अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

लोकमानसिंह कार्कीले फेसबुक मार्फत भने-‘संगठित भ्रष्टहरुका बिरुद्ध आज म एक्लै उभिएको छु’

बिआरटीनेपाल २०७३ मंसिर २४ गते ३:०० मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसान्धन आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफू माथि लागेको आरोपकोको बिरोध गर्दै संगठित भ्रष्टहरुका बिरुद्ध आफू एक्लै उभिएको बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवसका अवसरमा आफ्नो फेसबुक पेजमार्फत सो कुरा उल्लेख गरेका हुन् ।

कार्कीले ब्यक्त गरेको फेसबुक सन्देशमा भनेका छन् हरेक दुष्ट शक्ति विरुद्ध आवाज उठाउन र संघर्ष गर्न मानिस जन्मेको उल्लेख गर्दै दुष्टहरुको षड्यन्त्रमा भन्दा असल मानिसको आवाजमा बढि शक्ति हुन्छ भन्दै  भ्रष्टाचारीको भण्डाफोर गर्दै प्रतिरोध गर्न आग्रह गरेका छन् ।

यस्तो छ,कार्कीले फेसबुक पेजमार्फत दिएको सन्देश: 

भ्रष्टाचार सदियौंदेखि एउटा अकाट्य विश्वव्यापी सत्यको रुपमा रहेको छ । यसले कुनैपनि राष्ट्र र समाजको विकासमा प्रत्यक्ष नकारात्मक प्रभाव मात्र पारेको हुंदैन, यसबाट समाजमा अनेकौं अदृष्य प्रतिकुल प्रभावहरु समेत पुगेको हुन्छ । भ्रष्टाचारबाट हरेक समाजमा असहाय र विपन्न समुदाय अकल्पनीय भेदभाव, शोषण र अन्यायको शिकार बनेका हुन्छन् । हाम्रो देशलाई समेत भ्रष्टाचारले आक्रान्त बनाएको छ र यसबाट आम मानिस बर्षौंदेखि प्रताडित भएका छन् ।

गरिबीको दुश्चक्रबाट बाहिर आउन नसक्ने हजारौं सेवाग्राहीहरुले समेत आफुलाई कानुनतः प्राप्त हुनुपर्ने आधारभुत सेवा प्राप्तिको लागि घुस खुवाउनुपर्ने बाध्यताको अन्त्य अझैपनि हुन सकेको छैन र यो एउटा विडम्बना हो । यद्दपि भ्रष्टाचार भनेको केवल आर्थिक वा मौद्रिक अपचलन मात्र होईन, यसले त जवाफदेहितामा हुने शुन्यता वा लापरबाहीलाई समेत जनाउँदछ । कर्णाली अञ्चल लगायतका दुरदराजका विपन्न मानिसले दुई छाक टार्न समेत नसकि रित्तो पेट लिएर बाँच्नुपर्ने अवस्था आज पनि विद्यमान छ ।

यसबाट समग्र राज्य सञ्चालन र सम्बन्धित निकायको जिम्मेवारी बहनमा गम्भिर समस्या र त्रुटी भएको स्पष्ट हुन्छ । हाम्रा सन्दर्भमा नितिगत भ्रष्टाचार दिनहुँ मौलाउँदै गएको छ र अन्य प्रकारका भ्रष्टाचारबाट भन्दा पनि नितिगत भ्रष्टाचारबाट हाम्रो आर्थिक सामाजिक बिकास अत्यन्तै प्रभावित भएको छ । एकैपटक भ्रष्टाचारको समुल अन्त्य गर्न संभव हुँदैन । यद्दपि भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायहरुबाट गम्भिर ईमान्दार प्रयत्न भएमा यसलाई प्रभावकारी रुपले नियन्त्रण गर्न भने सकिन्छ ।

आज हामीले मनन गर्नैपर्छ कि भ्रष्टाचार जस्तो रोगको अन्त्यको लागि प्रत्येक जिम्मेवार संस्था र व्यक्तिको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । हरेक दुष्ट शक्ति विरुद्ध आवाज उठाउन र संघर्ष गर्न हामी जन्मेका हौं र दुष्टहरुको षड्यन्त्रमा भन्दा असल मानिसको आवाजमा बडि शक्ति हुन्छ भन्ने यथार्थ हामीले भुल्नु हुँदैन । “यदि मेरा लागि म आफैँले बोलिन भने कसले मेरा लागि बोलिदेला ? यदि मैले नै गलतलाई गलत र सहिलाई सहि भन्न सकिन भने कसबाट यो अपेक्षा गर्न सकिएला ?” हामि सबैले एक पटक यो यथार्थलाई मनन् गर्नैपर्छ ।

आजको अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको यस बिशिष्ट दिनमा भ्रष्टहरुका हरेक भ्रष्ट कार्यको भण्डाफोर गर्दै प्रतिरोध गर्न हामी सबैले साहास जुटाऔं भनी सम्पूर्ण नेपालीजनमा आव्हान गर्दछु । संगठित भ्रष्टहरुको प्रतिवादरहित भ्रष्ट महत्वाकांक्षा विरुद्द आज म एक्लै ठिङ्ग उभिएको छु किनभने मलाई थाहा छ कतिपय संघर्षहरु जतिसुकै कठोर, चुनौतिपूर्ण र पिडादायक किन नहुन् ति संघर्ष र संग्राम लड्न योग्य हुन्छन् ।
कार्कीले नेपाली तथा अंग्रेजी दुवै भाषामा सन्देश जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू