अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको डालास सम्मेलन-मेरो अनुभव – सुजन पण्डित

बिआरटीनेपाल २०७३ माघ ४ गते २२:४३ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ वार्षिक सभा “Enhancing Unity & Integration— Our Action for Vision 2020 and Beyond” भन्ने नाराका साथ टेक्ससको डालास सहरमा यही जनवरी १४,२०१६ का दिन सम्पन्न भएको छ। नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतद्वारा उद्घाटित समारोहमा अमेरिकाका विभिन्न राज्यहरुबाट करिब ४०० जति सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पहिलो पटक मिडिया प्रतिनिधिका हैसियतले सहभागी भएकोले NRNA-America का गतिबिधीहरुबारे केही नजिकबाट जान्ने मौका मिल्यो। दशहजार बढी सदस्य रहेको संस्थाको वार्षिक सभामा पाँच प्रतिशत भन्दा पनि कम सदस्यको उपस्थिति हुनु त्यति उत्हासित गर्ने समाचार त होइन, तैपनि आफ्नो निजी खर्चमा जति नेपालीहरूको सहभागिता भयो त्यसलाई सकारात्मक रूपमा नै लिनु पर्दछ। कार्यक्रमको प्रचार-प्रसारका बेला समेत ५०० जतिको सहभागिता हुने भनिएकोले आयोजकहरुले अपेक्षा गरेकै सङ्ख्यामा सहभागीहरू आएको हुनु पर्छ । 

नेपाली काँग्रेसका नेता एवं परराष्ट्रमंन्त्री नै प्रमुख अतिथि भएकाले पनि होला सभामा अधिकांश सहभागी नेपाली काँग्रेस कै राजनीतिक दर्शनलाई मान्ने जन सम्पर्क समितिका सदस्यहर नै देखिन्थे। सभाहल बाहिर चर्चा सुनिन्थ्यो-‘गैर आवासीय नेपालीसंघ अमेरिकाको बार्षिकसभा नेपाली काँग्रेसको भातृसंगठनको सम्मेलन झैँ लागिरहेछ।’ जन सम्पर्क समितिका अध्यक्षले आफ्नो मन्तव्यका दौरान ९० प्रतिशत सहभागी जन सम्पर्क समितिका सदस्य रहेका खुलासा गरिदिएर पनि बाहिरी चर्चालाई सही साबित गरिदिए।

वार्षिक सभा आयोजक समितिका संयोजक एवं एनआरएन अमेरिकाका उपाध्यक्ष रामसी पोखरेल र NRNA-NCC-USA Texas Chapter र नेपाली समाज टेक्ससको सक्रियताले सभा आयोजना र व्यवस्थापन राम्रोढंगबाट भएको हो भन्न कन्जुस्याईं गरिराख्नु पर्दैन। नेपाली पन्चेबाजा सहित डालासका स्थानीय सङ्घ-संस्थाहरूको झाँकी प्रदर्शनले अधिकांश सहभागीको मन जितेको थियो। लाग्थ्यो, नेपालकै कुनै सहरमा कार्यक्रममा सहभागी भैएकोछ। स्थानीय ‘नेटिभ अमेरिकन’हरुको Cowboys नृत्य लगायत नेपाली कलाकारहरूको गीत-नृत्य प्रस्तुति निकै सुन्दर थिए। कार्यक्रमको सुरुवात पुरै नेपालमय थियो र नेपालीमनहरुलाई “नोस्टाल्जिक” बनाईदिने खालको थियो। भव्य नेपाली शैलीको आरम्भका लागि डालासका स्थानीय आयोजकहरु रामसी पोखरेल, कृष्ण लामिछाने, उत्तम लामिछाने, इन्द्रेणी कल्चरल एशोसिएसन लगाएतका सबै व्यक्ति सङ्घ-संस्थाहरू धन्यवादका लायकछन् । उदघाटन सत्रमा स्थानीय सहर इनिसकी मेयरको उपस्थितिलाई अमेरिकी राज्य संयन्त्रसंग नेपाली समुदायको सहकार्य बढ्दै गरेको थाहा हुन्छ। 

समय व्यवस्थापन, प्लेनरी, विषयगत छलफलको संयोजन, वक्ता चयन र प्रस्तुतिमा भने आयोजकहरुको कमजोरी प्रस्टै देखिन्थ्यो। एकदिने सभा, त्यसमा पनि लम्बेतानका वक्ताहरु सहितको उदघाटन समारोहले आधा समय खाईदिए पछि महत्त्वपूर्ण विषयवस्तुहरुमा साधारण सदस्यहरुका बिचमा छलफल र अन्तरक्रियाका लागि समय पुग्ने त कुरै भएन । मुख्य विषयहरू कम प्राथमिकतामा पर्नेगरि गरिने निकै “लामो र पट्ट्यार” लाग्ने उद्घाटन समारोहहरुको नेपाली संस्करणको फर्म्याट् परिवर्तन गर्न नसक्नु अमेरिकामा रहेका प्राय सबै नेपाली सङ्घ-संस्थाहरूको कमजोरी हो।

गठन पछि पहिलो पटक “स्टेट च्याप्टर”हरुका गतिविधि थाहा पाउने र राम्रा कामहरुबाट अरूले सिक्ने अवसर स्टेट च्याप्टरहरुलाई उपलब्ध समय र उनीहरूको कमजोर प्रस्तुती करणले दिन सकेन। मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदु पोखरेलको सक्रियतामा स्टेट ड्राइभिंग टेष्ट नेपाली भाषामा दिन सकिने व्यव्स्था हुन सक्नु निकै सह्रानीय काम हो। तर त्यसको विशेष प्रशंसा हुन त सकेन नै, त्यसबाट धेरै नेपाली बस्ने अन्य राज्यहरूमा कसरी सोही काम गर्न सकिएला भनेर छलफल हुन समेत पाएन। उनको कामको कदर हुनुपर्ने आवाज सहभागीका तर्फबाट भने उठेको थियो। 

“आर्थिक कूटनीति” जस्तो महत्त्वपूर्ण विषयमा आयोजित प्लेनरीको संयोजन र प्रस्तुतिलाई आयोजक र सहभागी कसैले पनि त्यति ध्यान दिए जस्तो लागेन। प्लेनरीको व्यवस्थापन यति ‘कमजोर’ थियो कि सहभागीहरुलाई आफ्नो जिज्ञासा को सँग राख्ने र वक्ताहरु को-को हुन् र कता छन् भन्ने सम्म पत्ता लाउन गाह्रो भएको थियो। आर्थिक पत्रकार विजय घिमिरे, अमेरिकी मुलधारको डेमोक्रयाटिक पार्टीको राजनीतिमा निकै सक्रिय ह्यारी भण्डारी, गार्मेण्ट्स व्यवसायी एवं अवैतनिक महावाणिज्यदुत ऋषि ढकाल, गैर आवासीय नेपालीसंघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, महामहिम राजदूत डा. अर्जुन कार्की, गैर आवासीय नेपालीसंघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र माननीय परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत जस्ता महत्त्वपूर्ण व्यक्तित्वहरु प्रमुख बक्ता/प्रस्तोता रहेको प्लेनरीको फितलो व्यवस्थापनका कारण आर्थिक कूटनीतिका माध्यमले नेपालको आर्थिक उन्नति र विकासमा गैर आवासीय नेपालीहरूको भूमिका सुदृढ, थप एकताबद्द र सङ्गठित कसरी गर्न सकिन्छ भन्ने गहन विषयको छलफल ओझेलमा पय्रो। अधिकांश ‘हाईप्रोफाइल’ सहभागीहरू आगामी चुनावमा कसरी नेतृत्वमा पुग्ने र कसरी भोट बटुल्ने भन्ने भलाकुसारीमा व्यस्त भएपछि उदघाटन समारोह पछि सभाहलमा निकै कममात्र सहभागीहरू देखिन्थे ।

साँझपख संशोधित विधान मस्यौदाको छलफलका बेला बाहेक अरुबेला सभाहलका कुर्सीहरु भरिएनन्। कानुनविद एवं एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीको संयोजकत्वको विधान संशोधन समितिले धेरै सहभागीहरुको सहमति मै विधानका केही विवादित विषयहरको टुंगो लगाउने काम गरेकोछ। सदस्यताको लागि न्यूनतम योग्यता र आवश्यक प्रमाणिक कागजातका सम्बन्धमा गरिएको संशोधनलाई प्रगतिशील मान्नु पर्दछ। केही बिमतिहरुका बिच पारित नयाँ विधानले आगामी नेतृत्व चयनका बखत प्रभाव पार्ने भएर नै कतिपय सम्भावित नेतृत्वकर्ताहरु विधानलाई आफ्नो फाइदानुकुल बनाउन निकै प्रयास गरिरहेका समेत देखिन्थे। 

“बिजिनेस फोरम तथा NRNA-USA का क्रियाकलाप”अन्तर्गत समावेश महिला, युवा, मिडिया फोरम विषयको गहनता अनुरूप सञ्चालन भएनन्। सगुन र भास्तिका जस्ता नेपाली युवा व्यवसायीहरुका सफल व्यवसायका बारेमा सुन्ने मौका मिल्यो। तर समयाभावका कारण छलफल/ अन्तरक्रिया हुनै पाएन। वर्तमान कार्यसमितिको निकै प्राथमिकतामा परेको अमेरिकामा रहेका नेपालीहरूको सही तथ्याङ्क तयार पार्ने कामको राम्रो सुरुवात भएको जानकारी Census Committee का सदस्य बिजयराज भट्टराईको राम्रो प्रस्तुतिले दियो । करिब २३१,००० (+/-२०,०००) नेपालीहरू अमेरिकामा रहेको निचोड Nepalese American Population Estimation 2017 का अनुसंन्धान समितिको छ। अब अमेरिकामा नेपालीहरूको सङ्ख्या, बसोबासको क्षेत्र जस्ता प्रश्नहरूको जबाफ धेरै हदसम्म मिलेकोछ। स्टेट च्याप्टरहरुको सक्रियतामा गणना नै गर्न सकिने हो भने यकिन सङ्ख्या थाहा हुन सक्थ्यो।

NEAJA-NRNA अन्तरक्रिया
गैर आवासीय नेपाली सङ्घ अमेरिकाको आगामी नेतृत्त्वको लागि पहल गरिरहेका वर्तमान नेतृत्वमा रहेका पदाधिकारी तथा अन्य आकांक्षीहरुलाई एउटै थलोमा राखेर नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले एनआरएनएको वार्षिक सभाको भोलिपल्ट जनवरी १५ दिन एक अन्तरक्रिया कार्यक्रम आयोजना गय्रो। डालास स्थित नेपाली मन्दिरमा आयोजित उक्त कार्यक्रमले एनआरएनएको अन्तर्राष्ट्रिय नेतृत्व लिन र अमेरिका भित्रै पनि कसरी सशक्त नेतृत्व दिन सकिन्छ भन्ने विषयमा नेतृत्व दाबी गर्नेहरुको धारणा बुझ्नका लागि सहयोग पय्राएको थियो। वर्तमान कार्यसमितिको निर्वाचनको लगत्तै सदस्यता वितरण र निर्वाचन प्रकृयाका विषयमा अमेरिकी अदालत सम्म पुगेको विवादले एनआरएनए अमेरिकाले अपेक्षा गरे अनुरूप काम गर्न नसकेकोले आगामी दिन सशक्त र सबल नेतृत्वका लागि वैचारिक र भावनात्मक एकताले मात्र एनआरएनएलाई सुदृढ़ र एकताबद्द बनाउन सकिन्छ भन्ने सबैको बिचार रहेको देखियो। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएका वर्तमान उपाध्यक्ष द्वय रबीना थापा र राम सी पोखरेल अनि वर्तमान सल्लाहकार गौरी जोशी लगायत सबैको उद्देश्य पनि सशक्त नेतृत्व दिएर बहुसङ्ख्यक सदस्यहरूको हितमा काम गर्ने रहेको पाइयो। आपसमा मिलेको बलियो र एकताबद्द एनआरएनए नेतृत्वले मात्र एनआरएनएको उद्देश्य पुरा गर्न सक्छ भन्ने विश्वास सबै नेतृत्वका दाबेदारहरुलाई लागेकोछ। निजी तबर मै भए पनि कम्तीमा पाँचसय नेपालीहरूलाई राम्रो रोजगारीमा आबद्द गराउने घोषणा सहित चुनावी माहोल सुरुवात गरेका डालासका स्थानीय युवा उद्यमी गौरी जोशी नयाँ नेतृत्वका लागि निकै उत्साहित देखिंदै थिए। नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षता, एनआरएनए- अमेरिकाका अध्यक्ष केशव पौडेलको प्रमुख आतिथ्यता र महासचिव तोया दाहालले सञ्चालन गरेको अन्तरक्रियामा उम्मेदवारहरुको स्पष्ट एजेण्डाहरु सुन्न नपाइएता पनि एनआरएनए अमेरिकाको नयाँ नेतृत्वका लागि चुनावी प्रतिस्पर्दाको घोषणा भने सुन्न पाइयो । 

उम्मेदवारहरुका योजना सुन्न र सहभागी पत्रकारहरुलाई समेत प्रश्न सोध्न सक्ने व्यवस्था नभएकोले अन्तरक्रिया भाषण सुन्ने-सुनाउने खालको लाग्दै थियो। सम्भावित उम्मेदवार बाहेकका वक्ताहरुको संलग्नताले अन्तरक्रियाको मुख्य उद्देश्य अनुरूप नेतृत्वका दाबेदारहरु र पत्रकारहरुबीच छलफल/अन्तरक्रिया हुनै पाएन। 

समग्रमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ वार्षिक सभा निकै विवादित र सबैको चासो रहेको विधान संशोधन सहित पारित गर्ने र नेतृत्वका आकांक्षीहरुलाई सहभागी सदस्यहरुसंग प्रत्यक्ष भेटघाट गर्ने अवसरका साथ सौहाद्रपूर्णढंगबाट समापन भयो। र यो पटक पत्रकार र आयोजकका बिच कुनै विवाद देखिएन। पछिल्लो न्यूजर्सी सम्मेलनमा जस्तो तिक्ततापूर्ण बक्तब्य, प्रतिक्रिया केही सुन्न र देख्न परेन। 

प्रतिक्रिया