपब्लिकन पार्टी तर्फको उम्मेदवारीको प्रारम्भिक दौडमा अनुभवी राजनीतिज्ञहरुलाई हराएर सबै पूर्वानुमानहरु तोडे। त्यसपछि उनले एक कदम अगाडि बढेर डेमोक्रेटिक पार्टी तर्फकी प्रत्यासी हिलरी क्लिन्टनसँगको अहिलेसम्म देखिएको एउटा सबैभन्दा विभाजित र विवादित प्रतिस्पर्धा भएको राष्ट्रपतीय चुनाव जिते।

प्रारम्भिक जीवन
न्यूयोर्कका घरजग्गा कारोबारका शक्तिशाली उद्योगपति फ्रेड ट्रम्पका डोनाल्ड चौथो सन्तान हुन् । परिवार धनी भए पनि उनले आफ्नो पिताको कम्पनीमा तल्लो तहमा काम गर्नुपर्थ्यो। १३ वर्षको उमेरमा स्कुलमा खराब व्यवहार गरेका कारण उनलाई सैनिक विद्यालयमा पठाइएको थियो। उनले पेन्सिल्भानिया विश्वविद्यालयको ह्वार्टन स्कुलमा पढेका थिए। जेठा दाजु फ्रेडले पाइलट बन्ने इच्छा देखाएपछि, पिताको विरासत सम्हाल्ने सम्भावित उत्तराधिकारीमध्ये डोनाल्ड अग्रपङ्क्तिमा आइपुगे।

अत्यधिक मदिरा सेवनका कारण दाजु फ्रेड ट्रम्प जुनयरको ४३ वर्षको उमेरमै निधन भएको थियो। सो घटनाका कारण ट्रम्पले मदिरा र चुरोटबाट जीवनभर आफूलाई टाढा राखेको उनका भाइले बताएका छन्। डोनाल्ड ट्रम्पले आफ्नो पिताको कम्पनीमा काम गर्नुअघि पितासँग १० लाख डलर ऋण लिएर घरजग्गाको काम थालेको थिए । ट्रम्पले सन् १९७१ मा बुवाको कम्पनी आफ्नो मातहतमा लिएर ‘ट्रम्प अर्गनाइजेसन’ को नाम दिनु अघि आफ्ना पिताको न्यूयोर्कस्थित थुप्रै आवासीय परियोजनाहरुलाई व्यवस्थित गर्न मद्दत गरे। उनका पिताको सन् १९९९ मा निधन भएको थियो। ट्रम्प आफ्ना पितालाई आफ्नो प्रेरणा मान्छन्।

व्यापारका बादशाह
ट्रम्पले आफ्नो परिवारको ब्रुकलिन र क्विन्सस्थित आवासीय परियोजनालाई महँगो म्यानह्याटनमा फैलाए। उनले बन्द हुने अवस्थामा पुगेको कोमोडोर होटललाई ग्र्यान्ड हायात मा रूपान्तर गरेका थिए र म्यानह्याटनको मुटुमा रहेको फिफ्थ एभेन्यूमा ६८ तल्लाको चर्चित ट्रम्प टावर बनाएका थिए। उनका अन्य चर्चित सम्पत्तिहरुमा ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प इन्टरन्यासनल होटेल र अरू थुप्रै छन्। मुम्बई, इस्तानबुल र फिलिपिन्समा पनि ट्रम्प टावरहरु छन्। ट्रम्पले मनोरञ्जन व्यवसायमा पनि आफ्नो साम्राज्य बनाएका छन्। सन् १९९६ देखि सन् २०१५ सम्म उनी मिस युनिभर्स, मिस यूएसए, तथा मिस टिन यूएसए जस्ता सुन्दरी प्रतियोगिताका मालिक थिए।

सन् २००३ मा उनले द एप्रेनटीस नामको रियालिटि सो कार्यक्रम एनबिसी टेलिभिजनमा चलाएका थिए, जसमा प्रतियोगीहरुले ट्रम्प सङ्गठनमा व्यवस्थापन तहको जागिरका लागि प्रतिस्पर्धा गर्थे। उनले उक्त कार्यक्रम १४ श्रृंखलासम्म चलाएका थिए र वित्तीय विवरणमा उनलाई उक्त टेलिभिजन नेटवर्कले कार्यक्रम चलाए बापत २१ करोड डलर भन्दा धेरै तिरेको उल्लेख छ।

उनले थुप्रै किताबहरू पनि लेखेका छन्। साथै उनी गलामा लगाउने टाईदेखि पानीका बोटलहरु बनाउने उद्योगसम्मका मालिक हुन्। फोर्ब्स पत्रिकाका अनुसार उनीसँग कुल ३.७ अर्ब डलर सम्पत्ति छ। तर ट्रम्प स्वयम्ले भने आफूसँग १० अर्ब डलर रहेको बताउँदै आएका छन्।

पिता र पति
ट्रम्पले तीन पटकसम्म विवाह गरेका छन्। यद्यपि उनको सबैभन्दा चर्चित श्रीमती, पहिली, इभाना जेलनिकोभा हुन्, जो एक जना खेलाडी र मोडल हुन्। उनीसँग ट्रम्पले सन् १९९० मा पारपाचुके गर्नुअघि जन्मिएका डोनल्ड जुनिएर, इभान्का र इरिक गरी तीन सन्तान भए। पारपाचुकेका क्रममा अदालतको लडाइँबारे पत्रपत्रिकाहरुमा थुप्रै खबरहरु आउने गर्थ्यो। 

त्यस्ता खबरहरुमा ट्रम्पले श्रीमती इभानामाथि दुर्व्यवहार गरेको आरोपहरू लगाइएको थियो, तर पछि उनले त्यस्ता आरोपहरुलाई कम महत्त्व दिइन्। ट्रम्पले सन् १९९३ मा नायिका मार्ला म्यापल्ससँग विवाह गरे। उनीहरूले सन् १९९९ मा पारपाचुके गर्नुअघि, उनीहरूबाट टिफानी नाम गरेकी एक छोरी जन्मिएकी थिइन्। ट्रम्पको अहिलेकी श्रीमती मेलानिया नर्स हुन्, जोसँग ट्रम्पले सन् २००५ मा विवाह गरेका थिए। उनी एक मोडल हुन्, जसबाट उनीहरूको ब्यारन विलियम नामका एक छोरा छन् । पहिलो श्रीमतीबाट जन्मिएका सन्तानले अहिले ट्रम्प अर्गनाइजेसन चलाउन मद्दत गरिरहेका छन् । यद्यपि उक्त संगठनकको प्रमुख कार्यकारी उनी नै छन्।

ट्रम्पले सन् १९८७ मै अमेरिकी राष्ट्रपतिको दौडमा उत्रने इच्छा देखएका थिए। सन् २००० मा उनले रिफर्म पार्टीको उम्मेदवारको रूपमा चुनावी दौडमा प्रवेश पनि गरेका थिए। सन् २००८ मा उनी ‘बर्थर’ आन्दोलनका एक जना मुख्य सदस्य बनेका थिए, जुन आन्दोलनले बराक ओबामा अमेरिकामै जन्मिएका हुन् कि होइनन् भन्ने प्रश्न उठाएको थियो। त्यस्ता दाबीहरु पूर्ण रूपमा गलत साबित भए।

ट्रम्पले चुनावी प्रचारप्रसारका क्रममा आफ्ना ती दाबीहरुमा सत्यता नभएको स्वीकारेका थिए। तर उनले त्यसबारे माफी भने मागेनन्। सन् २०१५ को जुन महिनामा मात्र ट्रम्पले औपचारिक रूपमा आफू ह्वाइट हाउसको दौडमा प्रवेश गरेको घोषणा गरेका थिए। उनले आफू चुनावी दौडमा उत्रने घोषणा गर्दै देशलाई फेरि महान् बनाउनका लागि कोही एक जना आवश्यक रहेको र त्यो आफूले गर्नसक्ने बताएका थिए।

अमेरिकालाई फेरि महान् बनाऊ भन्ने ब्यानर अन्तर्गत उनले अमेरिकाको अर्थतन्त्रलाई सुदृढ बनाउने, मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने, आप्रवासी मुसलमानहरुको प्रवेशमाथि अस्थायी रूपमा प्रतिबन्ध लगाउने जस्ता टिप्पणी गरेका थिए।

उनको चुनावी अभियानको विरोधमा व्यापक रूपमा प्रदर्शन भए पनि र रिपब्लिकन तर्फका प्रत्यासीहरु टेड क्रुज र मार्को रुबियोले कडा टक्कर दिए पनि ट्रम्पले पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवारी जितिछाडे।

राष्ट्रपति पदका लागि भएको चुनावी अभियान निकै विवादास्पद बनेको थियो। सन् २००५ ताका उनले महिलाहरुबारे व्यक्त गरेका भद्दा टिप्पणीदेखि उनकै पार्टीका सदस्यहरूले उनी ह्वाइट हाउसका लागि उचित नहुनेसम्मका प्रतिक्रियाहरु दिएका कारण उनी विवादित बनिरहे। तर उनले निरन्तर रूपमा डेमोक्रेटिक तर्फकी हिलरी क्लिन्टनले जित्ने भनी देखाइएका मत सर्वेक्षणलाई चुनौती दिएका थिए। आफ्नो जितले राजनीतिक संस्थापनलाई धक्का दिने उनले निरन्तर बताउँदै आए।

With 1st wife Ivana Trump

मतदानको दिन नजिकिँदै गर्दा धेरै जानकार र पण्डितहरुले भन्दै आएको भन्दा विपरीत हुन गयो। उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको इमेल प्रयोगबारे सङ्घीय जाँझ ब्यूरोको अनुसन्धानबारे पटकपटक उब्जिएको विवादले ट्रम्पको चुनावी अभियानलाई मद्दत पुर्याएको थियो। उनको शानदार जितले निम्त्याएको आश्चर्यलाई सबै अमेरिकीले बिस्तारै ग्रहण गर्दै गर्दा उनका समर्थकहरुले भने उनलाई राष्ट्रपति कार्यालयमा देख्ने अवसार पाए, जहाँ उनी र राष्ट्रपति ओबामाले चुनावको दुई दिनपछि सत्ता हस्तान्तरणबारे वार्ता गरे।

उनी अमेरिकाको पहिलो त्यस्ता राष्ट्रपति हुन्, जसले पहिला न कुनै निर्वाचित पद ग्रहण गरेका थिए न सेनामा नै सेवा गरेका थिए। यसको अर्थ हो, उनले सन् २०१७ को जनवरी २० मा अमेरिकाको ४५ औँ राष्ट्रपति हुनु पहिला नै इतिहास बनाइसकेका छन्। बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू