अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

प्रमुख अतिथी नआएपछि राजेश हमालले गरे ‘इन्टरनेशलन फिल्म फेस्टिवल’को उद्घाटन

बिआरटीनेपाल २०७३ पुष २७ गते ९:२३ मा प्रकाशित

धरानमा ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) सुरु भएको छ । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आज बुधबार देखी धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) सुरु भएको हो ।

माघ २ गतेसम्म चल्ने फेस्टिबलको जुरी समूहका अभिनेता राजेश हमालले क्ल्याप हानेर उद्घाटन गरे । फेस्टिबल उद्घाटनका लागि निम्त्याईएका प्रमुख अतिथी शिक्षामन्त्री धनीराम पौडेल मौसमका कारण काठमाडौंबाट नआएपछि जुरी समूहले निर्धारित समय भन्दा ४ घण्टा ढिलो गरी उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अभिनेता हमालले पहिलो पटक भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलले नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउने बताए ।

फेस्टिबल संयोजक केपी पाठकले पहिलो पटक एक नम्बर प्रदेशको धरानमा आयोजना गरिएको फेस्टिबल हरेक वर्ष विभिन्न प्रदेशमा हुने बताए । उनले पहिलो फेस्टिबलमा भएका गल्ति सच्याउदै अघि बढ्ने बताए ।

फेस्टिबलको पहिलो शो का रुपमा नेपालका पहिलो मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित डकुमेन्ट्री ‘म अलप हुन चाहान्छु’ प्रदर्शन भयो । सचिन घिमिरे र गौरव केसीले निर्देशन गरेको डकुमेन्ट्रीले दर्शकहरुमको मन छोयो ।

उद्घाटन कार्यक्रम ढिलो हुने भएपछि डोम जातीको सामाजिक संघर्षको बारेमा प्रेम राउत र सागरवीर कडरीले निर्देशन गरेको डोम समाज, अईना मेरेडोभा निर्देशित रसियन डकुड्रामा ब्ल्याङ्क पेज, सेनाद सामनोभिक निर्देशित मोन्टेनेग्रोका सर्ट फिक्सन फिल्म ट्याक्कुलिटी अफ ब्लड र अमित नर्वदे निर्देशित सर्ट फिक्सन कलंक प्रदर्शन गरिएको थियो ।

उद्घाटन समारोहपछि यौनकर्मी महिलाको सरकारी जागिरमा सफलताको कथा समेटिएको रामकृष्णन् र तुल्सीराम अरन्दे निर्देशित सर्ट फिक्सन एक्ट्रा टाईम, सुभाष गजुरेल निर्देशित नेपालको माओवादी सशस्त्र क्रान्तिले निम्त्याएको दुखद् कथा बारे सर्ट फिल्म हरेरामकी आमा र हेन्रिक पेस्कल निर्देशित जर्मन फिचर फिल्म सि ओ से पल प्रदर्शन भए ।

फेस्टिबलमा विभिन्न देशका चलचित्रकर्मी, स्थानीय, सञ्चारकर्मीहरुको उपस्थिति छ । यो फेस्टिबलमा १६ देशका ४७ फिल्महरु प्रदर्शन हुने स्थानीय संयोजक दिपक श्रेष्ठले बताए ।

प्रतिक्रिया