अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

मन्त्रिपरिषद् बैठकमा पूर्व राजाबारे कसले के भने ?

बिआरटीनेपाल २०७३ पुष ७ गते १८:५९ मा प्रकाशित

 तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बिहीबार बसेको मन्त्रिपरिषद्ले पुरानो फाइल पल्टाउन सक्ने संकेत गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड : पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तिबारे पनि गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ । यो गणतन्त्र र संघीयताविरुद्धको षड्यन्त्रकै उपज भएकाले सबै मिलेर यस्ता षड्यन्त्र चिर्नुपर्छ ।

गृहमन्त्री विमलेन्द्र निधि : पूर्वराजाले आफ्नो सीमाभन्दा बाहिर गएर वक्तव्य जारी गरिरहेका छन् । उनी आफ्नो सीमाभित्र बस्नुपर्छ । पूर्वराजाले राजनीतिक वक्तव्य जारी गर्ने होइन । यस्तै हो भने दरबार हत्याकाण्डको फाइल खोजेर नयाँ किसिमले छानबिन अगाडि बढाउनुपर्छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशी : पूर्वराजाको विज्ञप्ति गलत मनसायले आएको छ । तर, हामी यस्ता झिना–मसिना कुरामा अल्झनुभन्दा संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर : पूर्वराजाको वक्तव्यबारेमा सबै पक्ष गम्भीर बन्नैपर्छ । मुलुकमा गणतन्त्र र संघीयतालाई असफल पार्न विभिन्न खाले षड्यन्त्र देखिएकाले त्यसको सशक्त प्रतिरोध गर्न जरुरी छ ।

जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी : पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति आउनु गलत हो, त्यसको प्रतिरोध गर्नैपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू