अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

अनेक भेटका भुपी

युवराज नयाँघरे २०७३ पुष २२ गते ७:५५ मा प्रकाशित

‘थोरैमा धेरै !

दुर्गा गुरुले पढाउँदा भुपीलाई यसरी चिनाए ।

शास्त्री सर भनेर चिनिने दुर्गा गुरुले हामीलाई नेपाली पढाउँदा भुपी शेरचनको कविता ‘शहीदहरुको सम्झनामा’ को व्याख्यानमा भनेका थिए— ‘थोरैमा धेरै भन्ने तागत भुपीमा अधिक छ !’

वनारसका शिष्य थिए शास्त्री । उनले पढाएको ज्ञानमा आधुनिकताभन्दा परम्पराको रन्को बढ्ता छ भन्थे साथीहरु ।

अर्को सेक्सनका ऊर्जा नेपाली शिक्षक थिए— दुर्गाप्रसाद खतिवडा । उनी पनि स्वादिलो, ऊर्जापूर्ण र रसिलो शैलीमा नेपाली पढाउँथे ।
एक दिन हाम्रो सेक्सनका सबैले गएर खतिवडा सरलाई हात जोरे— ‘शहीदहरुको सम्झनामा सरबाट पढाइए जाती हुन्थ्यो !’

कुरो मिल्यो । खतिवडा सरले औधी मीठो र फुलेल भएर त्यो गीति पाराको कविताको गायन, व्याख्यान गरिदिए । मैले त्यही दिन थाहा पाएँ— ‘कवितालाई पनि गीति शैलीमा गाउन सकिन्छ !’

खतिवडा सरले अरु थपेर बुझाएका थिए— ‘बिम्व, प्रतीक र शिल्प कलाका लागि भुपी बेजोड हुन् !’

यो ठूलो घटना भएको थियो मेरा लागि— राधिका माध्यमिक विद्यालय उर्लाबारी, मोरङमा । समय साल— दुई हजार चालीसको आसपासतिर ।

भुपीसँग पहिलो विषय वार्ता त्यही भएको रहेछ ।

त्यसो त भुपीको एउटा गीत मैले धेरै अघि सुनेको थिएँ—

‘‘यो नेपाली शिर उचाली
संसारमा लम्कन्छ
जूनकीरी झैं ज्योति बाली
अन्धकारमा चम्कन्छ !’!’ 

यो गीत गाउँमा धेरै वर्षदेखि बजिरहेका थियो । रेडियो एउटा मात्र थियो— सञ्चारको हर्ताकर्ता रेडियो नेपाल । त्यसैले यो गीत हार्दिक रुपमा बजाएको थियो ।

‘राम्रा गीत कविले लेख्छन् । अरुका त तुकबन्दी मात्र हुन् !’ गीतका गेडा बुझ्न थालेपछि मलाई कसैले भनेको कुरा सम्झिरहन्थेँ । भुपी यहाँ पनि जोडिए ।

अझ स्कुलतिर वा कलेजतिरका कार्यक्रममा यही गीतले मुख्य ठाउँ पाई नै हाल्थ्यो ।

कानले खोजिहाल्थे— ‘चाहे झुकोस् नीलो आकाश
चाहे रुकोस् चीसो बतास
जूनकीरी झैं ज्योति बाली
अन्धकारमा लम्कन्छ !’

मेरा घर छेउमा एक गायक थिए— भूमिराज धिमाल । ती थिए मेरा सहपाठी पनि । म तिनलाई यो गीत गाउन लगाएको लगाएकै गर्दथें । ती पनि बडो सुललित तालमा भुपीका शब्दमा डुबेर गाउँथे— ‘यो नेपाली शिर उचाली… !’

भुपीलाई नदेखे पनि भेटिरहेकै थिएँ ।

०००

अनारमनिको महेन्द्ररत्न माध्यमिक विद्यालय । छत्तीस साल लगत्तैको तरल समय । म कविता, गीत र रचनाको तरङ्गले छोइनँ–छोइनँ लागेको रहेछ कालबेला । मेरो अन्तर्तहमा थपक्क बसेको सिर्जनाले भुइँ कुइरो भएर मास्तिर भुलभुलाउन खोजेको समय रहेछ ।

त्यहाँ हरेक शुक्रबार गरिने साहित्यिक कार्यक्रममा भुपीका कविताका अंश बीच–बीचमा सुन्थेँ म । उद्घोषकले हरेक कविलाई डाकेपिच्छे भुपीका कविताहरु सुनाएर माहोल तताउँथे । मैले त्यहीँ सुनेको थिएँ— ‘हामी फगत काठका खुट्टा हौ

रेस गर्ने
तक्मा छातीले थाप्छन् !’

कविताले यस्तै भाव बोकेको छ । कण्ठस्थ नभए पनि कविताको आत्मा यस्तै भएकाले भुपीलाई प्रायः आदर गरिरहेँ मैले ।

एक पटक म राजविराजबाट फर्किरहेको थिएँ । गाडी कोशी तीरमा पुगेपछि बिग्रियो । भित्र रहेका सबै यात्रु सडकमा ओर्लिएर टहलिन थाले ।
मै नि लागेँ बरालिँदै पश्चिमतिर ।

‘विराटनगरबाट मेकानिक्स आएपछि मात्र गाडी बन्छ । तीन घन्टालाई छुट्टी !’

यस्तै सुनिएको थियो ।

अनि पो लागेथेँ म नदी किनारतर्फ ।

अलिक उत्तरतिर कोशीको भुँवरी बडो विचित्रसँग छालमा बोकेर हेलिइरहेको छ । अथाह जल संसारको धीर बगाइ छ । आँखाले नभ्याउने पानीको वेग बगिरहेको छ हलचलविनै ।

अलिक लामा कपाल पालेका दुई जना केटाहरुले हातमा गितार लिएर सुर छोडिरहेका छन् गीतमा ।

ती डुबेका छन् गीतमा । ती गीतका रागमा पौडेका छन् । ती गीतका तालमा नुहाइरहेका छन् । तिनको डुबाइ, पौडाइ र नुहाइलाई अलिक पर बसेर हेरिरहेको छु म

‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो
चियाको बुट्टामा
बल्झेछ क्यारे सुनको काँडा
कलिलो खुट्टामा !’

नारायण गोपालको यो गीतमा तिनको लगाव छ

गीत माथि ती बहस गर्छन् । भुपीले त्यत्तिकै लेखेका होइनन् यो गीत । यो गीतमा प्रेमको पहिलो अंकुरण छ, प्रथम समर्पण भाव छ । शब्दमा प्रेम होइन— भावनाको सबभन्दा अग्लो उचाइ छ ।

गितार बजाउनेहरु तर्क गरिरहेका छन् त्यही गीतमाथि ।

कोशीको जल तरङ्गमा गीतको अतल अर्थसँग तर्क वितर्क गरिरहेका छन् । म सुनिरहन्छु…सुनिरहन्छु… ।

सुरु–सुरुमा त अनौठो लागेको थियो— यो मैथिली इलाकामा कहाँको पहाडे खलबल ! बिस्तारै प्रष्ट भयो ।

गीतले मानिसलाई कुनै साँध, सिमाना र छेकाबाँध गर्दो रहेनछ ।

एक घन्टा बढी समय तन्नेरीले भुपीको त्यही गीतलाई गाए । अनि गाइरहे । तिनले गीतको अभ्यासमा निकै समय अर्पे ।

एक घन्टापछि मैले भुपीको रेखाचित्रमा देखेको अनुहारलाई अरु रगत–मासु भरेर गाडी चढेँ । बिग्रिएको गाडी त्यतिन्जेलमा हुइँकिएको थियो ।

०००

कलेज पढ्न थाल्दा ऐच्छिक नेपालीमा भुपीका कविता मैले हात परेकै रात पढिसकेँ । एकसरो मात्र होइन, दोहो¥याई–तेहे¥याई पढेँ । उनका घन्टाघर र मैन बत्तीको शिखा कविता पढ्नु पथ्र्यो ।

प्रयागराज वाशिष्ठ गुरुले मनै कम्पित हुने गरी मैनबत्तीको शिखा कविता पढ्नु भएको थियो कक्षामा । उहाँको कण्ठस्थ, आरोहअवरोह, लय र कवितामा मुखाकृतिको अद्भूत कला त्यस बेला देखेको थिएँ ।

काठमाडौँका केही गोष्ठीमा जाँदा मानिसहरु कविता पढ्नका लागि दुई कविहरुको बढी चर्चा गर्दथे— भुपी शेरचन र हरिभक्त कटुवाल ।

भुपी शेरचन मैले नभेट्दै पनि अति प्रसिद्धिमा पुगेका थिए । क्याम्पसमा हुने कविता प्रतियोगितामा मैले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ प्राप्त गरेँ । यसपछि त त्यही कृतिको मियोमा बाँधिएर मैले नेपाली कवितालाई चाल्नोमा चाल्न थालेँ ।

उनको होचो कद तर अग्लो उचाइमा लाग्थ्यो— नेपाली कविता । उनी औधी चुलीमा पुगेका कवि हुन्— नेपाली कविता संसारका ।

०००

विश्वविद्यालयमा भुपीले कविता सुनाएर सबैलाई लट्ठ पारेको धेरै पटक सुनेको थिएँ । खासगरी कीर्तिपुरमा हुने बौद्धिक प्राभ्यासमा उनका व्यङ्ग्य चेत र प्रहारयुक्त कविताले राजनैतिक विचारलाई सघाएको लाग्थ्यो । पञ्चायती राजनीतिको हुँकार फुँकारमा उनले अत्यन्तै प्रहार गरी तिरिमिरी देखाउनमा अहम् भूमिका खेलिरहेकै थिए ।

भुपीलाई नजिकबाट हेर्ने चाहनाले मलाई थिचथाच पारिरहेकै थियो । म भुपीलाई भेट्ने उत्कट रहरले उखर्माउलिएको थिएँ । एक पटक स्वामी प्रपन्नाचार्यको प्रमुख आतिथ्यमा पशुपति वनकालीमा एक भव्य साहित्यिक कार्यक्रम भयो । त्यहाँ पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द लगायतले कविता सुनाए । तर बिहानैदेखि भुपी आउँदै छन् भनेर प्रचार गरिएकाले हामी त्यहाँ दिनभरि जसो बसेका थियौँ ।

मलाई धेरैले जाउँ–जाउँ भनी कर गरे पनि भुपी–दर्शनको लोभले दिनभरि नै बसेँ म । जरोले थला परेको थिएँ । आफ्नो कविता वाचनपछि पनि म रहिरहेँ । त्यो दिन उनलाई ‘हामी’ कविता सुनाउन अनुरोध गर्ने योजना बुनेथ्यौँ ।

०००

गाउँमा तिहारताका विद्यार्थी नचाएर विद्यालय भवन बनाउने निर्णय गुरुहरुले गर्नुभयो । त्यसका लागि धेरै खालका नाच तयार पारियो ।

छत्तीस सालको जनमत सङ्ग्रहपछि प्रहरी, प्रशासन र पञ्चायती राजनीतिमा ठाउँ अनुसारको नरम–करमको स्थिति थियो । त्यो बेला गीत खुब छान्नु प¥यो । नाचमा पनि पञ्चायतलाई घोचपेच गर्ने गीत बजाउन नहुने तर्क थिए ।

करीब पच्चीस–तीस गीत लिएर बुबा र अरु सामाजिक कार्यकर्ताहरु दमक नगरपालिका पुग्नु भयो । नगरपालिकाले प्रहरीको कार्यालयमा फाइल पठायो । बुबाहरुले तिहारका लागि तयार पारिएका गीतलाई त्यहाँ प्रस्तुत गर्नु भयो ।

गीत सुनेपछि पुलिसका एक माथिल्ला कर्मचारीसँग नृत्य र साँस्कृतिक टोलीको निकै भनाबैरी परेछ । ती प्रहरी अधिकृतको तर्क थियो— ‘भुपी शेरचन भनेका कम्युनिष्ट हुन् । उनले लेखेका सबै गीतमा तात्कालिक व्यवस्थालाई ठोकिएको हुन्छ । म यस्ता गीतलाई बजाउने अनुमति दिन्न ।’

उनलाई धेरैले ‘पास’ गरिदिन भने । तर उनी टसको मस भएनछन् । भद्रपुरतिरका एक जना ठूला राजनैतिक नेताको हारगुहार पनि आएछ— ‘रेडियो नेपालले उनका गीत प्रतिबन्ध छैन । तपाईं किन रोक्नु हुन्छ उनका गीतलाई ?

‘म मेरो वरपर आफ्नो कानुनको सम्मानसाथ पालना गर्छु । अरु को, के, कहाँ गर्छन् । मलाई थाहा छैन । म दिन्न भनेपछि दिन्न । यदि तपाईंहरु नबजाई नछोड्ने हो भने मेरो सरुवा गराउनुस् ।’

उनले नि कड्केर बोलेछन् ।

सबैजना फर्के अमिलो मन पारी । तिहारमा पनि ती गीत बजाउने–नबजाउने दोमन हुँदाहुँदै पनि गाउँमा छात्रछात्रा नाचे । तर दमक शहरमा भने कसैले नि ‘यो नेपाली शिर उचाली… !’ गीत बजाउने आँट गरेनन् ।

कतै पोलमा परिएला भन्ने सबैलाई डर हुँदो हो !

०००

मलाई कसैले सुनाएको थियो— ‘भुपी पोखरा, भैरहवा र काठमाडौँमा आलोपालो गरी बस्छन् । मुस्ताङको थाक टुकचेबाट उनी बसाइँ सरिसकेका छन् ।’

भुपेन्द्रमान शेरचन । भुपेन्द्रमान सर्वहारा । अन्त्यमा— भुपी शेरचन । उनले आपूmले पाएको नामलाई जोड्दै, थप्दै, गाँस्दै र अनेकौँ खेप थपघट गरिरहेको चर्चा सुनिरहेकै थिएँ ।

हो, उनलाई भेट्न भने पाएको थिइनँ ।

कसैले क्याम्पसमा सुनाएको थियो— ‘भुपी काठमाडौँमा आउँदा नक्साल चौर नजिकै बस्छन् । त्यहाँ उनको घर छ । उनकी पत्नी र एउटी छोरी पनि छन् !’

मेरो बसाइ चावहिलको सेरोफेरोमा भएकाले नक्साल मलाई टाढा थिएन । म फुर्सद मिल्दा मेरा प्रिय कवि खोज्न नक्साल चौर वरपर जान्थेँ । तर सशरीर देख्न भने पाएको थिइनँ कवि भुपीलाई ।

एउटा रहर र प्रतिबद्धता चैँ थियो— ‘कविलाई म भेटिछाड्छु, कुनै न कुनै दिन !’

प्रहरी प्रधान कार्यालयमा एक जना आफ्नैतिरका दाइ हुनुहुन्थ्यो— इन्स्पेक्टर । उहाँलाई नि भनेँ— ‘तपाईंको अफिस छेउमा देशकै ठूला कविको घर छ रे । मलाई घर पत्तो लाइदिनु प¥यो !’

कवितामा कत्ति नि अभिरुचि नभएका ती भुपी शेरचनको घरै त झन् केको निशानीमा पथ्र्यो र ! उनले मेरा कुरा त्यत्तिकै उडाए हावामै ।
एक पटक त उनले खाना खान डाकेथे— चैते दशैँमा । भेट्नै बित्तिक्कै भनेका थिए— ‘केटालाई भुपीको भुत चढेछ । सके मान्छे, नभए घर भए पनि पत्ता लगा पो रे मलाई त !’

‘कविहरुले चोर्न, डाका डाल्न थाले कि !’

दाइले त्यसो भन्दा गर्भिणी भाउजू पनि खित्का छोडेर हाँसेकी थिइन् ।

तर उनीहरु दुबै मिलेर देशको एउटा महान् कविको उपहास गरेको लाग्यो मलाई । भित्रैदेखि गिल्ला गरेको मलाई लाग्यो । मेरा मान्यवर कविको हाँसो गरेको ठानेँ मैले मनैदेखि त्यो क्षण ।

मैले खाना खाएँ । दाइको खिसिट्युरीले मलाई निक्कै खिन्न पारेको थियो । खानामा कत्ति नि स्वाद भएन । बेलुकीसम्म रमाइलोको निम्तो भए नि दिउँसोतिर म उम्किएँ त्यहाँबाट ।

बल्ल सन्चो भयो मनलाई !

०००

जय वागेश्वरीमा म बस्न थालेको थिएँ । घरपति थिए— कवि तथा नाटककार वासु शशी । उनका घरमा सिद्धिचरण श्रेष्ठ, नारायण गोपाल, कृष्णचन्द्रसिंह प्रधानहरु आइरहन्थे ।

नयाँ पुस्ताका सबै खाले कवि, पत्रकार, राजनीतिज्ञहरुको आइजाइ बाक्लो हुन्थ्यो । अनेक विचारका चिन्तकहरुको शशी–निवासमा निर्बाध आउजाउ थियो ।

मलाई मनमनै लागिरहन्थ्यो— भुपी शेरचन चैँ किन आउँदैनन् ? यो घरमा संसार त आइसके— भुपी किन नआएका होलान् ?

देशकै ठूला कवि–लेखकले यो घर नटेकेका छैनन् ! कि दुश्मनी छ यी कविको— यो घरसँग ? के साँच्चै कलह पो छ कि यी कविको— शशीसँग !

मनमा यस्ता छटपटीका कुरा निकै खेले ।

तर बोलिहाल्न मनले मानेन । निकै पटक मैले मनमा पाकेको यो कल्याङमल्याङलाई ओठसम्म ल्याएर नि फेरि किलकिलेमुनितिरै धकेलेँ ।
भुपीलाई बर्जित गरेकै हुन् त वासु शशीले ?

जुलुम भाउजूसँग मैले नपत्याउँदो गरी सोधेको थिएँ— ‘वासु दाइको बोलचाल नभएका कविलेखक को–को होलान् ?’

मेरो कुरा सुनेर भाउजू त हाँस्नु भो मज्जाले ।

अनि भन्नुभो— ‘ढकिचाको पसलमा साँझपख जानु । तिम्ले थाहा पाउँछौँ, को–कोसँग उहाँको दुश्मनी छ !’

मैले चाहेको थिएँ— भुपीसँग उहाँको व्यवहार कस्तो छ ? कत्ति गरे पनि पत्तो लागेन । शशी आफैंले पनि कहिल्यै भुपीबारे किञ्चित् एक शब्द बोलेका थिएनन् ।

०००

एक साँझ म निकै अबेर कोठा पुगेँ । हो, निकै ढिलो भएको थियो । यस्तै आठ बजेको थियो रातिको ।

म आएर कोठामा बत्ती बालेको शशीले थाहा पाएर बोलाए— ‘तिमी एक पटक महफिलमा आऊ !

म पुग्दा वासु शशीको कोठामा चारपाँच अनुहार खानपिनमा जुटेका थिए । एउटी पातली, सुन्दरी पनि थिइन् । अरु थिए पुरुष अनुहार ।
‘ओहो ! यो के हो ?’

मैले तस्वीरमा देखेका कवि भुपी शेरचन छन् मेरै सामुन्ने !

मैले नजिकै गएर हात जोडेँ । उनलाई चिन्न कत्ति पनि बेर लागेन मलाई । मैले सजिलै चिनेँ ।

‘भुपी, यी पनि कविता लेख्छन् !’

शशीले मलाई चिनाइदिए ।

त्यतिखेर खाने–पिउने क्रम खुबै हुँदै थियो ।

धेरै अघिदेखि भेट्न चाहेको— मेरो मान्यवर कवि यतिखेर मेरैसामु छन् । मोटो चस्मा लगाएका उनी चकटीमा बसेका छन् । पातला, दुब्ला र सुइरा छन् । तर चस्माभित्र छन् तिखा र चनाखा आँखा ।

खल्ती छेउमा झोला छ— त्यहीँबाट खानेकुरा झिक्तै उनी खाइरहेका छन् । म ढोकाको छेउमा बसेर उनलाई निहालिरहेको छु । भुपीलाई बेला–बेला खान, गिलास तान्न र मुख पुछ्ने कागज दिनमा सघाइरहेकी छिन्— ती रुपवती सुन्दरीले

त्यतिखेर कविता, समाज, सङ्गीतबारे निकै छलफल भयो । राजनीति पनि बेला–बेला कुराका केन्द्रबिन्दुमा जोडिन पुग्थ्यो । शशीले प्रज्ञा प्रतिष्ठानबारे जिज्ञासा राखे— भुपी फिस्स–फिस्स हाँसेर बोल्न अनिच्छुक रहेको देखाइरहन्थे

‘ए, कविता लेखिन्छ ?’

म ढोकामा उभिइरहेकै थिएँ । भुपीले मेरो अनुहार हेर्दै सोधे ।

‘हजुर !’

मेरो छोटो उत्तर ।

‘कविता लेखेर कस्ले जित्यो ? हैन शशी ?’

भुपी बोलिरहेका थिए ।

उनको हातको गिलास ओठ र टेबलमा बस्ने–उठ्ने गरिरहेको थियो । म उनीबाट  अझै गम्भीर कुरा आऊलान् भन्ने सोचिरहेको थिइन— उनको मधुमेहले सुकिसकेको अनुहारभित्र लुकेको कविताको शक्ति हेरिरहेको थिएँ ।

एउटा पातलो शरीर । अनुहारबाट सबै कान्ति भागेर पोतिएको छ शान्ति । उद्दण्डता छैन । कवितामा रहने आक्रोस वा क्रोध छैन । गीतमा भरिएको जोस, उत्फुल्लता वा जाँगरको एक थोपो छैन ।

एउटा सरल र रुग्ण अनुहार पिइरहेको छ गिलासको टर्रो पानी— चिरिप्… चिरिप्… चिरिप्… । म ढोका छेउमा उभिएर त्यही आवाज सुनिरहेको छु निरन्तर… ।

भुपीले निकै बेर स्वास्थ्यबारे नि बोले । उनले भनेको एउटा कुरो अहिलेसम्म टड्कारै छ— ‘धेरैले मलाई समर्थन गरेनन् । वास्तबमै मेरो जीवन दुई ‘क’ ले बिग्रियो । कविता र कम्युनिष्ट । यिनले मलाई कहिल्यै सपारेनन् !’

उनी यत्ति भनेर भावुक भए । उनको भावुकतालाई शशीको टाउको हल्लाइले थपथाप पारिदियो अरु ।

सबै चुप भयौँ ।

अघिदेखि सुनिएको जगजीत सिंह र चित्रा सिंहको गजल यतिखेर एकदमै प्रष्ट सुनियो— ‘ये कागजकी कस्ती… वारिसकी पानी… !’
कस्तो शान्त । एकदमै मौन । एकदमै चकमन्न ।

कम पिए पनि भुपीले निकै गहिरा कुरा बोल्नमा कमी गरेका थिएनन् । उनले खानेकुरा आफैंले ल्याएका थिए क्यारे— झोलाबाट झिकी खाइरहेका थिए ।

उनको छड्के बसाइ हेर्दा— उनी खल्तीबाट झिकी केको डल्ला खाइरहेका छन् जस्तो लाग्थ्यो । उनी हातमा गिलास लिएर राजनीतिका केही कठोर दृश्यका बारेमा बोल्थे । त्यो बेला अरुका आँखा भुपीका अनुहारमा टाँस्सिन पुग्थे ।

अरुको तुलनामा भुपीले त्यस रात कम खाए । भुपीले खाएपिएको कुरामा मेरो मनले कुनै टिप्पणी गरेन । कुनै गुनासो वा आग्रह पोखेन । कुनै जिज्ञासा वा खिन्नता राखेन ।

म भित्रैदेखि खुशी थिएँ— मेरा मान्य र ठूला कवि देखिएका थिए । मैले भेट्ने उत्कट रहर पालेका कवि टुप्लुकिएका थिए । मैले औधी देख्ने चाहना गरेका कवि मेरा सामु सशरीर थिए । अझ केही शब्द नि बोल्न पाएको थिएँ ।

नजानिँदो खुशीले अनुहारमा आउने–जाने गरिरहेको हुँदो हो ।

त्यस क्षण धेरैले ‘कान्ति भाउजू, कान्ति भाउजू’ भनिरहेका थिए । तर भुपीलाई एक सुशील कन्याले स्याहार र सेवा गरिरहेकी थिइन् । वातावरण एकदमै आत्मिक थियो, हार्दिक थियो, स्नेही थियो ।

मिलन चख्खूको कोकिल स्वरले एक पटक रात रनक्क रन्केको थियो । मध्य रातमा विसर्जन भयो महफिल ।

भोलिपल्ट अघिल्लो दिनको त्यत्रो उपस्थितिबारे कसैले केही चर्चा गरेनन् । वासु दाइ आफ्नै तालमा कहाँ पुग्नु भो कहाँ । जुलुम भाउजू अफिस । शशीका सन्तान सबै स्कुलतिरै हुन्थे । म प्रायः दिउँसो एक्लै हुन्थेँ । को आयो, को गयो, को कम बोल्छ, को हल्ला गर्छ— कोठाबाटै थाहा पाइरहैकै हुन्थेँ ।

‘अब भुपी गलेछ !’

शशीले बोलेको सुनेँ ।

‘ऊ कम खान थालेछ !’

शशीकै स्वर थियो ।

उनलाई भेट्न मधुपर्कका सम्पादक आएका थिए— नारायण बहादुर सिंह । सिंह र शशी घन्टौँ कुरा गरी बस्थे ।

‘मैले यसको छनक केही महिना अघिदेखि नै पाइरहेको छु !’

सिंहले थपे

मेरा मनमा भुपीप्रति एउटा बेग्लै खालको श्रद्धा झ्याङ्गियो— कुराकानी सुनेर । के भुपी गम्भीर रोगले थल्लिएका त छैनन् ?

साँझपख हामी भण्डारखालतिर घुम्न निस्क्यौँ ।

०००

महफिलमा आएको पाँचौँ दिनतिर एक्कासि टुप्लकिए शशीकै आँगनमा भुपी ।

म त्यो दिन बाहिर बसेर पुराना सञ्चय पत्रिका पढिरहेको थिएँ । त्यो पत्रिका वासु दाइ आपैmँले सम्पादन गर्नुभएको थियो ।

‘खोई शशी ?’

भुपीले सोधिहाले ।

‘दाइ रेडियो जानु भा’ छ !’

‘ठीक छ !’

मेरो उत्तरसँगै उनी बोले ।

उनले घरको बरन्डामै बस्ने मन गरे । घरमा कोही थिएनन् । मात्र म ।

‘आज भेट्नैपर्ने छ शशीलाई !’

भुपीले चकटीमा आफ्नो लिखुरे ज्यान थमाए ।

मैले कोठाबाट कालो चिया पकाएर खुवाएँ । उनी पटक–पटक खोकिरहेका थिए । चस्मा मोटो थियो । त्यसलाई पुछन् पनि खोजिरहेका हुन्थे बेला–बखत ।

उनले एउटा सेतो कागज झिकी आफैंले पढे— ‘पर्खालका चेपमा पसिरहेका काला सर्पहरु… !’

धेरै बुझिनँ, थोरै बुभेझैं ।

म हाँसेँ ।

‘कविताले धेरै बुझाउँदैन— उत्ति राम्रो । जत्ति धेरै बुझाउँछ— त्यो त्यत्ति नै नराम्रो । सुवासलाई व्याख्या नगर्नुस् । सङ्गीतलाई अर्थ नलाउनुस् । कविता त्यस्तै हो !’

‘नबुझेर जब हाँस्छ नि मन । उत्तम कविता त्यै हो !’

भुपीले सजिलैसँग मेरो मनमा कविताको महत्व रोपिदिए ।

म उनलाई एक टकले हेरिरहेको थिएँ

यी तिनै महान् कवि थिए— जसका बारेमा धेरैभन्दा धेरै शब्दले मनका कुरा गरेका थिए । यी तिनै अमर कवि थिए— जसका बारेमा धेरैभन्दा धेरै चित्र मेरा मनमा कोरिएका थिए । यी तिनै बलिया कवि थिए— जसका बारेमा मेरा कानमा मनग्गे प्रशंसा आएका थिए ।

उनी आफ्नो कविता मिलाइरहेका थिए ।

यस बीचमा मैले अर्को पनि एक कप कालो चिया पकाएर खुवाए । उनी चिनी खाँदैनथे । ओठ पोल्छ कि जस्तो गरी सुर्काए चिया ।

मैले यसो भनेँ— ‘तपाईंको सिको गरी तुकबन्दी मिलाएर मैले नि स्कुले बेलामा कविता कोरेथेँ !’

‘ए !’

भुपी फिस्स हाँसे । उनको हँसाइले इशारा ग¥यो— ‘अक्कल बिनाको नक्कल काँ टिक्छ र बाबु !’

साँझ परेपछि उनी सिफलतिर गए । त्यहाँ अर्का राम्रा कवि थिए— ओकिमा ग्वाइन ।

उनीसँग ग्वाइनको घरसम्म पुगेँ म ।

०००

२०४६ सालको बर्खा ।

जेठ एक गतेको प्रचण्ड गर्मी ।

म दमकको बारघरेमा छु । साँझपख बुबा घुर लगाएर गाई दोइरहनु भएको छ । बहिनीहरु गट्टा खेलिरहेका छन् ।

आमा घन्टी बजाएर पूजा कोठामा आरती गर्दै हुनुहुन्छ साँझपख । दाइ पोयो चाँडचाँडै चलाएर डोरी बाटिरहनुभएको छ ।

म डढेको सगर हेर्दै पश्चिम अकासमा मन हुत्याइरहेको छु । हावा नचली गर्मी छ हप्प ।

आमाले भन्नुभयो— ‘भरे पानी पर्छ होला । दुई दिन भो पानी नपरेको । धानको बीउ सुकेर जानै आँटयो । खेतको हिलो सुकेर पटपटी भएको छ !’
‘आज दिउँसो घाम अनौठो खालको भएको थियो । अचम्मको बादलले घेरेको थियो । ठूला मान्छे मर्दा इन्द्रसभा हुन्छ रे बाबु ! आज त्यस्तै देखेँ ।’

आमाले पूजा–थाली लिएर भान्सामा पस्दा बोल्नु भयो

त्यै बेला रेडियोमा साँझ छ बजेको समाचार आयो— ‘आज नेपालका प्रसिद्ध कवि भुपी शेरचनको निधन भएको छ । उहाँका परिवारमा श्रीमती…!’

मैले अरु कुरा सुन्नै सकिनँ । मन एकदमै गरुँगो भयो ।

मेरा प्रिय, हार्दिक र मान्यवर कवि मरेको खबर म सुनिरहेको छु । उत्तरतिर बिजुली गड्याम्म चम्कियो । एकाएक पानी पर्ला जस्तो भयो ।
साँझ झन् अँध्यारो भयो । रातभरि पानी प¥यो ।

०००

२०७० सालको जेठ ४ गते थाक टुकुचे पुगेँ म ।

भुपी शेरचन जन्मेको घर हेर्ने रहर पूरा भयो । टुकुचे मुस्ताङको एउटा व्यापारिक बजार । नून ल्याएर भोट पु¥याउने मुख्य नाका । त्यसकै एउटा भव्य घरमा भुपी जन्मेका थिए ।

१९९२ को पुस १० गते— उनी धर्तीमा आएको तिथिमिति ।

भुपी जन्मेको घरका कोठा कोठा हेरेँ । मसँग मोमिला, उषा शेरचन, विवश पोखरेल, मणि लोहनी, ठाकुर बेलबासे, जयदेव भट्टराईहरु छन् । ती आफ्ना मनका तहमा भुपीको अनुहार हेरिरहेका थिए ।

भुपीसँग जोडिएका शिशु चरित्र भेट्न म एक्लै कोठा, भ¥याङ, बार्दली, भान्सा र छततिर हराइरहेको छु । उनका खिरिला पाइलाले कतै डोब छोडेका छन् कि ? उनका आवाजले धोएका यी सुख्खा डाँडा र सामुन्नेको काली गण्डकी निहाल्छु ।

त्यहाँ छ भुपीकै कविताजस्तो रसिलो, कसिलो र भरिलो संसार । हेरिरहँु लाग्ने जोमसोम मुन्तिरको झुरुप्प बस्ती । स्याउका हरिया बोटमा तिनै कवि छन् कि जस्तो–जस्तो… ।

भुपी अनन्यतम् कवि हुन् मेरा लागि ।

******

प्रतिक्रिया