अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 22:06

शैक्षिक संस्थाको विकासमा गाउँलेहरु किन एकजुट भए ?

बिआरटीनेपाल २०७३ पुष ५ गते २०:५६ मा प्रकाशित

शिक्षा जीवनको ज्योती हो जसको अभावमा आँखा भएर पनि संसार अन्धकारमय हुन्छ । यसै कुरालाई आत्मसात गरेर हुनुपर्छ आजकल नेपालका ग्रामिण भेगमा पाठशाला, स्कुल स्थापना र संचालनार्थ राज्यको ध्यान नपुग्दा समेत गाउँलेहरु आफै जुटेर आवस्यक स्रोत र साधन जुटाउन विभिन्न अभियान मार्फत अगाडी बढेको देखिन्छ । यस्ता अभियान मार्फत कतिपय स्कुलमा गुणस्तरिय सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर ल्याव समेतको व्यवस्था गरि ईन्टरनेटको माध्यमबाट कम्प्युटर साईन्स कक्षाहरु समेत संचालन गरेको पाईन्छ । विश्वभूमण्डलीकरणको माग अनुरुपको वैज्ञानिक शिक्षा दिनको लागी यस्ता आधुनिक प्रविधीमा पहुँच पुग्ने गरि शैक्षिक गतिविधीलाई अगाडी बढाउन समेत थालिएको छ ।

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि आफ्ना बालबच्चाहरु तयार हुन सकुन् भन्ने हरेक आमाबाबु वा अभिभावकको चाहना र ईच्छा हुनु स्वाभाविक हो । हिजो सम्म विपन्न र न्युन आर्थिक अवस्था हुनेहरुको लागी अमेरिका लगायत सम्पन्न मुलुकमा अध्ययन र कामको लागी पाईला टेक्ने सपना देख्न समेत असम्भव थियो भने आज त्यो केही हद सम्म सम्भव भएको छ । यसको मुख्य कारण भनेको शैक्षिक चेतना र त्यस्ता विपन्न र पिछडिएका बालबच्चाहरुले पनि गाउँघरमै सर्वसुलभ रुपमा पढ्न पाउन सक्नु हो भने अर्को तर्फ सुचना एवं प्रविधीमा अधिकांशको पहुँच पुग्नु हो । हामीलाई थाहाँ छ अझै पनि सुदुर ग्रामिण वस्तीहरुमा शैक्षिक जागरण पुग्न सकेको छैन, सामाजिक विभेद छ । यद्दपी अधिकांश गाउँहरुमा अहिलेको अवस्थामा यातायात र संचारको विकास सँगै शैक्षिक चेतना र सामाजिक समानतामा टेवा पुगेको छ । यसलाई नजरअन्दाज गर्न मिल्दैन र सधै निराशको बादल मात्रै आकाशमा छाएको देख्नु पनि हुँदैन ।

यसरी गाउँ र राजधानीबाट धेरै कोश टाढाका वस्तीमा शैक्षिक जागरण हुनुमा रोजगारिका लागी विदेशिने युवाहरुले आफुले दिक्षित र शिक्षित नहुँदा भोग्नु परेको पीडा, असुविधा, कठिनाई, यातना आदीले गर्दा आफ्नो सन्ततीलाई उचित शिक्षा, सिपयुक्त ज्ञान दिनु पर्छ भन्ने भावनाको विकासले पनि महत्वपुर्ण भुमिका खेलेको छ भन्दा अतियुक्ती पक्कै नहोला । जे जसरी होस् शैक्षिक चेतनाको विकास हुनु आफैमा सकारात्मक अवस्था हो । यसै प्रसंगमा म आफ्नै गाउँको कथा र यथार्थता तिर फर्किन चाहन्छु ।

वास्तवमा हाम्रो गाउँ नारायणस्थान बाग्लुङ विकट गाउँ त हैन किनकी बाग्लुङ बजार र कुस्मा बजारबाट नजिककै गाउँ हो । अझै भन्ने हो भने वि.सं. २००९ सालमै स्वर्गिय समाजसेवी पण्डित भवानी प्रसाद पौडेलको विशेष अगुवाईमा हालको जनता धन मावि स्थापना भएको थियो भने त्यसै गरि केही बर्ष पश्चात तत्कालिन भारतिय भुपु सैनिकमा कार्यरत व्यक्तीहरुको अगुवाईमा भारतिय सोल्जर बोर्डको सहयोगमा हालको गणेश माविको स्थापना भएको थियो र जसको अगुवाई समाजसेवी स्वर्गिय सुवेदार नैनसिंह खत्रीबाट भएको थियो । विशेषत यी दुवै स्कुलको स्थापना र विकासले उक्त गाविस र छिमेकी गाविसमा समेत पठनपाठनको सुविधा मिलेको देखिन्छ ।unnamed-1

अहिले विशेष चर्चामा रहेको स्कुल गणेश मावि तत्कालिन समयमा केही समय बन्द भएर पुन २०३७ साल देखि प्रावि स्कुलको रुपमा संचालन भएर क्रमश २०५० साल पछि निमावि र २०६३/६४ तिर मावि को रुपमा विकशित हुँदै आएको पाईन्छ । खासगरि जनता धन उच्च मावि ले विद्यार्थीको चाप धान्न नसकिने अवस्था देखि सकेपछि यस स्कुलको स्तरवृद्दी मावि को रुपमा गर्नु परेको देखिन्छ । यद्दपी प्रावि कै स्थायी शिक्षक दरवन्दी मात्र सरकारले दिएपनि गाउँलेहरुको साहस र आँटले गर्दा निमावि र मावि सम्म गुणस्तरिय शिक्षा संचालन हुन सकेको थियो । यस्तो हिम्मत गर्ने गाउँलेहरु साँच्चिकै महान मान्नु पर्छ किनकी विद्यालयलाई चाहिने भौतिक पुर्वाधार र शिक्षकलाई तलवभत्ताको व्यवस्था स्थानिय स्रोत र साधन जुटाएर गर्नु त्यति सजिलो काम थिएन तर दृढ संकल्प र उत्कृष्ट व्यवस्थापनको अगाडी त्यो सबै सम्भव हुन सक्यो । खासगरि युवाहरुको नेतृत्वयुक्त स्कुल व्यवस्थापन समितीको कुशल योजना र व्यवस्थापनका कारणनै यी तमाम समस्याका विच पनि समाधानका बाटोहरु पहिल्याउन सफलता मिलेको पाईन्छ ।

समयको माग र परिवर्तित शैक्षिक अवस्थालाई मुल्यांकन गर्दै यस गणेश मावि लाई अझै उत्कृष्ट तहमा लैजान र स्थानिय स्रोतबाट संचालित शिक्षक-कर्मचारीलाई उचित सुविधा दिएर उच्च मनोबलका साथ कार्य जिम्मेवारीमा समेत लगाउनु पर्ने आवस्यकतालाई मध्यनजर राख्दै थप आर्थिक स्रोतको व्यवस्था गर्नु जरुरी देखेर हुनु पर्छ उक्त स्कुलमा यही मंसिर २८ देखि पौष ५ सम्म धनधान्याञ्चल महायज्ञ सम्पन्न भयो । जसमा हजारौ मानिसहरुको उपस्थिती दैनिक जसो रहेको थियो भने महायज्ञको समापन सम्म आईपुग्दा करिव ३ करोड ३६ लाख भन्दा बढी रकम संकलन भईसकेको छ । यसले के देखाउँछ भने गाउँलेहरु शैक्षिक क्षेत्रको विकासमा कति धेरै उत्साहित छन् र सकेर वा नसकेर पनि ठुलो मन राखेर सहयोग गर्न तत्पर छन् ।

यसो त यस्तै किसिमको महायज्ञलाई हेर्दा, नारायणस्थानवासी र छिमेकी गाउँलेहरुको उत्साहजनक सहभागितामा भएको आर्थिक सहयोग र सद्भाव २०६१ सालमा तत्कालिन जनता उच्च मावि( हाल जनता धन मावि) मा आयोजित धनधान्याञ्चल महायज्ञमा पनि भएको थियो तथापी यस पटक भने बढि नै उत्साहपूर्ण सहभागिता र सहयोग जुट्न सकेको देखिन्छ । यसको मुख्य कारण यस गणेश मावि को शैक्षिक स्तर नेपालकै सार्वजनिक स्कुलहरुको दाँजोमा उत्कृष्ट मानिन्छ( स्मरण रहोस् यस स्कुलमा निजी बोर्डिंग स्कुल सरह अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था छ) अर्थात् यस बर्ष सार्वजनिक/ सामुदायिक स्कुलहरु मध्ये नेपालमा तेस्रो र पश्चिमाञ्चलमा पहिलो उत्कृष्टमा छनौट हुन सफल भएको थियो जसले गर्दा पनि गाउँलेहरुमा यसको अझै विकास र विस्तार राम्रो गर्न सकिन्छ भन्ने विश्वास भएर हुनु पर्छ भन्ने अनुमान गर्न सकिन्छ ।

अत: यस किसिमको शैक्षिक जागरणमा जनताहरुको सहभागिता सबै तिर हुनसके सरकारकै मात्र मुख ताकेर बस्नु पर्ने अवस्था हुने थिएन । त्यस्तै अर्को महत्वपुर्ण कुरा यसरी संकलित आर्थिक पक्षको कुशल उपयोग पारदर्शि ढंगबाट हुनु भने नितान्त जरुरी देखिन्छ । अन्यथा आउँदा दिनमा थप सहयोग माग्ने मार्गहरु अवरुद्ध हुन सक्छन् यस तर्फ सम्बन्धित पक्ष चनाखो हुनै पर्छ । यो महायज्ञले एउटा अर्को महत्वपुर्ण सन्देश भनेको धार्मिक गतिविधी मार्फत समाजका महत्वपुर्ण काममा सहयोगको जुटाउन संभव छ भन्ने पनि रहेको छ ।
अन्तमा आफु सक्दो सहयोग गरेर शैक्षिक धरोहरको विकाशको लागी योगदान दिनु हुने मनका धनी सबै सबैमा हार्दिक धन्यवाद दिदै महान पुड्य कार्यमा सहभागी हुनु भएकोमा हार्दिक नमन गर्दछु ।

प्रतिक्रिया